१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

मौलाकालीका मन्दिर, पुरानो ठाउँ तर नयाँ गन्तव्य

मौलाकालीका मन्दिर, पुरानो ठाउँ तर नयाँ गन्तव्य
अ अ+ अ-

मौलाकालीका मन्दिरको महिमा गाथा केही वर्षदेखि निकै उत्कर्षमा छ । देवी मन्दिर भएकाले पनि समस्त हिन्दुहरुका लागि आस्थाको केन्द्र हुने नै भयो । अझ ऋषिमुनिहरुको तपोभूमि देवघाट धामबाट नजिकै अग्लो एवं मनोरम शिखरमा रहेकाले पनि यस ठाउँको महिमा, महत्व अझ बढेको सहजै अनुमान गर्न सकिन्छ ।

पन्ध्रौ शताब्दीको अन्त्य तथा सोह्रौं शताब्दीको शुरुतिर करिब ५०० वर्ष पहिला पाल्पाका राजा मणिमुकुन्द सेनको राज्यकालमा तत्कालिन सैनिक टुकडीले आफ्नो गढी (ब्यारेक) मा मौलो गाडी, कालीका भगवतीको शिला स्थापना गरेर पुजा अर्चना गर्दै आएको भन्ने किंबदन्ती रहेको मौलाकालीका धार्मिक सेवा समितिले जनाएको छ । तर, पाल्पाली राजा र राज्य नै विलय भएपछि शिला स्थापना गरेको स्थलमा रहेको ठूलो सालको रुख, वरिपरिको ढुङ्गाको पर्खाल, धमिराले खाएको काठको मौलो, लाम्चो आकारमा कालो रङ्गका गोला शिलाहरु, करिब भष्म सरहका हतियार, ढुङ्गाको ओखल समेतका वस्तुहरु समयको अन्तरालसँगै माटोमा विलिन भएको इतिहासमा छ । अझ १९९० सालको भुईचालोले ऐतिहासिक वस्तु एवं संरचनामा झन बढी क्षति गरेको थियो । डाडाँको टुप्पामा रहेको मन्दिर जाने, पूजापाठ गर्ने चलन विस्तारै लोप हुँदै गयो । तर यसको उत्खनन् र महत्व २०३२ सालदेखि फेरि हुन थाल्यो । यहाँ खनी खोस्री गर्दा काठको मौलो, घण्टी र शिलाहरु फेला परेको समितिको भनाई छ ।

२०३२ सालमा निर्माण भएको सानो कच्ची मन्दिर २०४१ सालमा वर्षाको कारणले भत्केपछि २०४२ सालमा जनसहभागिता जुटाएर अर्को सानो मन्दिर निर्माण भयो । भक्तजनहरुको अत्यधिक भिड भएपछि उक्त मन्दिरको पूजाकोठा पनि साँघुरो भयो । २०५१ सालको बडादशैंमा तत्कालीन प्रहरी उपरीक्षक ज्ञानेन्द्र विक्रम महत पनि पूजापाठ, दर्शनका लागि मन्दिरमा पुग्नु भएको समितिले जनाएको छ । पूजा अर्चना एवम् दर्शन गर्न, मन्दिर बाहिर लामो लाइनमा बसेका ठूलो संख्याका भक्तजनलाई देखेपछि उहाँले फराकिलो पूजा कोठा भएको ठूलो मन्दिर बनाउनु पर्ने सल्लाह दिनुका साथै आफूले पनि सक्दो सहयोग गर्ने र मध्य क्षेत्र प्रहरी तालिम केन्द्र, भरतपुर चितवनमा भएको जनशक्तिद्वारा निर्माण सामाग्री ढुवानीको व्यवस्था मिलाउन सकिने आश्वासन दिनु भएको थियो ।

२०५२ साल जेष्ठ २७ गते गैंडाकोट–१ निवासी ८७ वर्षीय बयोवृद्ध प्रतिमान पौडेलबाट वर्तमान मन्दिरको शिलान्यास भएको थियो । व्यापक जनश्रमदान जुटाएर मन्दिर निर्माण कार्य सम्पन्न भएपछि २०५३ साल चैत्र २६ गते मङ्गलबार विहान १० बजे चैत्र दशैंको अवसरमा मन्दिर परिसरमा निर्मित मौलाकालीकाको मूल मन्दिर, महाँलक्ष्मी, महाँसरस्वती, शिवजी र गणेश भगवानका मूर्तिहरुको प्राण प्रतिष्ठा एवम् पूजा गरी भव्य समारोहबीच मौलकालीका मन्दिरको समुद्घाटन सु–सम्पन्न भएको थियो ।

अन्य मठ मन्दिरहरु

सिद्धि गणेश तथा मौलाकालीका मन्दिर “प्रवेश–द्वार” भित्र श्री सिद्धि विनायक गणेश भगवानको मन्दिर छ । परिसरमा भगवान श्री राधाकृष्णको भव्य मन्दिर पनि छ । गणेश भगवान र कृष्ण भगवानको मन्दिरमा पूजा गरेर भक्तजनहरु मौलाकालीका मन्दिरमा आउने गर्दछन् । धार्मिक मान्यता अनुसार पहिला गणेश भगवानको पूजा गर्नु पर्छ । मौलाकालीका मन्दिर केही तल देउराली भन्ज्याङ्गमा अवस्थित देउराली देवीको खुला मन्दिर छ जहाँ देवीको पूजा हुन्छ । त्यहाँबाट करिब ३०० मिटर माथि टाकुरोमा मौलाकालीका मन्दिर रहेको छ । मन्दिर वरीपरि हवनकुण्ड अन्य मठ घण्टी, सिंहजोडीका मूर्तिहरु स्थापित भएका छन् ।

मन्दिर प्राङ्गणबाट दृश्यावलोकन

मन्दिर प्राङ्गणबाट उत्तर पूर्व प्रसिद्ध तीर्थस्थल देवघाट धाम र कालिगण्डकी, त्रिशुली नदीका साथै पर्वतीय शृङ्खला, डाँडा भन्ज्याङ्ग, भिर–पाखाहरु, हिम शिखर लगायत सुन्दर मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । दक्षिण तर्फ नारायणी नदी अविरल रुपमा बगेको र राष्ट्रिय निकुञ्जको पूरै क्षेत्र तथा त्याहाँ स्थित पर्यटकीय स्थल सौराहा, टाईगर टप्स आदि स्थलहरुको साथै चितवन जिल्ला र गैंडाकोट नगरपालिकाको समतलीय क्षेत्रको दृश्यावलोकन गरेर धार्मिक तथा बाह्य पर्यटकहरु आनन्दित हुन्छन् । मन्दिरको उत्तर पश्चिमको घना जङ्गलमा चितुवा, मृग, हरिण, बनेल, स्याल, बाँदर, खरायो, दुम्सी आदि जनावर लगायत मयूर आदि चरा चुरुङ्गीहरु पाइन्छन् ।

२०३८ साल पहिला मौलाकालीका मन्दिर जान त्यति सजिलो बाटो थिएन । स्थानिय बसिन्दाहरु घास दाउरा तथा गाईवस्तु चराउन जाने ठाडो उकालो, सिरुखर, काँडाहरुको झाडी पन्छाएर हिँड्नु पथ्र्यो । त्यसपछि स्थानिय बासिन्दाहरुको श्रमदान सहायोगबाट डाँडो पाखो खनेर व्यवस्थित रुपमा केही फराकिलो, सजिलो कच्ची बाटो खन्ने बनाउने काम भयो । २०५५ साल पछि धार्मिक सेवा समितिको सक्रियतामा नेपाल सरकारको केही अनुदान सहयोग, श्रद्धालु भक्तजनहरुबाट आर्थिक अनुदान सहयोग एवम् नेपाल प्रहरी मध्य क्षेत्र प्रहरी तालिम केन्द्र परिवार भरतपुर चितवन, नेपाली सेना पशुपति प्रसाद गण परिवार, भरतपुर व्यारेकबाट समेत निस्वार्थ सेवाको भावनाले श्रमदान सहयोगमा छपनी ढुङ्गा ढूवानी गरी २ मिटर चौडाईमा छपनी ढुङ्गा बिछ्याएर करिब २ किमि उकालोमा १८८२ बटा सिढी भएको सिढीमार्ग निर्माण कार्य पुरा गरी २०६१ साल माघ ९ गते मौलाकालीका महोत्सव (रजत वर्ष) को पावन पर्वमा तत्कालीन प्रहरी नायव महाँनिरिक्षक तथा मन्दिरका प्रमुख सल्लाहकार ज्ञानेन्द्र विक्रम महतबाट समुद्घाटन गरी सु–सम्पन्न भएको थियो ।

सिढीमार्ग निर्माण कार्य शुरु स्थल बाघखोरमा भक्तजनको निजी सहयोगमा प्रवेशद्वार बनेको छ । निजी सहयोगमा मन्दिरसम्म सिढीमार्गको बायाँ–छेउमा पाइप रेलिङ्ग राखिएको छ । ठाउँ ठाउँमा खानेपानीका धाराहरु, वर–पिपल–स्वामी सहितका चौतारीहरु, प्रतिक्षालय तथा विश्राम गृहहरु, चमेना गृहहरु, फूलप्रसादी धजामालाका पसलहरु समेतको सुविधाले सिढीमार्गको अन्त्य तथा मन्दिर परिसरमा भक्तजनको निजी सहयोगबाट कलात्मक स्वागतद्वार निर्माण भएको छ । देउराली देवीको खुला मन्दिर माथी फराकिलो सिढीमार्ग बनेको छ । त्यसको बीचमा पूmल बाटिकाहरु निर्माण गरी धुपीका विरुवाहरु सारिएका छन् भने बाटाको छेउमा कोणधारी अशोक विरुवाहरु हुर्की सकेका छन् ।

पहुँच मार्गमा नयाँ पाइला

मौलाकालीका मन्दिर पुग्न पहिले झण्डै एक दुई घण्टा उकालो चढ्नु पथ्र्यो । यहाँ सिँढी बनाइएको छ, र सिँढीका ठाउँठाउँमा विजय एफएमले बाँकी सिँढीको संख्या लेखिदिएको छ । तर आजभोलि मोटरसाइकल, अटोरिक्सा र अन्य सवारी साधन मन्दिरकै नजिक पुग्न थालेका छन् । अशक्त व्यक्तिहरु यी सवारी साधन लिएर माथि मन्दिर छेउ पुग्न सक्छन् । हिँड्न रुचाउने ठूलो संख्याका भक्तजन भने सिँढी चढेका देखिन्छन् । गैंडाकोट र नारायणगढका धेरै सर्वसाधारण मन्दिरको दर्शन पनि हुने भन्दै बिहानी हिँडाईका लागि यो ठाउँलाई रोज्ने गरेका छन् ।

काठमाडौंमा चन्द्रागिरिमा केबलकार सफलतापूर्वक संचालन गरिरहेको चन्द्रागिरि हिल्सले यहाँ केबलकार बनाउँदैछ । यो केबलकार गैंडाकोटबाट शुरु भएर मौलाकालीका मन्दिर हुँदै देवघाट धामसम्म पुग्ने बताइएको छ । यो केबलकार संचालनमा आए यो ठाउँले राम्रै पर्यटकीय स्थानको पनि रुप लिने छ ।