१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै

हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
अ अ+ अ-

बागमती । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका सडक यथाशीघ्र सञ्चालनमा ल्याउने गरी तीव्र रुपमा पहिरो पन्छाउने काम भइरहेको छ ।

चाडपर्वमा आवागमन सहज बनाउने उद्देश्यले अवरुद्ध भएका सबै सडक सञ्चालनमा ल्याउन सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीले तीव्रताका साथ पहिरो पन्छाउने काम गरिरहेको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने सडकमध्ये हेटौँडा–भैँसे–रातोमाटे खण्डअन्तर्गत गोल्पिङबेँसीमा ठूलाठूला ढङ्गासहित खसेको पहिरो पन्छाउन चारवटा उपकरणसहित काम भइरहेको छ । यही असोज ११ र १२ गतेको वर्षाले खसेको पहिरो पन्छाएर सो सडक मङ्गलबार सञ्चालन आएकामा केही समयपछि पुन: पहिरो खसेपछि अवरुद्ध भएको प्रजिअ चिलुवालले बताउनुभयो ।

सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलासम्मको पहिरो पन्छाइसकिएको जनाउँदै प्रजिअ चिलुवालले इन्द्रसरोवर–२ स्थित बाढीले बगाएको कुलेखानी पुल तीव्रताका साथ निर्माण जानकारी दिनुभयो ।

दक्षिणकाली–फर्पिङ खण्डअन्तर्गत महालक्ष्मी खोलाबाट पाकेलसम्म र पाकेलबाट फर्पिङसम्मको पहिरो पन्छाउन दुईवटा जेसिबीसहित प्रहरीको टोली परिचालन गरिएको भन्दै प्रजिअ चिलुवालले महालक्ष्मीखोलाको पुल छेउमा बाढीले बगाएको सडक पुन:निर्माण भइरहेको उल्लेख गर्नुभयो । बाढीले महालक्ष्मी खोलाको पुलको छेउमा करिब एक सय ५० मिटर सडक बगाएको थियो ।

बाढीपहिरोका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोले सडक, पुललगायत भौतिक संरचनामा क्षति भएको प्रजिअ चिलुवालले बताउनुभयो । त्यहाँका पीडितलाई राहतसामग्री पुर्‍याउन, सिस्नेरीमा अलपत्र सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन काठमाडौँ–दक्षिणकाली–सिस्नेरी खण्डको पहिरो पन्छ्याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रजिअ चिलुवालका अनुसार काठमाडौँबाट सिस्नेरीसम्म सडक एकतर्फी रुपमा सञ्चालनमा आइसकेको छभने हेटौँडाबाट सिस्नेरीसम्मको सडक खुलाउने प्रयास भइरहेको छ । आपत्कालीन सेवाका लागि हेटौँडा–भीमफेदी–कुलेखानी–कलङ्की–मार्खु र तथा हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडाँै सडक सञ्चालनमा आइसकेको उहाँले जानकारी दिनुभयो ।

काम तीव्र रुपमा भइरहेकाले केही दिनभित्रै हेटौँडा–भीमफेदी–कुलेखानी–फाकेल–काठमाडौँ खण्ड सञ्चालनमा ल्याइने भन्दै कुलेखानीको पुल निर्माण नभएसम्म वैकल्पिक मार्ग बनाउने कार्य भइरहेको प्रजिअ चिलुवालले जानकारी दिनुभयो ।

अवरुद्ध सडक खुलाउन बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री अमनकुमार मास्के प्राविधिक जनशक्तिसहित आवश्यक उपकरण लिएर आफैँ खटिनुभएको छ । “अहिलेसम्म काठमाडौँतर्फको सडकका पहिरा पन्छाएर फर्पिङ आइपुगेका छौँ, अब हेटौँडासम्म बाटो खुलाउने गरी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

फर्पिङ–हुमाने खण्डमा ग्राभेल थुप्रिएकाले त्यसलाई हटाएर सडक सञ्चालन गरी नागरिकको यात्रा सहज गर्न प्रदेश सरकारले निरन्तर प्रयास गरिरहेको मन्त्री मास्केले उहाँले बताउनुभयो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले विपद्बाट अवरुद्ध भएका सडक सञ्चालन गराउन मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलको संयोजकत्वमा ‘क्यूआरटी’ समूह गठन गरी काम गरिरहेको जनाइएको छ ।

क्यूआरटी टोलीले हेटौँडा हुँदै भैँसेअन्तर्गत दुई स्थानमा खसेको पहिरो पन्छ्याएर भीमफेदीसम्म पुगेको पोखरेलले बताउनुभयो । “अवरुद्ध सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान–चतरा जोड्ने दुई वटा सडक पूर्णरुपमा सञ्चालनमा आइसकेका छन्भने अन्य सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

कान्ति लोकपथ सडकखण्डको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आपचौरमा पहिराले र भीमफेदी गाउँपालिका–८ स्थित वाग्मती खोलाले पुल कटान गरी सडक अवरुद्ध भएकामा उक्त खण्ड सञ्चालनमा आउन नसकेको उहाँले जानकारी दिनुभयो ।

दक्षिणकाली–छैमले–सिस्नेरी खण्डअन्तर्गत इन्द्रसरोवर–३ रामचन्द्र भञ्याङमा पहिरो खस्दा कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताउनुभयो ।

दक्षिणकाली–छैमले–सिस्नेरी खण्डअन्तर्गत इन्द्रसरोवर–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कुलेखानी–मार्छुभित्री सडकको इन्द्रसरोवर–१ सिम्लाङमा पहिरो खस्दा थानकोट–कुलेखानी पूर्णरुपमा अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसी हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्णरुपमा अवरुद्ध बनेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिनुभयो । रासस