२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा



अ+ अ-

काठमाडौँ । असोज १० र ११ गते आएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा धनजनको ठुलो क्षति भएको छ । नेपालमा असोज १३ गतेदेखि बाढीको प्रभाव कम हुँदै गइरहेको छ ।

नेपालका विभिन्न भागमा तहसनहस हुने गरी आएको बाढीले अहिले भारतमा ठुलो क्षति गरिरहेको छ । असोज १३–१४ गतेदेखि उत्तर प्रदेश र बिहार बाढीको चपेटामा परेका छन् । बिहारमा १७ जिल्लाको १४.६२ लाख जनसंख्या बाढीको पानीले घेरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। यहाँका २६९ वटा ग्राम पञ्चायत बाढीबाट पूर्ण रूपमा प्रभावित छन् । नेपालको सीमासँग जोडिएको सात वटा तटबन्धलाई बाढीले भत्काएपछि गाउँ नै बगाएको छ ।

नेपालका बागमती, सप्तकोशी, लालबकैया, गण्डक, बुढीगण्डकी, कमला, बलान, महनन्दा, घांघरा, कन्काइ लगायतका नदीको पानी बिहार पस्ने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी सप्तकोशी र गण्डकको पानीले बिहारमा क्षति गर्दछ ।

नेपालको पानीबाट भारत विहारको पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, दरभंगा, सहरसा, मधेपुरा, सुपौल, मधुवनी, पूर्णिया, अररिया, किसानगञ्ज, गोपालगञ्ज, सारण, मुजफ्फरपुर, भागलपुर, कटिहार प्रभावित भएका छन् ।

उत्तर प्रदेशको गोरखपुरमा राप्ती नदी खतराको निशानभन्दा माथि बगिरहेको छ । जिल्लाका करिब ३० गाउँमा बाढीको अवस्था छ । कुशीनगरमा भने नारायणी गण्डक नदीको बहाव घटेपछि बाढी प्रभावित गाउँले केही राहत पाएका छन् ।

सन् १९५६ पछि यस्तो बाढी पहिलो पटक देखिएको बिहारका अधिकारीहरू बताउछन् । सन् २००८ मा कोशीको तटबन्ध भत्किएपछि नेपाललगायत बिहारमा धेरै ठुलो धनजनको क्षति भएको थियो । तर त्यतिबेला पनि अहिलेको जस्तो तबाही थिएन ।

नेपालमा बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । बाढीपहिरोबाट भएको धनजनको क्षतिको विवरण भने आईसकेको छैन ।