• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

यी ६ देशमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो पारिएपछि यस्तो आयो परिणाम !



काठमाडौं । इङ्ग्ल्यान्डमा जुलाई १९ बाट कोभिड-१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाइने त्यहाँको सरकारले पुष्टि गरेको छ। त्यसको अर्थ सामाजिक सम्पर्क गर्न पहिला कानुनी रूपमा लगाइएका सबै रोकतोक अब हट्नेछन्।

अब केही सार्वजनिक स्थानमा मुख ढाक्नेगरी मास्क लगाउनु अनिवार्य हुने छैन। नाइटक्लबहरू फेरि खुल्नेछन् तथा जमघटका लागि पहिला तोकिएको सङ्ख्यासम्बन्धी प्रावधान अब स्थगित भएको छ।

संसारभरि कैयौँ देशले यो वर्ष कोरोनाभाइरसका आफ्ना प्रतिबन्धहरूलाई खुकुलो पारिरहँदा त्यसले मिश्रित परिणाम दिएको छ। त्यस्ता नियम खुकुलो पारिएका ठाउँमा के भएको छ?

अमेरिका

जो बाइडन नेतृत्वको अमेरिकी सरकारले खोप अभियानमा अगाडि बढाएकाले धेरै राज्यले प्रतिबन्धहरू हटाउन थालेका छन्। अनिवार्य मास्क लगाउने नियमदेखि व्यवसायहरू पुन: खुल्ने काम भइरहेका छन्।

जुन महिनामा अमेरिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य क्यालिफोर्नियाले भव्य रूपमा फेरि खोल्ने घोषणा गर्‍यो। त्यसैगरी खोप लगाउने जनसङ्ख्या ७० प्रतिशत नाघेपछि न्यूयोर्कले सबै प्रतिबन्धहरू हटायो।

अमेरिकामा समग्र रूपमा सङ्क्रमितहरूको सङ्ख्या घटेको छ। उच्च सङ्क्रमण भएको ज्यानुअरीको तुलनामा नयाँ सङ्क्रमितहरू एक चौथाइजति छन्। त्यस्तो अवस्था गत दुई सातामा सङ्क्रमितहरू दोबर भएको अवस्थामा कायम रहेको हो।

तर केही कम मानिसहरूले खोप लगाएका राज्यमा डेल्टा भेरिअन्ट फैलिन थालेपछि त्यहाँ चिन्ता बढेको छ। त्यस्ता ठाउँमा मास्क लगाउने जारी राख्न भनिएको छ।

न्यूयोर्क महानगरमा सङ्क्रमिको सङ्ख्या एक सातामै एकतिहाइका दरले ह्वात्तै घटेको थियो। तर खोप नलगाइएका ठाउँमा सङ्क्रमितको सङ्ख्या उच्च रूपमा बढेको पनि छ।

अस्ट्रेलिया
गत वर्षको धेरैजसो समय अस्ट्रेलियाले सीमित प्रतिबन्धहरू मात्र लगायो। लगातार शून्य सङ्क्रमण देखिएपछि उक्त देशमा मास्क लगाउनु आवश्यक परेको थिएन।

प्रकोप देखा पर्नेबित्तिकै अधिकारीहरूले लकडाउन लगाउँदै सङ्क्रमणलाई शून्यमा झार्ने काम गरे। उदाहरणका लागि ज्यानुअरीमा पर्थमा एक जनामा सङ्क्रमण देखा परेपछि त्यहाँ पाँच दिन बन्द गरियो।

मध्यजुनबाट सिड्नीमा डेल्टा भेरिअन्टको लहर देखा परेपछि देशको सबैभन्दा ठूलो सहरमा फेरि लकडाउन गरिएको छ।

दैनिक १०० को हाराहारीमा सङ्क्रमित देखिएपछि सिड्नीको लकडाउन कम्तीमा जुलाई अन्तिमसम्म लम्बिने ठानिएको छ।त्यहाँ ९० प्रतिशतभन्दा धेरै मानिसले अझै खोप नलगाएका कारण सामान्य अवस्थामा फर्किन केही समय लाग्ने ठानिएको छ।

अस्ट्रेलियामा विशेषतः फाइजरको कोभिड खोपको अभाव हुँदा धेरैजसो अस्ट्रेलियालीले यो वर्षको अन्तिमसम्म खोप लगाउन पाउनेछैनन्।

इजरेल
प्रभावकारी रूपमा कोभडि खोप अभियान सञ्चालन गरेको इजरेलले फ्रेबुअरीदेखि नै प्रतिबन्धहरू हटाउन थालेको हो। मध्यजुनबाट जनसङ्ख्याको आधा भागले दुवै मात्रा खोप लगाएपछि इजरेलमा मास्क लगाउन बन्द भयो र देश झन्डैझन्डै महामारीपूर्वको अवस्था फर्कियो।

पसल, रेस्टुराँ, होटल र सिनेमाघरहरू पूर्ण रूपले खुला भए। त्यसयता दैनिक पुष्टि हुने सङ्क्रमितमा कोरोनाभाइरसको डेल्टा भेरिअन्ट कारक हुनेको सङ्ख्या निरन्तर रूपमा बढिरहेको देखिन्छ।

तर अधिकारीहरूले गम्भीर र अस्पताल भर्ना हुनुपर्ने खालका बिरामी निकै कम भएको बताएका छन्। तथापि त्यसले प्रधानमन्त्री नफ्ताली बेनेटको सरकारलाई सोच्न पारेको छ। इजरेलले कोरोनानाभाइरसविरुद्ध 'कोमल दमन' को नीति अवलम्बन गरेको र र तदरूप नागरिकहरूलाई कोभिड-१९ सँगसँगै बाँच्न सिक्न भनिनेछ।

फेरि लागु गरिएका प्रावधानहरूमा घरभित्र बस्दा मास्क लगाउने र विदेशबाट इजरेल आउनेहरूले क्वारन्टीनमा बस्नुपर्ने समाविष्ट गरिएको छ।

द नेदरल्यान्ड्स
खोप लगाउनेहरू बढ्दा र सङ्क्रमितहरू घटिरहँदा जुन महिनाको अन्त्यतिरबाट द नेदरल्यान्ड्सले प्रतिबन्धहरू हटाउन थालेको थियो। त्यहाँ मास्क लगाउन छाडिएको छ भने युवाहरूलाई घरबाहिर निस्किन प्रेरित गरिँदैछ।

त्यसयता सङ्क्रमितहरू ह्वात्तै बढेर डिसेम्बरयताकै उच्च बिन्दुमा पुगे पनि खुकुलो व्यवस्थाले अस्पतालहरूमा उल्लेख्य चाप बढाएको छैन। तर स्वास्थ्य अधिकारीहरूबाट आलोचना बढेपछि प्रतिबन्धहरू हटाइएको दुई सातामै प्रधानमन्त्री मार्क रुटेले पुनस् कैयौँ प्रतिबन्ध लगाएका छन्।

रेस्टुराँ र बार मध्यरातसम्म मात्र खुल्न पाउँछन् भने नाइटक्लबहरू फेरि बन्द भएका छन्। प्रधानमन्त्रीले आफ्नो 'कमजोर मूल्याङ्कन' का लागि क्षमा मागेका छन्। डच सरकारको वेबसाइटले त्यस्ता प्रतिबन्धहरू कम्तिमा अगस्ट १३ सम्म कायम रहने जनाएको छ।

दक्षिण कोरिया
कोभिड महामारीसँग सङ्घर्ष गर्ने विषयमा दक्षिण कोरियालाई सफल मानिन्छ। त्यसलाई छिट्टै नियन्त्रणमा लिन सक्ने यो पहिलोमध्येको पूर्वीएशियाली देश पनि हो।

जुन महिनामा उक्त देशले खोप लगाएका मानिसहरूलाई मास्कबिनै बाहिर घुम्न जान दिने, साना निजी जमघटहरू गर्न दिने र रेस्टुराँ खोल्ने समय खुकुलो गराउने योजना सार्वजनिक गरेको थियो।

तर आधाभन्दा धेरै जनसङ्ख्याले खोप लगाउन बाँकी रहेको बेला त्यसो गर्नु उचित नभएको भन्दै विज्ञहरूले चेतावनी दिएका थिए।

अहिले दक्षिण कोरियाले अहिलेसम्मकै खराब प्रकोप खेपिरहेको छ। त्यसका कारण सामाजिक दूरीसम्बन्धी नियमलाई सरकारले देशका धेरै ठाउँमा पुनस् लगाएको छ। राजधानी सोलमा साँझ ६ बजेपछि एक जनाभन्दा धेरैलाई भेट्न नपाइने नियम ल्याइएको छ।

स्वीडन
अन्य देशभन्दा फरक सङ्क्रमणसँग सङ्घर्ष गर्न स्वीडन स्वैच्छिक उपायमा भर परेको थियो। तर त्यहाँ रेस्टुराँ खुल्ने समय र भिडभाडसम्बन्धी नियमहरू पालना गरिएको थियो।

त्यस्ता केही प्रतिबन्धहरू खुकुलो भइसकेका छन्। जुलाई १ देखि ३,००० दर्शक क्षमताका खेल रङ्गशाला खुला भएका छन्। जुलाई १५ देखि थप प्रतिबन्धहरू हटाइएका छन्।

वसन्त यामयता सङ्क्रमण निरन्तर घट्न थाल्यो। त्यसको जस कोभिड खोपको बढ्दो प्रयोग र न्यानो मौसमलाई अनि धेरैजसो मानिसहरू घरबाहिर जमघट गर्न थाले।

तर डेल्टा भेरिअन्टको त्रासमाझ स्वीडन फर्किने धेरैजसो यात्रुहरूले अब कोभिड जाँच गर्नुपर्नेछ। (बीबीसी नेपाली)