• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   ‘तातो हावाको लहर (लू) प्रतिकार्यमा जुटौँ’ ★   विद्यालयका सटर बन्द नगराउन काठमाडौं महानगरलाई अदालतको आदेश ★   पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द ★   सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ: प्रेम सुवाल ★   सुपर ८ मा पुगेपछि रोहितले भने – यहाँ क्रिकेट खेल्न सजिलो छैन ★   मेरा लागि सय खेल भन्दा महत्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो: कप्तान चेम्जोङ ★   शीतगृहले धरानका किसानलाई राहत ★   ‘दिवाली होस् या होली, अनुष्का लव कोहली’, ‘१० रुपैयाको पेप्सी, कोहली भाई सेक्सी’ ★   समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग ★   थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु

आफ्ना लागि आफैँ उत्पादनमा



डुम्रे । देशका अधिकांश वृद्धाश्रमको सञ्चालन दाता वा सहयोगी निकायहरुको सहयोगबाट हुने गरेकामा तनहुँको ज्येष्ठ नागरिक चौतारी (बृद्धाश्रम) तरकारी तथा दूधमा आत्मनिर्भर रहेको छ । व्यास नगरपालिका–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित यस वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकले आफैँ तरकारी र दूध उत्पादन गर्दै आएका छन् ।

विगतमा घरमा रहँदाको सिकाइ र भोगाइलाई यहाँ पनि उपयोग गरी तरकारी र दूध उत्पादन गर्दै आएको महासङ्घ जिल्ला कार्यसमितिका अध्यक्ष तारानाथ घिमिरेले बताउनुभयो । “यहाँ आश्रित ज्येष्ठ नागरिक आफैँले बारीमा खनेर तरकारी लगाउने गरेका छौँ । हामीले रासायनिक मल प्रयोग गर्दैनौँ । प्राङ्गारिक मलको प्रयोग गरेर तरकारी उत्पादन गर्छौं”, घिमिरेले भन्नुभयो ।

आश्रममा बस्दै आएका काम गर्न सक्ने सबैले सकेको काम गरेर प्राङ्गारिक उत्पादन खाने गरेका उहाँ बताउनुहुन्छ । यहाँका ज्येष्ठ नागरिकले बाहिरबाट सहयोगका लागि आएको खाद्यान्न, तेल, नुन, चिनीलगायत अत्यावश्यक सामग्री प्राप्त हुने गर्दछ ।

आफैँले बारीमा उत्पादन गरेको खानेकुरा धेरै मीठो हुने गरेको यहाँ आश्रित ज्येष्ठ नागरिक बताउँछन् । “हामी तरकारी र दूधमा आत्मनिर्भर छौँ । रासयनिक मलको सट्टा गाईको मल प्रयोग गरेर आफैँ खटिएर तरकारी लगाउँछौँ । तरकारी किन्नुपर्ने बाध्यता छैन”, संस्थाका उपाध्यक्ष सुवेदार बलबहादुर रानाभाट भन्नुहुन्छ ।

अहिले बारीमा हिउँदे तरकारी प्रशस्त रहेको छ । आश्रमको स्वामित्वमा नै रहेको एक रोपनी जग्गामा खेतीपाती गर्दै आएको रानाभाट बताउनुहुन्छ । “यहाँ उत्पादित तरकारीले आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई पुग्छ । बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन । चैत, वैशाखका लागि नयाँ तरकारीको बिरुवा रोपिएको छ । अब लहरे तरकारीको याममा रोप्नका लागि टनेल तयारी अवस्थामा रहेको छ”, उहाँ बताउनुहुन्छ ।

यहाँ पालिएको गाईको गोबर, गहँुतको प्रयोग गरी तरकारी उत्पादन गरिएको अध्यक्ष घिमिरे बताउनुहुन्छ । आश्रमको करेसाबारीमा काउली, बन्दा, भन्टा, कागती, धनियाँ, मूला, साग, ब्रोकाउलीलगायतका तरकारी प्रशस्त मात्रा फलेका छन् । तरकारीकै घाँस र कुडोले यहाँका गाई पालिएका छन् ।

आश्रममा कहिले पनि दुहुनो गाई टुट्दैन । यहाँका गाई पालनले आश्रममा आउने सहयोगदाता, भेटघाटका लागि आउने पाहुनालाई जुनसुकै समय दूध खुवाउन सकिने उहाँ बताउनुहुन्छ । आश्रममा हाल पाँचवटा गाई छन् ।

रासस