२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतगृहले धरानका किसानलाई राहत



अ+ अ-

धरान । कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा धरान उपमहानगरपालिका–१३ स्थित कृषिबजारमा निर्माण गरिएको शीतगृह (चिस्यान केन्द्र)ले किसानलाई राहत मिलेको छ । विगतमा बिक्री नभएर आफ्ना उत्पादन खेर फाल्न बाध्य किसानले अहिले बिक्री नभएको कृषिजन्य उत्पादन भण्डारणका लागि शीतगृह पुर्याउने गरेका छन् । सङ्खुवासभाका किसान विष्णु राई शीतगृह निर्माण भएपछि किसानलाई राहत मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “झण्डै एक दिनको बाटो धाएर धरानमा बिक्रीका लागि ल्याइन्छ तर कहिले बिक्री नभएर अब के गर्ने भन्ने तनाव हुन्छ, दु:ख गरेर धरान ल्याइएका फलफूल र तरकारी बिक्री नभए सित्तैमा बाँडेर जानुपर्ने, कि त फालेर हिँड्नु पर्ने अवस्था थियो ।”  अहिले बिक्री नभएको तरकारी फलफूल सबै यहीँ राखेर जान पाइन्छ । दश/बाह्र दिनपछि आएर फेरि बिक्री गर्न सकिन्छ उहाँले भन्नुभयो ।

धेरै फलफूल उत्पादन हुने ठाउँमध्ये धनकुटा पनि एक हो । धनकुटाका किसान विवेक राई शीतगृह निर्माणपछि किसानलाई राहत मिलेको बताउनुभयो । फलफूल र तरकारीको सिजनअनुसार उत्पादनलाई बिक्री गर्नका लागि बर्सेन आफू धरान कृषि बजार आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले धेरै सजिलो भएको छ, जाडो मौसममा दुई/तीन दिनसम्म बाहिर फलफूल राख्दा खासै बिग्रने हुँदैन, तर अहिले गर्मी समयमा एक दिन बाहिर राख्दा बिग्रने हुँदा शीतगृहमा राख्दा महँगो पनि खासै छैन फर्काएर लैजान नपर्ने हुँदा ठूलो सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।

उहाँहरू मात्र होइन, अहिले धरान–१३ स्थित शीतगृह निर्माणपछि पहाडी भेगका किसानलाई ठूलो राहत मिलेको छ । धनकुटा, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, खोटाङलगायतका ठाउँबाट कृषि उपज बजारमा बिक्री गर्न आउने  किसानका लागि शीतगृह बरदान सावित भएको छ ।

कोशी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले २०७६/७७ मा बाली विशेष भण्डार गृह निर्माण कार्यक्रमअन्तर्गत उपलब्ध गराएको रु ४९ लाख ८३ हजार तीन सय र कृषि बजार व्यवस्थापन समितिको रु २६ लाख ९७ हजार आठ सय ४० गरी कुल रु ७६ लाख ८१ हजार एक सय ४० लागतमा शीतगृह निर्माण भएको हो ।

शीतगृहमा कृषि उपज राख्न किसान र व्यापारीलाई सहज भएपछि २०७७/७८ मा पनि कोशी प्रदेश सरकारले रु ५० लाख उपलब्ध गराएको हो । त्यसमा कृषि बजार समितिले रु १७ लाख थप गरेर कुल रु ६७ लाख लागतमा अर्को शीतगृह थप गरिएको छ । अहिले शीतगृहका छवटा च्याम्बर छन् । एउटा च्याम्बरमा २५ टनदेखि ३० टनसम्म भण्डारण गर्न सकिन्छ । छवटा च्याम्बरमध्ये २५ टन क्षमताको एउटा च्याबर किसानका लागि आरक्षणका रूपमा छुट्याइएको कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।

“अरू च्याम्बरमा कृषक, व्यापारी सबैले राख्न पाउँछन् तर एउटा च्याम्बर कृषककै लागि छुट्याइएकाले अरूले राख्न पाउँदैनन्, यो कृषकलाई आरणक्षका रुपमा राखिएको हो”, उहाँले भन्नुभयो । शून्य डिग्री तापक्रम रहने शीतगृहमा अहिले आलुको बीउ, जुम्ली स्याउ, नौनी घ्यू र भारतबाट आएका सयपत्रीका फूल राखिएको छ । शीतगृहमा ड्रागन फ्रुट एक महिनासम्म, किबी तीन महिनासम्म, आलुको बीउ एक वर्षसम्म र हरियो तरकारी एक हप्ताभन्दा धेरै समयसम्म भण्डारण गर्न सकिने व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।

यसरी भण्डार गर्दा किसानले प्रतिकेजी मासिक दुई रुपैयाँ ५० पैसा तिर्नुपर्छ । शीतगृहमा व्यापारीले पनि बाहिरबाट किनेर ल्याएका स्याउ, अङ्गुर, अनारजस्ता फलफूल राख्ने गर्छन् । कतिपय व्यापारीले च्याम्बर नै लिजमा लिने गरेका छन् । उनीहरुले ३० टन क्षमताको प्रतिच्याम्बर मासिक रु ३० हजार तिर्ने गरेका छन् । धरानस्थित कृषि उपज बजारमा दैनिक रूपमा करिब एक हजारभन्दा बढी किसान र दुई सयभन्दा बढीको हाराहारी व्यापारीबीच कारोबार हुने गरेको छ । यहाँ दैनिक दुई करोडको हाराहारीमा कारोबार हुने गर्छ । वार्षिक कारोबार रु पाचँ/छ अर्बभन्दा बढी हुने गरेको कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो । रासस