• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन – तस्बिरहरु ★   प्राकृतिक विपत्तिबाट बच्न एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्छ: योगेश भट्टराई ★   ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना ★   राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै ★   सडक बनेको १८ वर्षपछि स्तरोन्नति ★   सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ ★   कांग्रेसका नेताहरूमाथि गृहमन्त्रीले लगाएको आरोपमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: कांग्रेस ★   म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा ★   पृथ्वीराजमार्गमा सवारी दुर्घटना: घाइते २० मध्ये पाँचजना गम्भीर ★   रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

आफ्ना लागि आफैँ उत्पादनमा



डुम्रे । देशका अधिकांश वृद्धाश्रमको सञ्चालन दाता वा सहयोगी निकायहरुको सहयोगबाट हुने गरेकामा तनहुँको ज्येष्ठ नागरिक चौतारी (बृद्धाश्रम) तरकारी तथा दूधमा आत्मनिर्भर रहेको छ । व्यास नगरपालिका–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित यस वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकले आफैँ तरकारी र दूध उत्पादन गर्दै आएका छन् ।

विगतमा घरमा रहँदाको सिकाइ र भोगाइलाई यहाँ पनि उपयोग गरी तरकारी र दूध उत्पादन गर्दै आएको महासङ्घ जिल्ला कार्यसमितिका अध्यक्ष तारानाथ घिमिरेले बताउनुभयो । “यहाँ आश्रित ज्येष्ठ नागरिक आफैँले बारीमा खनेर तरकारी लगाउने गरेका छौँ । हामीले रासायनिक मल प्रयोग गर्दैनौँ । प्राङ्गारिक मलको प्रयोग गरेर तरकारी उत्पादन गर्छौं”, घिमिरेले भन्नुभयो ।

आश्रममा बस्दै आएका काम गर्न सक्ने सबैले सकेको काम गरेर प्राङ्गारिक उत्पादन खाने गरेका उहाँ बताउनुहुन्छ । यहाँका ज्येष्ठ नागरिकले बाहिरबाट सहयोगका लागि आएको खाद्यान्न, तेल, नुन, चिनीलगायत अत्यावश्यक सामग्री प्राप्त हुने गर्दछ ।

आफैँले बारीमा उत्पादन गरेको खानेकुरा धेरै मीठो हुने गरेको यहाँ आश्रित ज्येष्ठ नागरिक बताउँछन् । “हामी तरकारी र दूधमा आत्मनिर्भर छौँ । रासयनिक मलको सट्टा गाईको मल प्रयोग गरेर आफैँ खटिएर तरकारी लगाउँछौँ । तरकारी किन्नुपर्ने बाध्यता छैन”, संस्थाका उपाध्यक्ष सुवेदार बलबहादुर रानाभाट भन्नुहुन्छ ।

अहिले बारीमा हिउँदे तरकारी प्रशस्त रहेको छ । आश्रमको स्वामित्वमा नै रहेको एक रोपनी जग्गामा खेतीपाती गर्दै आएको रानाभाट बताउनुहुन्छ । “यहाँ उत्पादित तरकारीले आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई पुग्छ । बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन । चैत, वैशाखका लागि नयाँ तरकारीको बिरुवा रोपिएको छ । अब लहरे तरकारीको याममा रोप्नका लागि टनेल तयारी अवस्थामा रहेको छ”, उहाँ बताउनुहुन्छ ।

यहाँ पालिएको गाईको गोबर, गहँुतको प्रयोग गरी तरकारी उत्पादन गरिएको अध्यक्ष घिमिरे बताउनुहुन्छ । आश्रमको करेसाबारीमा काउली, बन्दा, भन्टा, कागती, धनियाँ, मूला, साग, ब्रोकाउलीलगायतका तरकारी प्रशस्त मात्रा फलेका छन् । तरकारीकै घाँस र कुडोले यहाँका गाई पालिएका छन् ।

आश्रममा कहिले पनि दुहुनो गाई टुट्दैन । यहाँका गाई पालनले आश्रममा आउने सहयोगदाता, भेटघाटका लागि आउने पाहुनालाई जुनसुकै समय दूध खुवाउन सकिने उहाँ बताउनुहुन्छ । आश्रममा हाल पाँचवटा गाई छन् ।

रासस