१८ श्रावण २०८३, सोमबार
,
Latest
‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’ झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः संयोजक दाहाल वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ डेढ खर्ब विकासमा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको सोच नै गलत छः उपाध्यक्ष श्रेष्ठ नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैनः महासचिव पोखरेल सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न खोजेको होः सचेतक परियार सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शिवपुरी डाँडाबाट भगवान् पशुपतिनाथ फर्किएपछि आरती’



अ+ अ-

काठमाडौं । गत सोमबार रातिको धनुर्मास पूजापछि मङ्गलबार दिनभर शिवपुरी डाँडामा घाम ताप्न जानुभएका भगवान् शिव फर्किएपछि बेलुकी पशुपतिनाथ मन्दिरमै आरती गरिएको छ ।

प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभसाइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिन्छ । धनुर्मामास पूजापछि मङ्गलबार दिनभर मन्दिर बन्द गर्ने प्राचीनकालदेखिको नियम छ । यो पूजापछि भगवान् शिव पनि घाम ताप्न शिवपुरी डाँडामा जानुहुने भएकाले मन्दिर बन्द गरिने गरेको विश्वास छ ।

धनुर्मास पूजामा पशुपतिनाथका चारै भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, शृङ्गार, श्री चक्रको पूजा, धूप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ । धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

पशुपतिनाथमा महाभोगका लागि ब्राह्मणले दुईवटा खँड्कुलामा खिचडी बनाउँछन् । एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी बनाउने गरिन्छ । अरु बेलामा पशुपतिनाथमा लगाइने भोगमा नुनिलो सामग्री हुन्छ । धनुर्मास पूजामा गुलियो र चिल्लो सामग्री चढाउने विधि रहेको पशुपति क्षेत्रका मूर्त–अमूर्त संस्कृतिका बारेमा विशेष खोज गरिरहनुभएका कर्मचारी बरुण खतिवडाले जानकारी दिनुभयो । पुस महिनाभर सूर्यनारायण धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा बढी भीडभाड नहुने दिनको साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।

चान्द्रमास र सौरमास दुवैअनुसार पुस महिना पारेर धनुर्मास पूजाको साइत निकालिन्छ । पहिले पुस महिनामा नौपटकसम्म धनुर्मास पूजा गर्ने गरिएकामा त्यो परम्परा अहिले लोप भइसकेको छ । त्यसबेला भक्तजनले पनि आफ्नो खर्चमा पनि धनुर्मास पूजा गर्न पाउँथे । यो परम्परा अहिले लोप भइसकेको छ । धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

पशुपतिनाथ मन्दिरमा आज बिहानदेखि भने नियमित पूजा आराधना गरी भक्तजनका लागि मन्दिर खुलाइने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । रासस