• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

फोहरलाई छ प्रकारमा छुट्याएर सङ्कलन गर्दै चन्द्रागिरि



काठमाडौँ । फोहरलाई कुहिने र नकुहिने गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहरलाई छ थरी झोलामा छुट्टाछुट्टै सङ्कलन गर्ने तयारी सुरु गरेको छ ।

नगरवासीलाई घरबाट निस्किने फोहरको अधिकांश भाग आफैँ व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई छ वटा अगल–अलग झोला वितरण गरिनेछ । नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले सङ्कलन हुने फोहरको परिमाण उल्लेख्यरुपमा घटाउन र बाँकी फोहर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न यस्तो कार्यक्रम सुरु गरिएको हो ।

यस अन्तर्गत नगरवासीलाई हरियो, रातो, कालो, सेतो, नीलो र पहेँलो गरी छ प्रकारका झोला वितरण गरिनेछ । साथै उनीहरुलाई हरियो झोलामा तरकारीलगायतका खाद्यपदार्थबाट निस्किएका फोहर राख्न भनिने छ । सम्भव भएसम्म हरियो झोलामा सङ्कलन हुने फोहरबाट मल बनाउन उत्प्रेरित गर्ने नगरपालिकाको अवधारणा छ ।

यसैगरी रातो रङको झोलामा सिसा र सिसाजन्य फोहर राख्न र त्यसलाई आफैँले कवाडीमा बेच्न प्रेरित गरिनेछ । कालो झोलामा प्लाष्टिक र प्लाष्टिकजन्य फोहर राख्ने र त्यसलाई पनि नगरवासी आफैँले बेच्नका लागि प्रेरित गरिनेछ ।सेतो झोलामा कागज र कागजजन्य फोहर थुपार्ने र त्यसलाई समेत कागज पुनः प्रयोग गर्नेलाई बेच्नका लागि प्रेरित गरिने छ ।

फलाम र कवाडीजन्य अन्य सामान थुपार्न निलो रङको झोला उपलब्ध गराइनेछ । त्यसलाई पनि नगरवासी आफैँले बेच्न सक्नेछन् । यसैगरी व्यक्तिगत तवरमा व्यवस्थापन गर्न नसकिने स्यानिटरी प्याड, डाइपरआदि फोहरलाई पहेँलो झोलामा सङ्कलन गर्न प्रेरित गरिने छ ।

“कुहिने फोहरमा माटो र धानका भुस र बिरुवाका पात राखेर नगनाउने गरी मल बनाउन सकिन्छ”, नगरपालिकाबाट तयार गरिएको सन्देशमा उल्लेख छ । यसका साथै फोहरलाई सङ्कलक नआएको बेला घरभित्र राख्न र सङ्कलक आएको बेलामा मात्र बाहिर निकाल्न पनि नगरपालिकाले आह्वान गरेको छ ।

“कुहिने फोहर मलका रुपमा र नकुहिने फोहर पैसाका रुपमा नगरवासीलाई नै फिर्ता दिने उद्देश्यले यो कार्यक्रम गर्न लागेका हौँ”, प्रमुख गिरीले रासससँग भन्नुभयो ।

फोहरको प्रकृतिअनुसार छुट्याउनका लागि झोला मात्र वितरण नगरी कुन दिन कुन टोलमा छ वटामध्ये कुन प्रकारको फोहर उठ्छ भन्नेसमेत तय गरिने छ र नगरवासीलाई यसैअनुसार सूचना दिइने नगरपालिकाकी विपद् व्यवस्थापन शाखाप्रमुख भद्रा अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाभित्र कूल छ वटा संस्थाले फोहर सङ्कलन गरिरहेका छन् । तिनलाई पनि निश्चित बार निश्चित प्रकारको फोहर मात्र उठाउने गरी प्रशिक्षित गरिने छ ।

घरको फोहर त्यसको प्रकृतिअनुसार अलग–अलग भाँडामा सङ्कलन गर्ने बानी लगाउन यसो गरिएको नगरप्रमुख गिरी बताउनुहुन्छ । अहिले प्लाष्टिकको झोलामा अलग–अलग फोहर सङ्कलन गर्न लगाउने र पछि विस्तारै बलियो भाडा दिने सोचाइ नगरपालिकाको छ ।