• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’…. ★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु

सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो



सुदूरपश्चिम । केन्द्रमा सत्तासमीकरण फेरिएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ ।

एमालेका प्रदेशसभा सदस्य एवं आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर पार्टीबाट मन्त्री भएकाहरुले आजै राजीनामा बुझाएका जानकारी दिनुभयो । मन्त्री पालले भन्नुभयो, “प्रदेश बाहिर रहनुभएका मुख्यमन्त्रीसँग टेलिफोनमा सम्पर्क गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएर आएका छौँ ।”

एमालेले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुने वा नहुने भन्नेमा अन्योल देखिएको छ । मन्त्री पालले प्रदेशसभाबाट यो बजेट पारित नहुने बताउनुभयो । बजेट माथिको छलफल प्रदेशसभामा अझै सुरु हुन सकेको छैन । नयाँ गठन हुने सरकारले अध्यादेशमार्फत बजेट ल्याउनसक्ने जनाइएको छ ।

यसअघि आज बसेको एमाले संसदीय दलको बैठकले सोडारी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । समर्थन फिर्ता लिएसँगै गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारी अल्पमतमा पर्नुभएको छ । यही असार १ गतेपछि प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको थियो । त्यसयता बैठक बस्न सकेको छैन । मुख्यमन्त्री सोडारी पार्टीको काममा काठमाडौँ हुनुहुन्छ ।

सरकारको बजेटसम्बन्धी वार्षिक विकास कार्यक्रम ९रातो किताब० आधिकारिक रुपमा सार्वजनिक नगर्दै त्यसको ‘पिडिएफ’ फायल अनधिकृत रुपमा सार्वजनिक भएपछि विरोध भएको थियो ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिको एकपक्ष र स्वतन्त्र सांसदको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । पछिल्लो पटक भएको प्रदेशसभा निर्वाचनपछि गठन भएको प्रदेशसभाले अहिलेसम्म दुई मुख्यमन्त्री परिवर्तन गरिसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै अहिलेका मुख्यमन्त्री सोडारीको यात्रा पनि सङ्कटमा परेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा पुन:नयाँ सरकार गठन गर्ने तयारी भइरहेको सो पार्टीका सांसदले बताएका छन् ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)को सभामुख बाहेक १०, नेकपा (एमाले)का ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् । रासस