• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो

अब सरर केबलकारमै मौलाकालिका



नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ ।

गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताउनुभयो । यसका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी एक हजारभन्दा बढी रुख कटान गरिएको थियो । वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा सालकासहित एक हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

आइएमइ समूहले गैँडाकोटमा केबलकार सञ्चालनमा ल्याउन लागेको हो । मौलाकाली केबलकार प्रालिले करिब रु एक अर्ब ५० करोडको लागतमा आयोजना अगाडि बढाएको हो । यही पुस महिनाबाट सञ्चालनमा ल्याउने तयारीसहित केबलकार निर्माण अगाडि बढाइएको भए पनि कोभिडलगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको छ ।

केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो । स्थानीयले कम्तीमा रु ५० हजारदेखि बढीमा रु पाँच लाखसम्म लगानी गर्ने ढकालको भनाइ छ । केबलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ ।

मौलाकाली मन्दिर नजिकै रहेको हेलिप्याडमा ५० कोठाको होटल, लज पनि निर्माणाधीन अवस्थामा रहेको व्यवस्थापक सावदले बताउनुभयो । मन्दिर नजिकै रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन हुने उहाँले जानकारी दिनुभयो । “हेलिप्याड भएको ठाउँमा टपस्टेशन निर्माण गरे पनि हेलिप्याडसमेत निर्माण हुन्छ”, उहाँले भन्नुभयो, “टपस्टेशनको माथि होटल र त्यो भन्दामाथि हेलिप्याड राख्ने गरी निर्माणको काम भइरहेको छ ।”
केबलकारले एकतर्फी लम्बाई एक हजार दुई सय मिटर लामो हुनेछ । यसका लागि छ टावर निर्माण गरिनेछ । केबलकारमा १४ डब्बा राखेर यात्रु ओसारिने जनाइएको छ । केबलकारमा थप एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

केबलकार सञ्चालनमा आएपछि प्रतिदिन छ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ । केबलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकाली मन्दिर पुग्ने व्यवस्थापक सावदले बताउनुभयो । अहिले मन्दिर पुग्न एक हजार आठ सय ८२ खुड्किलो उक्लिँदा करिब ४५ मिनेट समय लाग्ने गरेको छ ।

केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो । चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेको अस्ट्रेलियन कम्पनीले नै मौलाकाली केबलकार निर्माणको काम गरिरहेको जनाइएको छ । रासस