६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन परिणामसहितको प्रतिवेदन पेश, यसरी हुन्छ नयाँ सरकारको गठन



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति समक्ष प्रतिवेदन पेश भएपछि अब नयाँ सरकार गठनको ढोका खुलेको छ ।

के छ सबैधानिक व्यवस्था

संविधानको धारा ७६ को उपधारा ८ अनुसार निर्वाचनको अन्तिम परिणाम आएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्ति प्रक्रिया सक्नुपर्छ । त्यस्तै संसद् सचिवालयले पहिचान गरेका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ खाने र उनले बाँकीलाई शपथ दिलाउनुपर्छ ।

निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुपर्ने संविधानको धारा ९३ को उपधारा १ मा व्यवस्था छ ।

संविधानको धार ७६ मा सरकार गठनसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । सो अनुसार उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । तर निर्वाचनको परिणामले कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गरेका छैनन् । त्यसैले उक्त उपधारा प्रयोगमा आउने छैन ।

कुनै पनि दलको बहुमत नपुगेको अवस्थामा उपधारा २ आकर्षित हुनेछ । यो उपधाराअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेछ । यसरी नियुक्त भएको प्रधानमन्त्रीले ३० दिनभित्र संसद्बाट विश्वासको मत हासिल गर्नुपर्नेछ ।

धारा ७६ को उपधारा २ बाट पनि प्रधानमन्त्री नियुक्त नसकेमा उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने छ । उपधारा ४ अनुसार यसरी नियुक्त प्रधानमन्त्रीले पनि ३० भित्र संसद्बाट विश्वासको मत लिनुपर्नेछ ।

३० दिनभित्र उपधारा ३ बमोजिम प्रधानमन्त्रीले विश्वास हासिल गर्न नसकेको अवस्थामा उपधारा ५ अनुसार विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । यसरी नियुक्त प्रधानमन्त्रीले पनि उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।

उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत हासिल गर्न नसकेको अवस्थामा उपधारा ७ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र नयाँ प्रतिनिधिसभाको निर्वाचन हुनेगरी मिति तोक्नुपर्ने संवैधानिक व्यवस्था छ ।