२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छः अध्यक्ष नेपाल



अ+ अ-

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उहाँले देशले एकता र साझा सहमतिको विन्दु खोजेको बताउनुभयो ।

जनताले निर्वाचित गरेका नेताहरुले आफूप्रति इमान्दारिता र जनताप्रति बफादार भएर लाग्नुपर्ने आँैल्याउँदै उहाँले भन्नुभयो, “हामी आफ्ना आफ्ना खुबी, क्षमता, वाक कटुता, व्यक्तिको छाप प्रयोग गरी राजनीतिक खेलको मैदानबाट उत्रिएका छौँ, जित्नु ठूलो कुरा होइन, जनतासँग हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ, त्यो पूरा गर्न इमान्दार र जनताप्रति बफादार भएर काम गर्नुपर्छ ।”

चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरुको पीडालाई सम्बोधन गर्ने, जनताको असीमिति चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्नुपर्नेमा जोड दिनुभयो । जनताले मन पराएका छैनन् भने नेताहरुले फकाउन सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनतालाई फकाउन, मिलाउन र साथमा लिएर समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आश्वासन दिँदा त्यहाँ ठाउँ राख्नुपर्छ, जनताका सबै माग पूरा गर्न सकिँदैन, सक्दो कोसिस गर्नुपर्ने हुन्छ ।” अध्यक्ष नेपालले नेपालको अर्थतन्त्र सङ्कटतर्फ बढेको भन्दै यसलाई कसरी सुधार्ने भनेर समीक्षा गर्नु आवश्यक रहेको बताउनुभयो । राजनीतिक परिवर्तनसँगै अब आर्थिक परिवर्तन र विकासको दायित्व पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सभापति दुर्लभ थापाले अहिलेको आवश्यकता सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि देशमा स्थायित्व दिन सक्ने, समृद्धिका लागि कहीँ, कतै नअलमलीकन अगाडि बढ्ने गरी स्थिर सरकार निर्माण गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर क्षेत्र नं २ (१) बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य किरण थापाले भोट माग्न जाँदा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । भक्तपुर क्षेत्र नं २ (१) बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले व्यवस्थित रुपमा विकासका पूर्वाधार निर्माण गर्दै जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस सूर्यविनायक नगर सभापति निशान ढुङ्गेल, जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापा, सूर्यनगर टोल विकास समाजका सल्लाहकार एवं नेपाल पत्रकार महासङ्घ भक्तपुरका सचिव गोविन्द चौलागाइँ, समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति बालकृष्ण न्यौपानेलगायतले यहाँका खानेपानी, सडकलगायत समस्याबारे चर्चा गर्नुभएको थियो ।

गायक नवीन कार्कीले कार्यक्रममा विभिन्न गीतहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतको उपस्थिति रहेको थियो । रासस