• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

बागलुङमा अव्यवस्थित ठेलागाडा हटाउन थालियो



फाईल फोटो

बलेवा । बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ ।

बजारमा सवारी चापसँगै बढेको जाम हटाउन जथाभावी राखेर व्यापार गरिएका ठेलागाडा, फुटपाथ ढाकेर राखिएका व्यापारिक सामान, अलपत्र छाडिएका निर्माण सामग्री तत्काल हटाउन चेतावनी दिएको बानपा–२ का वडा सदस्य तथा अव्यवस्थित तारपोल हटाउने समितिका सदस्य अर्जुन घिमिरेले बताउनुभयो । “पहिलो पटक भेटिएकालाई चेतावनी दिएका छौँ, दोस्रो पटक भेटिएका सामान उठाएका छौँ”, घिमिरेले भन्नुभयो, “अलपत्र भेटिएका केही ठेलागाडी नियन्त्रणमा ल्याइसकिएको छ ।”

ठेलागाडा उठाउन थालेपछि कतिपयले भागाभाग गरेर लुकाएका थिए । घर छेउमा फालिएका फोहोर, ढुङ्गामाटो र गिट्टी समेतले आवागमनमा असर पुगेको स्थानमा नगरपालिकाको ट्र्याक्टरमा सामान उठाएको छ । केहीले सडकमा अव्यवस्थित छाडेका अन्य व्यपारिक प्रयोजनका घुम्ती पसल र काठका बाकससमेत उठाइएको हो । सदरमुकामस्थित बागलुङ बजारमा तीन सयभन्दा बढी ठेलागाडा भएको अनुमानपछि यो काम थालिएको घिमिरेले जानकारी दिनुभयो ।

ठेलागाडामा राखेर कर नतिरेका तथा अव्यवस्थित रुपमा राखेर सामान बेचेको भेटिएपछि नगरपालिकाले नियमन गर्न थालेको थियो । उद्योग वाणिज्य सङ्घले पनि कर नतिरेका सामान ठेलागाडामा राखेर जथाभावी बेच्दा कर तिर्नेलाई मर्का परेको गुनासो गरेको थियो । त्यस्तै सडक अवरुद्ध हुने गरी उनीहरुले सामान राख्दा ट्राफिक जाम बढेको थियो ।

यस्तै, नगरपालिकाले ५० बढी अव्यवस्थित पोल पनि हटाएको छ । विद्युत्का पोल नगरपालिकाले आफँै व्यवस्थापन गर्दैछ भने टेलिकमको पोल भए टेलिकमले नै व्यवस्थापन गरिरहेको छ । “अव्यवस्थित पोल काटेर हटाउँदा सडक केही फराकिलो बनेको छ”, नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले भन्नुभयो, “बजार अनुगमन र व्यवस्थापनका लागि विशेष कार्यविधि र कार्यक्रममार्फत नियमित गरिने छ ।”

आगामी पुसमा हुने नगर परिषद्मा कार्यविधि बनेर कार्यान्वयनमा आउने उहाँले जानकारी दिनुभयो । बागलुङ बजारमा फुटपाथ छैन । साँघुरो सडक, दायाँबायाँ सवारी साधन रोकिदिने र निर्माण सामग्रीसमेत जथाभावी राखिदिँदा पैदलयात्रीले पनि सास्ती खेपेका छन् भने दुर्घटनाको जोखिम बढेको छ ।