काठमाडौं । समकालीन नेपाली आधुनिक गीत, संगीतको कुरा आउनासाथ जनस्तरबाटै घोषणा गरिएको स्वर सम्राटको उपाधि प्राप्त नारायणगोपालको नाम आइहाल्छ ।
पञ्चायतकालमा संगीत र गायनको शिखरमा पुगेका नारायणगोपालको उचाई २०४६ सालको राजनीतिक परिवर्तनपछि अझ माथि पुगेको थियो । तर स्वर सम्राट यी होनाहार व्यक्तिको २०४७ साल मंसिर १९ गते ५१ वर्षकै उमेरमा निधन भयो । राष्ट्रले एक महान व्यक्ति गुमायो । गीत संगीतको क्षेत्र टुहुरो बनाएर विदा हुने तिनै स्वर सम्राटका बारेमा हरेक वर्ष मंसिर १९ गते विवेचना हुने गर्दछ, स्मरण गरिन्छ, पुरस्कारहरु वितरण गरिन्छ र उनीसँग उठबस गरेका व्यक्तिका स्मरणहरु नयाँ पुस्तालाई सुनाइन्छ ।
नारायण दाइसँग निकै निकट रहेका तिनै व्यक्तिमध्येका एक हुन् साहित्यकार नरेन्द्रराज प्रसाईं । उनले नारायण दाइलाई कस्तो पाए ? उनका निजी अनुभवहरु यहाँ प्रस्तुत गरिएको छ ।
राजदरबारसँग “लभ–हेट”को सम्बन्ध
नारायण गोपाललाई बचाउन मन, वचन र कर्मबाटै रानी ऐश्वर्य सारै नै लागिपरेकी पनि थिइन् । रानी ऐश्वर्यले उनलाई निको पार्न आफ्नै निजी खर्चमा थाइल्यान्ड पनि पठाएकी थिइन् । नारायण दाइले रानीको गीत गाउदा रानी मक्ख नै परेकी पनि थिइन् । तर दुर्भाग्य नै भन्नुपर्यो रानीसँग नारायण दाइको भेट या सम्पर्कै भएन । यस बेहोराले म पनि खिन्न थिएँ ।
नारायणगोपाल मेरो घरमा आइरहन्थे । एक सय रुपैंया बोक् भन्थे । ४५ रुपैयाँमा भोड्का पाइन्थ्यो सानो खालको । म त्यो किनिदिन्थे । न्यूरोडमा चौतारी रेस्टुराँ थियो, त्यहाँ २० रुपैयाँ प्लेट मःम पाइन्थ्यो । मःम खान्थ्यौं । म रक्सी खान्नथें । एक बिर्को खाउ भन्थे । म त्यो खाइदिन्थें । उनले मोटरसाइकलमा राखेर मलाई घरमा छाडिदिन्थे । उनको कलेजी रंगको सिजी होन्डा मोटर साइकल थियो, त्यतिखेर मापसे लाग्दैनथ्यो । उनी मलाई घरमा छाडेर आफ्नो घरतिर जान्थे ।
२०४४ सालको कुरा हो नारायणगोपालले चाँदनी शाहको शब्द र दीपक जङ्गमको सङ्गीतमा ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा’ गीत गाइसकेका थिए ।
नारायणगोपालले ‘एउटा मान्छेको मायाले’ गीत गाएपछि रानी ऐश्वर्य (चाँदनी शाह) लाई भेट्न खोजे । नारायण दाइले खुरन्धार गरेपछि मैले उनलाई श्री ५ का प्रमुख स्वकीय सचिव मीरसुब्बा गेहेन्द्रमान सिंहका घर त्रिपुरेश्वर पुर्याएको थिएँ । सिंह चाहिं राजदरबारमा खास गरेर रानीको विभाग अन्तर्गत काम गर्थे ।नारायण दाइका कुरा सुनेपछि गेहेन्द्रमान सिंहले उत्तर दिएका थिए ‘बडामहारानी सरकारले पुरूषलाई भेटिबक्सदैन ।’
प्रमुख स्व.सचिव सिंहका कुरा सुनेर म पानी पानी भएँ । अनि सचिवका घर बाहिर निस्केपछि नारायण दाइले मलाई कट्केर भने ‘अब ज्यान गए पनि म तिम्री रानीको गीत गाउने छैनस बुझ्यौ ?’
पेमलासँगको भेट
पेमलासँग दार्जिलिङमा भेट भएको हो नारायणगोपालको । त्यहाँ ईश्वरबल्लभ, नगेन्द्र थापा र गोपाल योन्जनले पेमलासँग भेट गराइदिएका हुन् । उनी केटीप्रेमी थिए । मसँग पनि केटीका कुरा गरिरहन्थे । पेमला र नारायण दाइको प्रेम र विवाहका बारेमा अनेक प्रसंग सार्वजनिक भइसकेका छन् ।
तीन घमण्डी
मैले एक पटक देशान्तर साप्ताहिकमा नेपालका तीन घमण्डी भनेर लेख नै लेखेको थिएँ । पहिलो नारायणगोपाल, दोस्रो डिल्लीरमण रेग्मी र तेस्रो तारानाथ शर्मा । डिल्लीरमण साँच्चिकै घमण्डी, तारानाथ शर्माचाहिँ बेहोरा नभएको घमण्डी र नारायणगोपाल चाहिँ देख्दाखेरीको घमण्डी । नारायणगोपाल पाँच मिनेट बोलेपछि लल्याकलुलुक हुन्थे । उनको घमण्ड फिक्का हुन्थ्यो, उनी पुरानै रुपरंग र शैलीमा आइसक्थे ।
प्रकृति प्रेमी
उनी साँच्चिकै प्रकृति प्रेमी थिए । उनी भनिरहन्थे, “सबैले प्रेमका गीत गाए, गीत लेखे ।” उनी प्रकृतिसँग सम्बन्धित गीत लेख्न मलाई हौस्याइरहन्थे, भनिरहन्थे । दुर्भाग्य, उनले यस्ता गीत गाउन पाएनन् । मैले एकपटक बुलु मुकारुङको संगीतमा नारायणगोपालको स्वरमा गीत गाउने प्रबन्ध मिलाएँ, नारायणगोपालले बुलुको गीतमा ट्युन पनि भरे, तर अन्तिममा के भयो उनले पटक्कै मानेनन्, गाउनै चाहेनन् । पछि मैले त्यो गीत जुजुकाजीलाई दिएँ । यस बारेमा शम्भु राइले थाहा पाएका थिए, उनले धेरै पटक त्यो गीतको ट्युन मागे, तर दिएनन् ।
रक्सी, अनि रक्सी
नारायणगोपाल रक्सी अधिक खान्थे । रक्सीका बारेमा त उनीसँग जोडिएका अनेक किस्सा, किंवदन्ती नै छन् । हो, उनी बिहानैदेखि रक्सी खाएर बस्थे । साथीहरु बिहानै भेट्न आउँथे, साथीहरुलाई चिया खुवाउन पेमलालाई भन्थे, तर उनी झर्किन्थिन् । आफू रक्सी खाने, साथीहरुलाई चिया खुवाउन भनिरहने गर्दा पेमला रिसाउनु, झर्कोफर्को गर्नु पनि स्वाभाविकै थियो । पेमला भाउजुसँग कचकच र घरझगडा झैं देखिन्थ्यो, तर नारायणगोपाल पेमलालाई फकाई रहन्थे, नरिसाउ भनिरहन्थे । कस्तो स्वभाव भने, नखाई उनी हारमोनियम नै छुँदैनथे । हारमोनियम छुनु पर्दा रक्सी खाएकै हुन्थ्यो ।
नारायणगोपालका बारेमा प्रायः सही र साँचो कुरा बाहिर आएकै छैन । युट्युबमा यसो भने उसो भने भनेर आउँछ, प्रायः त्यो मिलेको छैन, त्यो नहेरे पनि हुन्छ । त्यो हेरेर धारणा बनाउनु पनि ठीक होइन । किनभने नारायणगोपालसँग निकै सम्पर्क भएको व्यक्ति म पनि हुँ, मेरोमा उनी बारम्बार आउँथे, म पनि बारम्बार उनको घर जान्थे । उनकोमा काम गर्ने एक जना भाइ थिए काशीराम, उनी मलाई स्वागत गर्न घरबाहिरैसम्म आउँथे । नारायणगोपाल त्यति माया, सम्मान गर्थे मलाई ।
नारायणगोपाललाई अति सहयोग गर्ने अर्को व्यक्ति वसन्त चौधरी हुन् । राजधानीमा नारायणगोपाल साँझ पनि वसन्तकुमार चौधरीकै सक्रियतामा प्रा.डा. विश्वम्भर प्याकुरेल र चौधरीले नै गरेका थिए । त्यही एउटा कार्यक्रम नारायण दाइकै जीवनको स्वर्णिम उपलब्धि बन्न सक्यो ।धनी भएर, ठूलो भएर भनेको होइन, राम्रो मान्छेको जयजयकार गर्नुपर्छ भन्ने मेरो सोचाई हो । वसन्त चौधरीकै कारण नारायणगोपाल अलि बढी समय बाँचेका हुन् । वसन्त व्यापारी हुन् तर उनी विशुद्ध साहित्यिक स्रष्टा हुन् ।
मन परेका गीत
म गीत लेख्दिनँ, तिमीहरु लेख भन्थे । उनी गीतको प्लट दिन्थे, घरमा आएका सबैलाई प्लट सुनाउँथे । उनलाई सबैभन्दा मनपर्ने गीतकारमा नगेन्द्र थापा ईश्वरवल्लभ र कालीप्रसाद रिजाल थिए । उनलाई हरिभक्त कटुवालका गीत औधि मन पर्थे । ईश्वरबल्लभलाई उनी अति मान्थे ।
आर्थिक प्रसंग
आर्थिक मामिलामा उनी असाध्यै स्वाभिमानी स्वभावका थिए । जतिसुकै अभाव भएपनि अविचलित उनी कसैसँग त्यतिकै माग्दैनथे । हो, कसैले सम्मानपूर्वक दिए त्यसलाई ग्रहण गर्थे । राम्रो गाइस् भनेर कसैले बक्सिसस्वरुप पैसा दिए हत्तपत्त लिँदैनथे । एकपटक मैले रानी ऐश्वर्यको गीत राम्रो गाउनुभो भनेर खुशी हुँदै केही रकम उनको गोजीमा राखिदिएँ, तर उनले आफूले त्यो रकम नलिने बरु च्यातिदिने भन्दै लैजान भने । पैसा लिए ज्यामी होइन्छ भन्ने धारणा थियो उनमा । उनी त्यस्तो बन्न, हुन चाहँदैनथे, आफूलाई समाजमा सम्मानित, प्रतिष्ठित रुपमा उभ्याउन, प्रस्तुत गराउन चाहन्थे । एकपटक उनले तत्कालीन राजा वीरेन्द्रकै निर्देशनबाट ललितकला क्याम्पसमा पढाउने मौका पाए । सांस्कृतिक संस्थानमा महाप्रबन्धक पनि भए । तर यी जागीर धेरै टिकेनन् । सायद, छिटो खुशी हुने, छिटो रिसाउने स्वभावकै कारण उनी अस्थिर भइरहे ।
पछि अर्को पटक सांस्कृतिक संस्थ्थाहरुमा महाप्रबन्धक हुने चाहना नारायणगोपालले राखे । मैले मोटरसाइकलमा हालेर उनलाई त्यतिबेलाका संचार मन्त्री रुद्रप्रसाद गिरीकामा पनि लगें, निकै पटक धाएँ, तर केही लागेन । नियुक्ती भएन, मेरो पनि बोली त्यति बिकेन । म राजारानीको नजिक छु भन्ने उनलाई थाहा थियो । प्राज्ञ हुने पनि उनको इच्छा थियो । मलाई पछुतो लागेको कुरा के भने उनलाई राज्यले वा राजारानीले त्यति नजिक हुँदा पनि जति दिनु पर्ने थियो, त्यति दिएनन् ।दरबारले नारायणलाई चिनेन ।
रानी ऐश्वर्यसँग जोडिएका हल्ला
“एउटा मान्छेको मायाले कति फरक पार्दछ” भन्ने गीत जति सुमधुर, कर्णप्रिय छ त्यतिकै यो विवादको घेरामा पनि आएको छ । तर मैले बुझेसम्म विवाद गर्नुको कुनै तुक छैन किनभने मेरो जानकारीमा आएसम्म, मैले बुझेसम्म नारायणगोपालसँग रानी ऐश्वर्यको कहिल्यै एकल दर्शनभेट भएन । पछि बहुदल आएपछि मेरो पनि दरबारसँग बिछोड भयो, सम्पर्क नभएपछि कुरा पु–याउन सकिएन । तर उनको भित्री इच्छा राजारानीले बुझेनन् ।
मैले एक पटक रानी ऐश्वर्यको अर्को एउटा गीत गाउनु परो भनेर अनुरोध पनि गरें । उनले रानीसँग नभेटी गाउँदिन भने । कुरा पु–याउने मान्छे भएनन्, उनले भेट्ने कुरा पनि आएन । जुन बजारमा हल्ला छ नि त्यो हल्ला मात्र हो ।
अधुरै रह्यो संगीत महाविद्यालय
अम्बर गुरुङ र नारायणगोपालको ठूलो चाहना नेपालमा राम्रो खालको संगीत महाविद्यालय खोल्ने थियो । तर दुबैको आर्थिक अवस्था राम्रो थिएन । त्यो समयमा गीत गाएर कति पो आर्जन हुन्थ्यो र ? जागीरको तलबले के नै हुन्थ्यो र ? भाउजु पेमलाले पनि निकै कडाइ गर्नु हुन्थ्यो । नारायण दाइको रक्सी खाने बानीले उनी आजित थिइन् जुन स्वाभाविक थियो ।
खाली हात बस्दैनथे नारायणगोपाल
हरेक बिहान उनी ट्युन बनाइरहन्थे, निकालीरहन्थे । कसैले गीत ल्याए ट्युन मिलाइदिहाल्थे । रक्सी जति खाए पनि खाली हात बस्दैनथे । बिहान–बेलुका संगीत र गायनको रियाज गरिरहन्थे । उनी मान्छेलाई बेलुकाभन्दा बिहान भेट्ने गर्थे । एक पटक प्रज्ञामा राजाले प्राज्ञहरु नियुक्त गरेको विषयमा नारायणगोपालले विरोध जनाए । मैले नारायणगोपाल राजावादी भएर पनि राजाले गरेका नियुक्तीमा किन विरोध गरेको होला भनेर म रिसाएँ । त्यस विषयमा हामीबीच मनमुटाब भयो, तर पछि जुजुकाजी, बुलु मुकारुङहरुले मलाई फकाएर नारायणगोपालकोमा लगे ।
छोराछोरी कति भए ?
नारायण दाइलाई पहिलो पटक भेट्दा मैले दाइ छोराछोरी कति छन् भनेर सोधें । उनले फ्याट्ट एउटा छोरो थियो, म–यो भाइ भने । उनलाई छोराछोरीको चाहना रहेछ भन्ने मलाई लागेको थियो ।
संक्षिप्त जीवनी
कालजयी गीतका सर्जक तथा जादूमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाण्डौमा भएको थियो । उहाँको विक्रम सम्वत २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो ।