• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

कतार विश्वकपः यस्तो छ आज हुने सम्पूर्ण खेलको लेखाजोखा



एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बुधबार ४ खेल हुँदैछन् । समूह ‘डी’ र समूह ‘सी’का टिमले आज अन्तिम खेल खेल्न लागेका हुन् । समूह ‘डी’को पहिलो खेलमा अष्ट्रेलिया र डेनमार्कबीच भिडन्त हुँदैछ भने ट्युनिसियाको टोलीले फ्रान्ससँग खेल्नेछ ।

यसपछि समूह ‘सी’ मा अर्जेन्टिनाले पोल्याण्डको सामना गर्नेछ भने साउदी अरेबियाले मेक्सिकोसँग खेल्नेछ । अष्ट्रेलिया र डेनमार्कबीच तथा ट्युनिसिया र फ्रान्सबीचको खेल नेपाली समयानुसार ८ः४५ बजे सुरु हुनेछ । यस्तै, अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरेबिया र मेक्सिकोबीचको खेल मध्यरात ००ः४५ बजे सुरु हुनेछ ।

अष्ट्रेलियाको नजर अन्तिम १६ मा
अष्ट्रेलियाको टोली डेनमार्कविरुद्धको खेल जितेर अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्न चाहन्छ । फ्रान्ससँग ४–१ गोलले हार बेहोरेको अष्ट्रेलियाले ट्युनिसियाविरुद्ध भने १–० गोलको साँघुरो जित निकालेको थियो । डेनमार्कलाई हराएर अष्ट्रेलिया सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्न चाहन्छ ।

यता, फ्रान्ससँग २–१ गोलले पराजित भएको डेनमार्कले ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो । डेनमार्क पनि अष्ट्रेलियालाई हराएर नकआउटमा पुग्ने प्रयास गर्नेछ ।

अपराजित रहँदै नकआउटमा पुग्ने फ्रान्सको दाउ
यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको फ्रान्सले फिफा विश्वकपमा समूह ‘डी’ को खेलमा आज ट्युनिसियासँग खेल्दैछ । फ्रान्सले ट्युनिसियालाई हल्का रूपमा लिन चाहँदैन । किनभने फ्रान्स आफ्नो जितको सिलसिला जारी राख्न चाहन्छर समूहको शीर्ष स्थानमा रहने लक्ष्यमा हुनेछ ।

फ्रान्सले अघिल्लो खेलमा अष्ट्रेलियालाई ४–१ र डेनमार्कलाई २–१ ले हराएर अन्तिम १६ को टिकट काटेको थियो । अर्कोतर्फ ट्युनिसियाको टोली समूहको पुछारमा चौथो स्थानमा छ । टोलीले एक खेल पनि जित्न सकेको छैन र पहिलो जितको प्रतिक्षामा छ ।

मेसी प्रेरित अर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने लक्ष्य
फिफा विश्वकपको समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले आज पोल्याण्डको सामना गर्दैछ । सबैको नजर फेरि एकपटक सुपरस्टार फरवार्ड लियोनल मेसीमा हुनेछ जसले मेक्सिकोविरुद्ध अर्जेन्टिनालाई २–० गोलको जित दिलाए । उनले मेक्सिकोविरुद्ध गोल गर्नुका साथै एन्जो फर्नान्डेजलाई असिस्ट पनि गरेका थिए ।

पोल्याण्डलाई हराएसँगै अर्जेन्टिना अन्तिम १६ मा पुग्ने पक्का छ । टोलीले मेसीबाट उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गर्नेछ । यसबाहेक मेसीको अगाडि पोल्याण्डका कप्तान रोबर्ट लेवान्डोस्की हुनेछन् र दुवै स्टार फरवार्डले आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन् ।

दुवैले आ–आफ्नो टोलीलाई विजयी बनाउन कुनै कसर बाँकी राख्नेछैनन् । समूह ‘सी’ मा अर्जेन्टिनाको अर्को चरणमा पुग्ने सम्भावना धेरै छ । अर्जेन्टिना पराजित भए पनि नकआउटको दौडमा रहन सक्छ । बराबरी भएको खण्डमा अर्जेन्टिना या त पोल्याण्डलाई पछि पार्नेछ वा साउदी अरेबिया र मेक्सिकोले उसलाई घर पठाउनेछ ।

अर्कोतर्फ पोल्याण्डले लेवान्डोस्कीबाट राम्रो प्रदर्शनको आशा गर्नेछ । ३४ वर्षीय लेवान्डोस्कीले साउदी अरेबियाविरुद्धको खेलमा गोल गरेका थिए । पोल्याण्डसँग सन् १९८६ पछि नकआउटमा पुग्ने अवसर रहेको छ ।

साउदी अरेबियालाई पनि नकआउट पुग्ने मौका
अर्जेन्टिनालाई हराएर उच्च मनोबल बोकेको साउदी अरेबियालाई पनि समूहको अन्तिम खेल जितेर नकआउट पुग्ने अवसर छ । साउदीले पोल्याण्डसँगको दोस्रो खेलमा हार बेहोरेको थियो । उसले दुई खेलमा तीन अंक जोडेको छ ।

यदि साउदीले आफ्नो अन्तिम खेल जित्यो भने नकआउट चरणमा पुग्नेछ । यस्तो अवस्थामा अर्जेन्टिना र पोल्याण्डको विजेता टोली अर्को चरणमा पुग्नेछन् । अर्कोतर्फ साउदी अरेबियाले खेल गुमाएको खण्डमा भने समूहका बाँकी तीन टोलीका लागि नकआउटको ढोका खुला हुनेछ ।

मेक्सिकोले यस विश्वकपमा कुनै पनि खेल जित्न सकेको छैन । यस्तो अवस्थामा साउदी अरेबिया मेक्सिकोलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ ।