• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद ★   सरकारले सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने ★   सन्दिप प्रकरण: आफू बिरुद्ध ‘नियोजित षडयन्त्र गर्नेलाई’ कानूनी दायरामा ल्याउने पारस खड्काको चेतावनी ★   लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान ★   कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह ★   पितापुर्खाको सीप पछ्याउँदै मह सिकार ★   संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या आयोः मन्त्री लेखी ★   भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन ★   पाठेघरको अप्रेशनका क्रममा सिकारु डाक्टरले लापरबाही गरी दुवै पिसाब नली काटिदिएको पीडितको आरोप ★   गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी



मुस्ताङ । मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ ।

मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो रु एक सय २० देखि ३० भएको छ । सरदर प्रतिकिलो रु एक सय १० का दरले स्याउ बिक्री भएको कृषकले बताएका छन् ।

जसअनुसार निकासी भएको स्याउको मूल्य रु ५० करोड ८२ लाख हुन आउँछ । कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षको तुलनामा यसपालि १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको बताए ।

“बगैँचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो”, उनले भने, “अनुकूल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ बिरुवा थपिएकाले उत्पादन बढेको हो ।”

कुल पाँच सय ८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटले उत्पादन दिएको छ । मुस्ताङको पाँचवटै स्थानीय तहमा एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउखेती गरिएको छ । क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११.३७ मेट्रिक टन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताए ।

यसैगरी मुस्ताङमा कुल स्याउ उत्पादनमध्ये यस वर्ष चार सय ४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ । मुस्ताङमा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको छ । जसमध्ये २२ हेक्टरका बगैँचाले उत्पादन दिइरहेका छन् ।

यो स्याउ प्रतिहेक्टरमा लगाइएको बोटमा करिब २० टनसम्म उत्पादन हुने गरेको छ । नयाँ स्याउ बगैँचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, किसानले बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकूल मौसम भएकाले उत्पादनमा राम्रो भएको केन्द्रले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत नेत्र भट्टले बेमौसममा बिक्री गर्नका लागि मुस्ताङका विभिन्न छवटा चिस्यान गृहमा करिब ७० मेट्रिक टन स्याउ भण्डारण गरेर राखिएको बताउनुभयो । फागुन–चैतको बेसिजनमा शीतभण्डारको स्याउ बजारमा पठाउँदा बढी मूल्य पार्न सकिने भएकाले भण्डारण गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ जोन कार्यक्रमअन्तर्गत एक सय २५ वटा सहकारी÷समूह÷निजी फार्मका कार्यक्रम सञ्चालित छन् । कृषि केन्द्रले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । मुस्ताङमा फलेकामध्ये ७० प्रतिशत स्याउ बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ । बर्सेनि व्यापारी स्याउ नपाक्दै खरिदका लागि आउने गर्छन् । भदौ महिनामा बैनापट्ट गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न आउँछन् ।

समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर अग्लो उचाइभन्दा माथि स्याउखेती गरिन्छ । मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुने गर्छ । मुस्ताङका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसिएस, रोयल डेलिसिएस, रिचारेड डेलिसिएस र गोल्डेन डेलिसिएस जातका स्याउखेती भएको छ ।

उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ । मुस्ताङ घुम्न जाने पर्यटक, तिर्थयात्रीले स्याउ कोशेलीका रूपमा लैजान्छन् ।

साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई कृषकले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन् । स्याउ प्रशोधन गरेर मदिरा बनाउने छवटा उद्योग छन् ।