काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदिप गिरीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनु भएको छ । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा उहाँले यो गठबन्धन सरकार पनि असफल भए मुलुकमा व्यवस्था असफल भई कहाली लाग्दो अवस्था आउनेतर्फ सचेत गराउनु भयो । “यस पटक यो सरकार असफल भयो भने शेरबहादुरजी मात्रै असफल हुनुहुन्न । यस पटक सरकार असफल भयो भने संविधान असफल हुन्छ । संविधान असफल भएर मात्रै केही हुन्न । तर व्यवस्था असफल भयो भने सोच्दा मात्रै पनि कहाली लाग्दछ ।”
नेता गिरीले प्रधानमन्त्री देउवालाई आम जनताले चाहेको मन्त्रीपरिषद् बिस्तार गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री गिरिराज मणी पोखरेलले सरकार सञ्चालनका लागि संयुक्त संयन्त्र बनाएर जानुपर्ने बताउनुभयो । प्रतिनिधिसभाको विशेष समयमा पोखरेलले सत्ता गठबन्धनका तर्फबाट साझा कार्यक्रम र आचारसंहिता बनाए जानुपर्ने बताउनुभएको हो । उहाँले अहिले वाम प्रजातन्त्रको एकताको माहोल बनेको बताउँदै यसलाई अझै व्यवस्थित गरेर अघि बढ्नुपर्ने बताउनुभयो । यो सरकारलाई धेरै चुनौति र जिम्मेवारी रहेको बताउँदै उहाँले कोभिड १९ को बारेमा अन्य समसामयिक छलफलको आवश्यक्ता रहेको औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “एउटा न्यूनतम कार्यक्रम, न्यूनतम साझा आचारसंहिता र सरकार सञ्चालनका लागि एउटा संयुक्त संयन्त्र निर्माण गरेर चाँडो भन्दा चाँडो अगाडी बढौँ, यतिखेर वाम प्रजातान्त्रिक एकताको महोल बनेका छ, यसलाई अझै व्यवस्थित गरौँ, २०७२ को संविधान लगत्तै हामीले अवलम्बन गर्नुपर्ने बाटो थियो, त्यसमा कतै कमीहरु भए, नयाँ परिस्थिती आएको छ, फेरि एकपटक त्यसलाई व्यवस्थित गरेर लैजानुपर्ने आवश्यक्ता छ, यो क्षेत्रमा पनि पर्याप्त बहस होस् ।”
उहाँले नेपालमा यसवर्ष देखिएको बाढी पहिरो सामान्य किसिमको नभएको बताउनुभयो । सरकारलाई पहिल्यै यसवर्ष धेरै वर्षा हुने जानकारी भएपनि कुनै पनि क्रियाकलाप प्राकृतिक प्रकोपबाट बच्ने र क्षति कम गर्ने तर्फ उन्मुख नभएको उहाँले बताउनुभयो । उहाँले भएका नीति नियमको पूर्ण पालना नहुँदा पनि अत्याधिक क्षति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा यस वर्ष देखिएको बाढी पहिरो सामान्य प्रकारको पक्कै होइन, यस वर्षको मनसुनमा सामान्य वर्षा भन्दा धेरै पानी पर्छ भन्ने अनुमान सरकारी निकायले गरिसकेको थियो, तर यति विकराल भयो कि, हामी कल्पना पनि गर्न सक्दैनौँ, हाम्रा कुनै पनि क्रियाकलाप त्यसबाट बच्ने र क्षति कम गर्ने तर्फ उन्मुख थिएनन्, भएका नीति नियमको पनि पूर्ण पालना नहुँदा विपद्को क्षति अत्याधिक बढेको स्पष्ट देखिन्छ ।”
उहाँले विकास निर्माणका कार्यहरु कम मूल्यमा बन्नुपर्ने भएकोले जोखिम भएको क्षेत्रमा बन्ने गरेको उल्लेख गर्नुभयो ।











