१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा ‘सिजनल फ्लु’ का बिरामी बढे



साकंतिक तस्बिर
अ+ अ-

चितवन । जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।
 
कार्यालयका अनुसार सन् २००९ देखि नेपालका विभिन्न भूभागमा समस्या देखिँदै आएको छ । विशेषगरी बच्चादेखि वृद्धसम्म यो समस्या देखिने गरेको छ । फ्लुको जोखिममा बालबालिका, गर्भवती र वृद्धवृद्धा बढी पर्ने गरेको कार्यालयका प्रमुख दीपक तिवारीले बताउनुभयो । उहाँका अनुसार सिजनल फ्लुमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, खाना नरुच्ने, वाकवाकी लाग्ने वा बान्ता हुने, बच्चाहरुलाई झाडासमेत हुने जस्ता समस्या देखिने गर्दछन् ।
 
एक व्यक्तिबाट अर्को व्यक्तिमा विशेषगरी हावाको माध्यमबाट सर्ने यस रोगका विषाणुहरु सामान्य रुघाखोकी जस्तै फैलने उहाँले जानकारी दिनुभयो । बिरामीले कुरा गर्दा, खोक्दा, हाच्छिउँ गर्दा विषाणुयुक्त साना साना पानीका कणहरु वातावरणमा फैलने र सोही माध्यमबाट अरूलाई सर्ने गर्दछ । यो रोग हात, मुख, नाक र आँखाको संसर्गबाट सर्ने हुँदा सबैलाई सजग रहन कार्यालयले अनुरोध गरेको छ । यस्तो समस्या देखिए तत्काल नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा सम्पर्क गरी चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न उहाँले आग्रह गर्नुभयो ।
 
सिजनल फ्लुबाट बच्न खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने, साबुन पानीले हात मिचीमिची धुने, सार्वजनिक स्थानमा जाँदा वा परिवारको स्याहार गर्दा मास्कको प्रयोग गर्ने, पोषिलो झोलपदार्थ र पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्ने कार्यालयले जनाएको छ ।
 
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार सिजनल फ्लुसँगै फेरि कोरोनाको खतरा बढ्न थालेको छ । अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तहरुलाई ज्वरो आएर आउनेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्वरोका कारण परिवार नै सोतर छ, खोकी लागेको छ भन्नेको फोन र म्यासेज आउन थालेको छ ।” अस्पताल आउने बिरामीहरु शय्या खाली नभएर भौँतारिएको उहाँले जानकारी दिनुभयो । अहिले अस्पतालको बहिरङ्ग सेवामा बिरामीको चाप बढ्दै गएको उहाँको भनाइ छ । रासस