९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने

नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने
(तस्बिरः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल/रासस)
अ अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा नयाँदिल्ली उडान गर्ने भएको हो ।

भैरहवा–नयाँदिल्ली गन्तव्यमा साताको चार उडान सञ्चालनको तयारी भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने गरी उडान तालिका स्वीकृतिका लागि प्राधिकरणसमक्ष पेश गरिएको छ ।

निगमको न्यारोबडी ए ३२० जहाजले काठमाडौँदेखि नयाँदिल्ली भएर भैरहवा गन्तव्यमा उडान भर्नेछ । जसअनुरुप नेपाल एयरलाइन्स काठमाडौँबाट दिल्ली पुगेर भैरहवा फर्किनेछ ।

भैरहवामा यात्रु ओरालेपछि जहाज काठमाडौँ फर्किनेछ । काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा एक घण्टा १५ मिनेटको उडान हुनेछ भने दिल्लीबाट भैरहवामा एक घण्टाको उडान हुनेछ ।

नेपाल एयरलाइन्सलाई भैरहवाबाट दिल्ली उडानका लागि अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

“नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्ली भैरहवा उडान अनुमतिका लागि कागजात पेश गरेको थियो, प्राधिकरणले उडान तालिकाका लागि काठमाडौँ विमानस्थललाई पठाएको छ । भैरहवाबाट उडान गर्ने भएकाले अनुमति दिइएको हो”, उहाँले भन्नुभयो ।

नेपाल एयरलाइन्सले यसअघि काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा दैनिक दुई उडान गर्दै आएको थियो । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि निगमको दिल्ली नेपाल एयरलाइन्सको दिल्ली उडान कटौती भइ सातामा १० उडानमा सीमित गरिएको थियो । जसका कारण हिमालय एयरलाइन्सले कात्तिक १७ देखि गौतमबुद्ध विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको थियो ।

नेपाल एयरलाइन्सको जहाज दिल्ली पुगेर भैरहवा हुँदै काठमाडौँ फर्कदा भैरहवाबाट रित्तै काठमाडौँ आउनुपर्ने हुन्छ । भैरहवाबाट पनि काठमाडौँ यात्रु ल्याउनका लागि के कसरी गर्ने भन्नेबारे छलफल भइरहेको प्रवक्ता खड्काले बताउनुभयो ।

“भैरहवाबाट पनि यात्रु लिएर काठमाडौँ ल्याउने कि भन्नेबारे छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “भैरहवाबाट काठमाडौँ आउने यात्रु आन्तरिक यात्रु हुने भएकाले उनीहरुलाई अध्यागमन, भन्सारलगायत प्रक्रिया पूरा गर्नु नपर्ने गरी ल्याउने विषयमा छलफल भइरहेको छ ।”

नेपाल एयरलाइन्सले भारतको मुम्बाईमा साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार तथा बैङ्लोरमा साताको तीन दिन शनिबार, मङ्गलबार र बिहीबार उडान गर्दै आएको छ ।

नेपाल एयरलाइन्सले भारतका तीन गन्तव्यसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज छन् ।

विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल कुवेतको जजिरा एयरलाइन्सले सातामा तीनवटा उडान गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेशी कम्पनीले कम्तीमा पनि एउटा अन्तर्राष्ट्रिय उडान गर्दै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न नियामक निकायले बाध्यकारी व्यवस्था गरेको थियो । प्राधिकरणले नेपालका दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न लिखितरूपमा आग्रह गरिसकेको छ ।