२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जयसिंह धामीले न्याय पाउनुपर्छ, सरकार मौन बस्छ भने सशक्त प्रतिवादमा उत्रनेछौंः सांसद गिरी



अ+ अ-

काठमाडौं । नेकपा एमाले युवानेता तथा प्रतिनिधिसभा सदस्य पदम गिरीले महाकाली घटनाको सत्यतथ्य छानवीन गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले भारतीय एसएसबीले तुइन काटिदिँदा बेपत्ता भएका जयसिंह धामीले न्याय पाउनुपर्ने बताउनुभएको हो । 

उहाँले भन्नुभयो, "महाकाली नदीमा भारतीय एसएसबीको ज्यादतीको कारण जयसिंह धामीको दुखद निधन भएको हामी सबैले अनुमान गर्न सक्छौं । एसएसबीको ज्यादतीको घोर निन्दा गर्न चाहन्छु, भत्सर्ना गर्न चाहन्छु । यो सबैले दुनियाँले देखेको छ, त्यहाँको तुइन चालकले पनि भनिरहेको छ, त्यहाँ दुइजना एसएसबीका जवानहरुले तुइन काटिएपछि जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका हुन् । तर नेपाल सरकारले भन्दैछ अध्ययन गर्दैछौं भनेर, तर घटनास्थलमा गएर मुचुल्का लिन तयार छैन । प्रहरी कार्यालयमा स्थानीयलाई बयान दिन आउनुहोस् भनेर घटनालाई ढाकछोप गरेर सड्यन्त्र हुँदैछ ।"

उहाँले अगाडी भन्नुभयो, "मुलुकमा नाकाबन्दी हुँदा नाकाबन्दी हो भन्न नसक्ने त्यो हैसियतको दलको नेतृत्वमा सरकार छ । यो सरकारले छानबीन गरेर सत्यतथ्य बाहिर ल्याउँछ भन्ने लाग्दैन । जयसिंह धामीले न्याय पाउनुपर्छ । यदि यसमा सरकार मौन बस्छ, ढाकछोप गर्छ भने हामी त्यसको सशक्त प्रतिवादमा गर्छौँ ।"