२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाम्लोले बाँधेर युवक कुट्ने जाजरकोटका वडाध्यक्ष नेपाली पक्राउ



अ+ अ-

सुर्खेत । युवालाई बाँधेर निर्घात कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गापा २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट गरेका थिए । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले वडाध्यक्ष नेपालीलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको हो ।

स्थानीय एक युवकले खिचेको भिडियोमा वडाध्यक्ष आफैंले कुटपिट गरिरहेको प्रस्ट देख्न सकिन्छ । वडाध्यक्ष नेपालीले दाम्लोले हातखुट्टा बाँधेर कुटपिट गरेका थिए । भिडियोमा  ‘हल्ला किन गरेको’ भन्दै लुगा च्यातिने गरी वडाध्यक्ष नेपालीसहितका व्यक्तिहरुले कुटपिट गरेको देखिन्थ्यो । 

प्रहरीका अनुसार घटना साउन १५ गते घटेको हो । कुटपिट गरेको भिडियो भने मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यतिबेला भाइरल बनेको हो । प्रत्यक्षदर्शीका अनुसार पीडितले मदिरा खाएर होहल्ला पनि गरेका थिए । मदिरा खाएर हल्ला गरेपनि मुख्य विषय भने रकम अनियमितताको आरोप रहेको बताइएको छ । 

यता वडाध्यक्ष नेपालीले भने आफूले कुटपिट नगरेको दाबी समेत गरेका थिए।