२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै

काकाससुराले मिर्गौला दिन नपाउँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता

काकाससुराले मिर्गौला दिन नपाउँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता
अ अ+ अ-

झापा । दुवै मिर्गौला फेल भएपछि स्वदेशमै प्रत्यारोपणको तयारीमा रहेकी भद्रपुर नगरपालिका–१० की गीता भण्डारीले कानूनी अड्चनका कारण उपचारका लागि भारत जानुपर्ने बाध्यता भएको छ । आठ वर्षअघि मिर्गौलामा समस्या देखा परेर विभिन्न अस्पतालमा उपचार गराउँदै हाल भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा हेमोडाइलासिस सेवा लिइरहनुभएकी भण्डारीको भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छिटोभन्दा छिटो मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको थियो ।

प्रत्यारोपणका लागि उहाँलाई काकाससुरा नेत्रप्रसाद भण्डारीले एउटा मिर्गौला प्रदान गर्ने निधो भएको थियो । बुधबार मिर्गौला दाताको अन्तिम जाँचको नतिजाले ‘प्रत्यारोपण गर्न मिल्छ’ भन्ने रिपोर्टसमेत आएको थियो तर कानूनी अड्चनका कारण काकाससुराले मिर्गौला दान गर्न पाउनुभएन ।

प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण प्रक्रिया अघि बढाउनका लागि बिहीबार कानुनी कागजात बुझाउँदा त्यहाँका कर्मचारीहरुले ‘काका ससुराले मिर्गौला दान दिन पाउने कानूनी व्यवस्था नरहेको’ भन्दै फर्काइदिएको उहाँका पति एवं साहित्यकार देवीचरण भण्डारीले बताउनुभयो । “सासूससुराले मिर्गौला दान गर्न मिल्ने तर काकाससुराले नमिल्ने कस्तो विडम्बना”, साहित्यकार भण्डारीले प्रत्यारोपण केन्द्रको निर्णयले दुःखी भएको बताउँदै रासससँग भन्नुभयो, “हामी छाँगाबाट खसेजस्तो मर्माहत भएका छौँ । बिमारीको उत्साह, मनोबल र जीवन प्रतिको आशा निराशामा परिणत भएको छ । अस्पताल पक्षले बेलैमा यो जानकारी गराएको भए सायद अहिले आएर निराश बन्नु पर्दैनथ्यो । समय, दौडधुप र लगानीको क्षतिपूर्ति कसले दिने ?”

साहित्यकार भण्डारीले मुलुकको प्रत्यारोपणसम्बन्धी २०७२ सालको कानून अव्यावहारिक भएको गुनासो गर्नुभएको छ । प्रत्यारोपणका लागि मिर्गौला दान दिन पाउने नातेदारको दायरा फराकिलो नभएकै कारण आफ्नी पत्नी गीताको स्वदेशमा मिर्गौला प्रत्यारोपण गर्ने सपना पूरा नभएको उहाँले दुःखेसो व्यक्त गर्नुभयो ।  अब काकाससुराले नै मिर्गौला दान दिने गरी भारतको दिल्लीस्थित फोर्टिज अस्पतालमा प्रत्यारोपणका लागि यसै साता जाने तयारी गर्नुपरेको उहाँले जानकारी दिनुभयो । “अप्ठेरा र अव्यावहारिक यस्तै कानूनका कारण धेरै नेपालीले मिर्गौला प्रत्यारोपणका लागि विदेश धाउन बाध्य हुनुपर्दोरहेछ भन्ने बल्ल थाहा पाइयो”, उहाँले गुनासो गर्दै भन्नुभयो, “कानून बनाउने र परिमार्जन गर्ने पक्षको गम्भीर ध्यानाकर्षण होस्, ताकि हामीले जस्तो दुःखसास्ती अरू नेपालीले भविष्यमा भोग्नु नपरोस् ।”

निजामती कर्मचारीसमेत रहेका साहित्यकार भण्डारीले बिहीबार फेसबुकमा यस बारेमा गुनासो सार्वजनिक गरेपछि शुभेच्छुकहरुले नेपालको मिर्गौला प्रत्यारोपणसम्बन्धी कानूनमा दान दिन पाउने नातेदारको दायरा फराकिलो बनाइनुपर्ने सुझाव राखेका छन् । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन–२०५५ अनुसार मिर्गौला ग्रहण गर्ने व्यक्तिले उहाँका नातामा काकाले दान गर्न पाउने उल्लेख भए पनि काकाससुराले दिन पाउने व्यवस्था छैन । काकाले दान गर्न पाउँदा काकाससुराले पनि पाउनु पर्नेगरी कानून फराकिलो र व्यावहारिक हुनुपर्ने उहाँको भनाइ छ । ऐनमा परिवारका सदस्य र नजिकका नातेदारले अङ्ग दान गर्न पाउने व्यवस्था छ । जसअनुसार परिवारका सदस्य भन्नाले पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू र ससुरा उल्लेख छ ।

यसैगरी नजिकको नातेदार भन्दै पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानले मिर्गौला दान गर्न पाउने व्यवस्था छ । ऐनलाई केही खुकुलो बनाउँदै २०७३ सालमा संशोधन गरिएको थियो जसमा नजिकको नातेदार दुई परिवारमा मानव अङ्ग प्रत्यारोपणका लागि सट्टा गर्न पाउने समेत व्यवस्था छ ।

सोही ऐनबमोजिम गत वर्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक नेपालमै मिर्गौला प्रत्यारोपण भएको थियो । उहाँलाई नातामा भान्जी समीक्षा सङ्ग्रौलाले मिर्गौला दान गर्नुभएको थियो । त्यसअघि पहिलोपटक भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदा उहाँकै बुहारी अन्जान घिमिरेले मिर्गौला दान गर्नुभएको थियो ।

नेपालमा वार्षिक तीन हजारभन्दा बढीको मिर्र्गौला खराब हुने गरेको र हाल २८ लाख नेपाली कुनै न कुनै रूपमा मिर्गौलाको रोगी भएको नेपाल मिर्गौला केन्द्रको अनुमान छ । गरिब नेपालीले सिरिखुरी सम्पत्ति बेचेर पनि कानुनी अड्चनका कारण स्वदेशमा उपचार गर्न नपाउनु दुःखद भएको सामाजिक सञ्जालमा टिप्पणी आइरहेका छन् ।