७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

दुनाटपरी बनाएर आत्मनिर्भर बन्दै नवलपरासीका महिला

दुनाटपरी बनाएर आत्मनिर्भर बन्दै नवलपरासीका महिला
अ+ अ-

कावासोती । पूर्वी नवलपरासीको देवचुलीस्थित अमरज्योति सामुदायिक वनले महिला उपभोक्तालाई आत्मनिर्भर बनाउन दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको छ ।

वनजङ्गलमा खेर जाने सालको पातबाट दुनाटपरी बनाएर बजारमा बेच्न सुरु गरेपछि यहाँका महिला हर्षित छन् । सामुदायिक वनले वैकल्पिक आम्दानीको स्रोत पहिचान गर्दै खेर गइरहेको वन पैदावरको सदुपयोग गरी दुना टपरीको उद्योग सञ्चालन गरेको हो ।

यसले विपन्न वर्गका उपभोक्ताको सामान्य घर खर्चको जोहो मात्र नभई पर्यावरणीयरुपमा समेत फाइदा पुगेको छ । वनसँग सम्बन्धित विभिन्न गैरसरकारी सङ्घसंस्था र सामुदायिक वनको सहकार्यमा रु तीन लाख १५ हजारको लागतमा सञ्चालित उद्योगबाट प्रारम्भिक चरणमा एक सय महिलाले रोजगार पाएको अमरज्योति सामुदायिक वनका अध्यक्ष टेकलाल रुचाल मगरले बताउनुभयो ।

परम्परागत नेपाली दुनाटपरीले बजारमा प्लास्टिकका आयातित प्लेटसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । दुनाटपरी जङ्गलमा प्रशस्त पाइने पातबाट बनाइने भएकाले कच्चापदार्थको अभाव हुँदैन । महिलालाई आयआर्जनका लागि दुनाटपरी उद्योग उपयुक्त हुने अध्यक्ष मगरको भनाइ छ ।

“दुनाटपरीको कच्चापदार्थ सबै प्राकृतिक भएकाले प्रयोगपछि फोहर व्यवस्थापन सहज हुन्छ”, मगर भन्नुहुन्छ, “आफ्नै वनपाखामा झरेर खेरजाने पात टिपेर बनाइने भएकाले कच्चापदार्थको समस्या छैन । गाउँघरका महिलाका लागि सजिलो रोजगारी हुन्छ ।” हिन्दू संस्कारमा दुनाटपरी धेरै प्रयोग हुने भएकाले माग पनि कम नहुने मगरको विश्वास लिइएको छ । वातावरणीय दृष्टिले कुरा बुझाउनसक्दा प्रयोग झन् बढ्छ । “आफ्नो पुँजीअनुसार मानिसले सस्तो वस्तु खोज्नु स्वाभाविक भए पनि सालको पातको दुनाटपरी प्रकृति, स्वास्थ्य र संस्कृतिसँग जोडिएकाले माग धेरै छ”, उहाँले भन्नुभयो ।

सामुदायिक वनले १३ जना सदस्य रहेको उपसमिति गठन गरेर दुनाटपरी उत्पादनको काम अगाडि बढाएको अध्यक्ष मगरले बताउनुभयो । वनका उपभोक्ता सदस्यले बनाएर ल्याएको लाफा (आवश्यताअनुसार सिन्काले पात गाँसेर फेरो नउठाइएको चरण) उपसमितिले टपरी एक रुपैयाँ ४० पैसा र दुना ७० पैसामा खरिद गर्ने गरेको मगरले जानकारी दिनुभयो ।

उद्योग चलाउन सामुदायिक वनले गठन गरेको उपसमितिले उपभोक्ताले खरिद गरेर ल्याएको लाफालाई मेसिनबाट दुनाटपरी बनाएर बजारमा पठाउने गरेको छ । तयारी दुनाटपरी बजारमा पुग्दा दुनाको दुई रुपैयाँ ५० पैसा र टपरीको पाँच रुपैयाँ पर्ने गरेको अध्यक्ष मगरले जानकारी दिनुभयो ।

उहाँकाअनुसार एक महिलाले अहिलेको अवस्थामा पाँचदेखि सात सय रुपैयाँसम्मको लाफा उपसमितिलाई बेच्ने गरेका छन् । सामुदायिक वनले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएपछि उपभोक्ता महिला खुसी भएका छन् । दुनाटपरीको लाफा बेचेर सामान्य खर्च चलाउन सहज हुन लागेको वनकी उपभोक्ता बीमा नेपाली बताउनुहुन्छ । “पहिलेपहिले श्रीमान्ले पैसा नपठाउँदासम्म दैनिक खर्च चलाउनै गाह्रो हुन्थ्यो, अहिले दैनिक नूनतेल, बच्चाको कापीकिताब यसैबाट पुग्न लागेको छ”, नेपालीले भन्नुभयो ।

सामुदायिक वनमा स्थापित दुनाटपरी उद्योगले सुरुआती चरणमा माग आएका आधारमा उत्पादन गर्ने गरेको छ । विषेशतः जिल्लाको दलदले, कावासोती तथा छिमेकी जिल्ला चितवनको नारायणघाट बजारका होटल तथा रेष्टुरेन्टबाट माग आउने गरेको अध्यक्ष मगरले बताउनुभयो । “अहिले बजारबाट आएको मागअनुसार उत्पादन गरेका छौँ, अब बजार व्यवस्थापन गरेर उत्पादनलाई नियमित गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो, “पछिल्लो समय धार्मिक कार्यक्रमबाहेक होटल तथा रेष्टुरेन्टबाट माग आउनेक्रम बढेको छ ।”

एक दिन जङ्गल गएर टिपेको पातले तीन/चार दिन लाफा बनाउन सकिन्छ । यसबाट महिलालाई घरव्यवहार चलाउन सहज भएको दुनाटपरी उद्योग सञ्चालनार्थ गठित उपसमितिकी अध्यक्ष टकमाया नेपाली बताउनुहुन्छ । हेर्दा सामान्य लागे पनि दुनाटपरी उद्योगबाट फुर्सदको समय सदुपयोग गरेर दैनिक घरव्यवहार चलाउन पैसा कमाउन सकिन्छ भन्ने यो गतिलो उदाहरण हो ।