२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल बनेसँगैको खुसी



अ+ अ-

गण्डकी । कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ को सेराबेंसी अहिले भने सवारी साधनबाट पाँच/सात मिनेटमा पुग्न सकिन्छ ।

गगनगौँडाबाट सेराबेंसी पुग्न खुदी खोला र गुबे खोला तर्नुपर्ने बाध्यता छ । यिनै दुई खोलामा पुलकै अभावमा राजमार्गबाट नजिक भएर पनि सेराबेंसी विगतमा तनहुँकै दुर्गमस्थल जस्तै बनेको थियो । लामो समयको प्रतिक्षापछि दुवै खोलामा पक्की मोटरेवल पुल बनेसँगै यतिखेर सेराबेंसीका स्थानीय निकै खुसी छन् ।

पुलकै अभावमा विगतमा लामो समयसम्म ओझेलमा परेको सेराबेंसीसहित समग्र थप्रेक क्षेत्रका स्थानीवासीमा पुल बनेसँगै यतिखेर समृद्धि र विकासको आशा जगाएको समाजसेवी एवं हंशबाहिनी मावि एक्लेखेत तनहुँका सहायक प्रधानाध्यापक ठाकुरप्रसाद खनालले बताउनुभयो ।

“गुबे खोला र खुदी खोलामा पुल नबन्दा सेराबेंसी र आसपासको क्षेत्र सम्भावना भएर पनि ओझेलमा परेका थिए”, उहाँले भन्नुभयो, “अहिले भने दुवै खोलामा पुल बनेपछि आवतजावत गर्न निकै सहज भएको छ ।”

पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौँडा र तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नं २ जोड्ने गरी दोभानमा र गुबे खोलामाथि बनेका पुलले यहाँको समृद्धि र विकासको ढोका खोलेको स्थानीय बताउँछन् ।

कृषिजन्य उत्पादनमा अब्बल सेराबेंसी र त्यहाँ हुँदै पुगिने पर्यटकीय स्थान थप्रेकका साथै आसपासका अन्य रमणीय भूभागको समृद्धि र विकासमा पक्की पुलको अभाव मुख्य बाधक बनिरहेको थियो । यस्तो अवस्थामा गण्डकी प्रदेश सरकारको तीन करोड ७५ लाख १२ हजार रुपैयाँ लागतमा पक्की पुल निर्माण सम्पन्न भएको शुक्लागण्डकी नगरपालिका वडा नं १ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै गुवे खोलाको पुल तटबन्धसहित करिब पौने तीन करोडको लागतमा सम्पन्न भएको उहाँले बताउनुभयो । “स्थानीयवासीको लामो समयदेखिको पुलको आशा निष्कर्षमा पुगेको छ”, उहाँले भन्नुभयो, “पुलसँगै अब उक्त मार्गको कालोपत्र गर्ने योजना अघि बढाएका छौँ ।”

उक्त क्षेत्रमा पुल नहुँदा पौडिएर खोला तर्नुपर्ने विवशता २०५२ सालदेखि झोलुङ्गे पुलले अन्त्य गरिदिए पनि पक्की पुलको अभावमा राजमार्गबाट नजिक रहेर पनि सेराबेंसीसहित आसपासको क्षेत्र बत्तिमुनिको अँध्यारो जस्तै बनेको थियो ।

रुपातालबाट बगेर आउने खोला र देउरालीबाट आउने फुस्रे खोला मिसिएर बनेको खुदी खोलामा दुई दशकअघिसम्म झोलुङ्गे पुलसमेत नहुँदा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । लामो समयपछि २०५२ सालमा स्थानीयवासीको सक्रियतामा झोलुङ्गे पुल निर्माण गरिएको तत्कालीन भोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष एवं नवनिर्मित मोटरेवल पुल निर्माण सहजीकरण समितिका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।

उक्त समयमा मानिसको ज्यान बचाउन झोलुङ्गे पुल बहुउपयोगी बनेको बताउँदै उहाँले झोलुङ्गे पुलले हिँडेर आवतजावत गर्न केही सहज भए पनि मोटर गुड्ने पुल नहुँदा पृथ्वी राजमार्गको नजिकै रहेर पनि यो क्षेत्र लामो समयसम्म विकासमा पछि परेको बताउनुभयो ।

पक्की पुलको अभावमा सेराबेंसी र आसपासको क्षेत्र धेरै सम्भावना बोकेर पनि पछि परेको बताउँदै उहाँले यसको निर्माण सम्पन्न हुनुले स्थानीयमा आशा जगाएको उल्लेख गर्नुभयो । पुल निर्माणसँगै स्थानीयवासीको आवतजावत एवं कृषिजन्य उत्पादन बजारमा पु¥याउन सहज भएको छ ।

सेराबेंसी, नयाँगाउँ, थप्रेक, स्याम्घा, सिसाघाट, आरुस्वाहारा, तल्लोपोखरी, काठेपीपल, चोयाबिसौँना, राङ्दी, झुप्राङ, देउराली, दगामलगायत ठाउँका स्थानीयवासी पुल निर्माणसँगै लाभान्वित भएका छन् । यसले थप्रेकमा रहेका गलेखाम कोट, थप्रेकको थुम्का जस्ता पर्यटकीयस्थलको विकास एवं प्रवद्र्धन हुने र सेराबेंसीलगायत उर्वर भूभागका उत्पादनले बजार पाउने अपेक्षा गरिएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरासँग नजिक रहेर पनि पुलको अभावमा तनहुँको सेराबेंसीलगायत स्थानका वासिन्दाले लामो समयदेखि दुःख कष्ट भोग्दै आएको वास्तविकतामा नवनिर्मित पुल यस क्षेत्रका लागि बरदान सावित हुने शुक्ला गण्डकी –१ का वडाध्यक्ष पौडेलले बताउनुभयो ।

विगतमा पटकपटक पुल निर्माण चुनावी मुद्दा बनेपनि यसलाई निष्कर्षमा पु¥याउन पाउँदा निकै खुसी लागेको यसअघि पनि वडाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका पौडेलले बताउनुभयो । “अघिल्लो पटक चुनावी दौरानमा पुल निर्माणको प्रतिबद्धता व्यक्त गरेका थियौँ”, उहाँले भन्नुभयो, “प्रतिबद्धतालाई सबैको साथ र सहयोगमा निष्कर्षमा पु¥याउन पाउँदा खुसी लागेको छ ।”

सहरी क्षेत्रमा बढ्दो बस्ती विकासको क्रमसँगै पुल नहुँदा राजमार्गको नजिकै रहेर पनि विगतमा सेराबेंसीलगायतका स्थान छोडी राजमार्ग आसपासमा बस्न आउने क्रम आगामी दिनमा रोकिने र उक्त क्षेत्रमा बस्ती विकास बढ्ने अपेक्षा गरिएको छ ।

लामेआहालमा निर्माण गर्ने भनिएको बसपार्क बनेका अवस्थामा राजमार्ग क्षेत्रमा सम्भाव्य सवारीसाधनको चापसमेतलाई कम गर्न यहाँ निर्मित पुलबाट रुपाकोट हुँदै पोखरा जोड्न सकिने वैकल्पिक मार्गका रुपमा विकास गर्न सकिने देखिएको छ भने नजिकैको पुडिटारमा बन्ने भनिएको औद्योगिक क्षेत्रका लागि यसले महत्वपूर्ण अर्थ राख्दछ । पुलकै अभावमा पाँच÷सात मिनेटमा नै आवतजावत गर्न सकिने यस ठाउँमा तनहुँको कोत्रे हुँदै गाडीबाट घण्टाभन्दा बढी समय खर्चिनुपर्ने बाध्यता पनि अन्त्य भएको छ । तनहँुको कोत्रे हुँदै थप्रेक जोडिने मार्गलाई २०१८ सालका सहिद लालध्वज गुरुङको सम्मानार्थ लालध्वज मार्ग नामकरण गरिएको थियो ।

त्यस्तै तनहुँको सदरमुकाम दमौलीबाट स्याम्घा हुँदै थप्रेक जोडिने मार्गलाई सिन्धु मार्ग नामकरण गरिएको थियो । पछिल्लो समयमा दमौलीबाट थप्रेक र थप्रेक हुँदै कोत्रेसम्म जोडिने भएकाले यो मार्ग दमौलीबाट पोखराका लागि वैकल्पिक मार्ग बन्न सक्ने पनि देखिन्छ । रासस