२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुदः चुनौती पन्छाउँदै भव्य उद्घाटनसम्म…



अ+ अ-

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशले विसं २०७६ को वैशाखमै पाएको हो । हालको लुम्बिनी प्रदेशको नेपालगञ्जमा भएको प्रतियोगिताको आठौँ समापन समारोहमा नवौँ आयोजनाको जिम्मेवारीसहितको खेलकुदको झण्डा बोकेर गण्डकी प्रदेशको टोली पोखरा आएको थियो ।

विसं २०७७ फागुन अन्तिम साताका लागि नवौँको मिति तय भएर तयारी सुरु गर्दा विश्वव्यापी फैलिएको कोरोना महामारीले नेपाल पनि अछुतो रहन सकेन । सम्पूर्ण देश आक्रान्त बन्यो । राष्ट्रिय खेलकुद गर्ने वातावरण बनेन भने सरकारको खेलकुदभन्दा जनताको जीवन बचाउने प्रमुख जिम्मेवारी आयो । जसका कारण तोकिएको मितिमा राष्ट्रिय खेलकुद हुन सकेन ।

विसं २०७८ को माघ÷फागुनका लागि पुनः तयारी सुरु गर्दै गर्दा कोभिडको प्रभाव कायमै रह्यो । विसं २०७९ जेठ २२ देखी २८ गतेसम्म अर्कोपटक मिति तोकियो । केही तयारीका काम भए पनि दोस्रो स्थानीय तह निर्वाचनका कारण सो समयमा पनि राष्ट्रिय खेलकुद सम्भव भएन । हरेक दुई÷दुई वर्षमा हुने राष्ट्रिय खेलकुद पटक÷पटक मिति सर्दै गएपछि प्रतियोगिताका सम्बन्धमा आशङ्का कायमै रह्यो । विगतमा १५ वर्षसम्म पनि राष्ट्रिय खेलकुद नभएकाले आशङ्का गर्नेलाई बल पुगेको थियो ।

सरकारले गत जेठ दोस्रो साता असोज २८ देखी कात्तिक ३ गतेसम्म नयाँ मिति घोषणा गरेपनि धेरैले प्रतियोगिता हुनेमा शङ्का व्यक्त गरेका थिए । निर्वाचनको सम्मुख साथै दसैँ, तिहार जस्ता ठूला चाडपर्वको बीच भएकाले पनि आशङ्का गर्नेहरुलाई बल पुग्यो । मौसमको चुनौतीका कारण पछिल्लो सातासम्म पनि प्रतियोगिता हुनेमा आशङ्का कायमै रहेको थियो ।

तर धेरैको आशङ्कालाई चिर्दै र चुनौतीको सामना गरेर, अविश्वासलाई विश्वासमा परिणत गर्दै नेपाली खेलकुदको कुम्भ मेलाको शुक्रबार भव्य समुद्घाटन सम्पन्न भएको छ । सुःखद पक्ष प्रतियोगिता उद्घाटनका दिन खुलेको माछापुच्छ्रेले सबैलाई खुःसी दिएको थियो । पोखरा रङ्गशालाको १६ हजार पाँच सय दर्शक क्षमताको भरिभराउ प्यारापिटका दर्शकलाई साक्षी राखेर नवौँको उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य उद्घाटन गरेर राष्ट्रिय खेलकुदको शुभारम्भ गर्नुभयो ।

उद्घाटन समारोहमा प्रस्तुत मार्चपास, झाँकी, सांस्कृतिक कार्यक्रम र नृत्यले सम्पूर्ण देशलाई एकताबद्ध बनाएको सन्देश दिएको छ । पूर्वमेचीदेखि महाकालीसम्मका विभिन्न जाति र समुदायका देशप्रेमका गीत र सङ्गीत रङ्गशालामा गुञ्जिदा सबैलाई उत्साहित पा¥यो । प्रतियोगितालाई रोचक र भव्य बनाउन गरिएको आतिशबाजीले सम्पूर्ण पोखरेली र खेलप्रेमीको ध्यान खिच्न सफल भयो ।

प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले अन्तिम घडीसम्म पनि प्रतियोगिताका लागि चुनौती रहे पनि भव्य उद्घाटन गर्न पाउँदा खुःसी लागेको बताउनुभयो । उहाँले केही कमजोरी रहेपनि मुलभूत रुपमा प्रतियोगिताको भव्य तयारी भएको र उद्घाटन समारोहले सबैलाई हर्षित बनाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय खेलकुदका लागि थुपै चुनौतीहरु रहे पनि त्यससँग जुध्दै भव्य उद्घाटन गर्न सफल भएका छौँ । पछिल्लो समय अनपेक्षित वर्षाको चुनौती पनि रहेन । सात महिनाको तयारीले प्रतियोगिता सम्भव भएको हो ।” गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँको आयोजनाले पोखरेलीहरु हर्षित छन् । सँगसँगै नवौँका लागि बन्नुपर्ने पौडी, सुटिङ र हक्कीका खेल पूर्वाधार नबन्दा उनीहरु निरास पनि छन् ।

पोखरा रङ्गशालामा खेल पूर्वाधार नथपिँदा आफूहरु चिन्तित बनेको अग्रज खेलाडी हरिप्रसाद पराजुलीले बताउनुभयो । यसको समाप्तिपछि बाँकी खेल पूर्वाधार निर्माणका लागि सरकारले ध्यान दिनुपर्ने उहाँ बताउनुभयो ।

आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अन्तर्गतका केही खेल असोज २३ देखि नै सुरु भएकामा अधिकांश खेल आजदेखि प्रदेशका आठ जिल्लामा सञ्चालन भएका छन् ।




भर्खरै