९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध

ऊनका कपडाको माग नेपालमा भन्दा विदेशमा बढी

ऊनका कपडाको माग नेपालमा भन्दा विदेशमा बढी
फाईल फोटो
अ अ+ अ-

ढोरपाटन । अहिले पनि बागलुङको माथिल्लो क्षेत्रमा पुग्दा स्थानीयवासीले हापदुला, काम्लो, बख्खु, घुम (भेडाको ऊनबाट बनेको कपडा)लगाउने गरेको देखिन्छ । उच्च पहाडी क्षेत्रमा बाह्रै महिना चिसो हुने हुँदा यहाँका बासिन्दाले यस्ता कपडा लगाउने गरेका हुन् । घामपानी छेक्ने, वर्षौं टिक्ने र न्यानो हुने हुँदा उनीहरुले ऊनको कपडा बढी प्रयोग गर्छन् । यहाँका अधिकांश स्थानीयवासीले सयौँको सङ्ख्यामा भेडापालन गर्ने हुँदा उनीहरुले ऊनबाट कपडा बनाउने पनि गर्दै आएका छन् ।

निसी, भुजी र तमान क्षेत्रमा बढी प्रख्यात भेडाका कपडा विदेशसम्म पनि पुग्ने गर्छ । कपडा र मासु दुवैका लागि भेडा उपयुक्त हुनेहुँदा भेडापालकले राम्रो आम्दानीसमेत गर्दै आएका छन् । मासु स्थानीयस्तरमै बिक्री हुने गरे पनि त्यसबाट बन्ने कपडा देशविदेशमा निर्यात हुने गर्दछ । ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उनीहरुको भनाइ छ । युवापुस्तामा ऊनबाट कपडा बुन्ने सीप नभए पनि बुढापाकाले भने निरन्तरता दिँदै आएका छन् ।

तमानखोला गाउँपालिका– ३ तमान गाउँकी छलीमाया बुढाथोकी ६६ वर्षको हुनुहुन्छ । उहाँले अहिले पनि चर्खामा ऊन घुमाउने र काम्लो, हापदुलालगायत भेडाको रौँबाट कपडा बनाउँदै आउनुभएको छ । ऊनबाट बन्ने कपडा सानैबाट बनाउन सिक्दै आउनुभएकी छलीमायाले यो सीप आमाबाट सिक्नुभएको हो तर अहिलेका पुस्ताले यसप्रति चासो नराखेको उहाँको गुनासो छ ।

“मैले सानैदेखि बुन्दै आएको हुँ, सानोमा आमाले बुनेको देखेँ, गाउँमा छरछिमेकीले पनि बुन्ने गर्थे, त्यसपछि मैले पनि बुन्न थाले, अहिलेसम्म बुन्दै छु, हात चल्दासम्म बुन्छु नै”, छलीमाया भन्नुहुन्छ, “अहिलेका युवापुस्ताले यस्ता काम गर्नै जान्दैनन्, चासो पनि दिँदैनन्, भेडाबाख्रा पाल्नै छोडे, हाम्रो सासपछि यो सबै हराएर जान्छ होला, मैले नातिनातिनीलाई सिकाउन धेरै खोजेँ तर चासो दिएनन् ।” आफूहरु सानो हुने बेला सिरक, डसना र कपडा नहुने भन्दै भेडाको रौँबाटै डसना र सिरक बनाएर प्रयोग गरेको स्मरण छलीमाया गर्नुहुन्छ ।

“हामी सानोसानो हुँदा गाउँमा कपडा पाइँदैनथ्यो, अहिलेको जस्तो सिरक, डस्ना भन्ने बजारबाट आउँदैनथे, गाउँमै बाउआमाले भेडाको रौँबाटै बनेका घुम, काम्लो प्रयोग गर्नुपथ्र्यो, कपासको कपडा त धेरैपछि आएको हो हाम्रो ठाउँमा”, उहाँ भन्नुहुन्छ, “अहिले सबै कपासबाट बनेका सिरक डस्ना ओड्ने दोछ्याउने गर्छन्, त्यसले गर्दा पनि नयाँपुस्ताले ऊनबाट बन्ने कपडा बनाउन छोडे, यता तिर बिक्री पनि हुन छोडे, बरु विदेशतिर बढी जान्छ ।”

ढोरपाटन–९ की फूलकुमारी पुनमगर अहिलेका पुस्ताले परम्परागत सीप नसिकेकामा चिन्तित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जमाना फेरियो, चाल चलन फेरियो, मान्छेको आनीबानी फेरियो, त्यसले गर्दा पुराना कला र सीप पनि फेरिए । हाम्लेजस्तो काम अहिलेकाले गर्नै छोडे, मैले पहिले महिनामा दुईदेखि चार वटासम्म बख्खु बुन्ने गर्थे, अहिले प्रयोग कम हुँदै गएपछि मैले बुन्न पनि छोडेँ ।”

रौँबाट बन्ने कपडा नेपालमाभन्दा विदेशमा बढी माग हुने गरेको फूलकुमारीको भनाइ छ ।
“पछिल्लो समयमा भेडापालन गर्नेको सङ्ख्यासमेत घट्दै गएपछि ऊनको आपूर्ति नहुने हुँदा कम मात्रै उत्पादन हुने गरेको छ” उहाँ बताउनुहुन्छ, “काम्लो, हापदुलाको माग अहिले नेपालमा निकै कम छ तर विदेशमा निकै बढी छ, मूल्य पनि राम्रो मिल्ने गर्छ, अहिले गाउँमा भेडा पाल्ने पनि घटे त्यही भएर ऊनको व्यवस्थापन गर्न पनि गाह्रो हुँदै आएको छ ।”

पहिले एक जनाले कम्तीमा दुई सयदेखि चार सयसम्म भेडा पाल्ने गरेकामा अहिले गाउँका केही व्यक्तिले मात्रै भेडा पाल्ने गरेको फूलकुमारीकोे भनाइ छ । “उतिबेला गाउँका धेरै मान्छेले भेडाबाख्रा पाल्ने गर्थे, एउटा व्यक्तिले कम्तीमा दुई सयदेखि चार सय भेडा पाल्थ्यो, कपडा पनि बनाउने, मासुका लागि पनि बेच्ने गर्थे, अहिले त मासु खानका लागि मात्रै थोरै पाल्ने गर्छन्”, उहाँ बताउनुहुन्छ, “पछिपछि त भेडापालन गर्ने मान्छे भेट्टाउनै मुस्किलपर्ने छ, भेडा पनि लोप हुन लागेका छन् ।”

ऊनबाट बुनेको कपडाको मूल्य न्यूनतम रु सात हजारदेखि रु ५० हजारसम्म पर्ने गरेको स्थानीयवासीको भनाइ छ । न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग बढ्ने गरेको निसीखोला गाउँपालिका– ५ की पुतली विक बताउनुहुन्छ । पछिल्लो समय ऊनका कपडाको उत्पादन कम हुँदै गएकाले मागसमेत घटेको र आधुनिक प्रविधिका बजारमा आउने आयातित कपडाले गर्दा ऊनका कपडा ओझेलमा परेको उहाँको भनाइ छ ।

स्थानीयस्तरमा भएका सीप पहिचान गरी गाउँपालिकाले नयाँ पुस्तालाई सिकाउन सके वर्षौंसम्म ऊनका कपडा उत्पादन हुने र स्थानीयवासीले पनि राम्रो आम्दानी गर्न सक्ने उल्लेख गर्दै पुतली स्वदेशमा बढीमा रु ३० हजारसम्म पर्ने ऊनको कपडालाई विदेशमा रु ५०हजारदेखि रु एक लाखसम्मपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ऊनको कपडाको मूल्य निकै बढेको छ, स्वदेशमा भन्दा विदेशमा यसको माग पनि बढी भएको हुँदा न्यून आय भएका नागरिकलाई गाउँपालिकाले यो सीप सिकाएर, आयआर्जनसँग जोड्नसके राम्रो हुने थियो, गरिबको जीवनशैली पनि बदलिने थियो ।” रासस