२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्न सुरु



अ+ अ-

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी–मरिन डाइभर्सनको टनेल खन्ने काम आजबाट सुरु भएको छ ।

सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न लागेको हो । टनेल खन्ने कार्यको उर्जामन्त्री पम्फा भूसालले अनुगमन तथा निरीक्षण  गर्नुभएको छ ।

सुनकोशीको पानी मरिन खोलामा झारेर प्रदेश नं २ का विभिन्न जिल्लामा सिँचाइ सुविधा उपलब्ध गराउने र विद्युत्समेत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाले सुरु भएको हो ।

नेपालमा नै पहिलो पटक टनेल बोरिङ मेसिन ९टिबिएम०को प्रयोग गरी भेरी बबई डाइभर्सन आयोजनाको काम अगाडि बढाउँदा एक वर्ष पहिल्यै सुरुङ निर्माणको काम सम्पन्न भएको थियो । सो आयोजनाको सफलतापछि सरकारले अर्को नदी स्थानान्तरण परियोजनाका रूपमा सुनकोशी मरिन डाइभर्सन आयोजनामा टिबिएम नै प्रयोग गर्न लागिएको आयोजनाले जनाएको छ ।

बाँध स्थल लगायतको डिजाइनको काम नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनीयरिङ कम्पनीले गरेको हो ।

‘ड्रिलिङ एन्ड ब्लास्ट’ प्रणालीबाट मात्रै सुरुङ खन्ने गरिएकामा टिबिएमको प्रयोग नेपालका लागि नौलो प्रविधि भए पनि भेरी बबई डाइभर्सन आयोजनाको सफलताले आफूहरुलाई पनि आकर्षित गरेको सुनकोशी मरिन डाइभर्सन आयोजनाले जनाएको छ ।

यो आयोजनाले बारा, पर्सा, रौतहट, सर्लाही र सिरहाको खेतीयोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । आयोजनाबाट एक लाख २२ हजार हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

आयोजनामा टिबिएम प्रयोग गरेर १३।१ किलोमिटर सुरुङ निर्माण गरिनेछ । नदी स्थानान्तरण गरेर सिँचाइ सुविधा तथा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकारले अगाडि बढाएका आयोजनामा अब क्रमशः टिबिएमको प्रयोग गरिने भएको छ ।

सुनकोशी र गोलन्जोर गाउँपालिकाको सिमाना नजीकै रहेको खुर्कोटबाट बाँध बाँधी १३।१ किलोमिटर लामो सुरुङमार्फत ६७ मिटर क्युसेक पानी मरिन खोलामा खसालिनेछ । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा निर्माण हुने विद्युत् गृहबाट ३१ मेगावाट विद्युत् उत्पादन गर्ने तथा बारा, पर्सा र रौतहटमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

भौगोलिक रुपमा समेत विस्फोटन गराएर सुरुङ खन्न नसकिने अवस्था भएकाले टिबिएमको नै प्रयोग गर्नु उचित हुने निष्कर्षमा आयोजना पुगेको थियो । कूल ५ दशमलव ५ मिटर व्यासको सुरुङ निर्माण हुने भएकाले सोही अनुसारको टिबिएम डिजाइन गरेको आयोजनाले जनाएको छ ।

आयोजनाको निर्माण अवधि पाँच वर्ष लाग्ने अनुमान

सो आयोजनाको अनुमानित कूल लागत रु ८२ अर्ब रहेको छ । त्यसमा विद्युत् र सिँचाइको फरक–फरक लागत रहनेछ । विद्युत् गृह, सुरुङ निर्माण लगायतमा रु ५२ अर्ब ८८ करोड र सिँचाइतर्फ रु ३२ अर्ब लागत रहने अनुमान गरिएको छ ।

उक्त परियोजनाबाट २ नं प्रदेशलाई खानेपानीका लागि पानी उपलब्ध गराउने लक्ष्यसमेत राखिएको बताउनुभयो । वाग्मतीमा पानीको सतह घटेपछि रौतहट र सर्लाहीको खेतीयोग्य जग्गामा सिँचाइमा समस्या देखिँदै आएको छ ।

वाग्मती सिँचाइको क्षमता एक लाख २२ हजार क्युसेक रहे पनि हिउँदमा पानीको मात्रा असाध्यै कम हुने रहेको छ । सुनकोशीबाट मरिन उपत्यकामा झारिने पानीमध्ये रौतहटका किसानलाई ४८ र सर्लाहीलाई ६४ क्युसेक पानी उपलब्ध गराउने लक्ष्य राखिएको छ ।