• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

बाढीपीडित भन्छन्– ‘हामी नाङ्गै हुने भयौँ, लुगाफाटा पठाइदिनुस्’



टीकापुर । बाढीका कारण कैलालीको भजनीका नागरिकलाई बढी समस्या भएको छ । असोज १ गते आएको बाढीले ठूलो क्षति व्यहोरेका भजनीका नागरिक पुनः १९ गते बाढी आएपछि थप पीडामा छन् । भजनीका नागरिक गाँस, बास, कपास सबै बाढीले खोसेको गुनासो गर्न थालेका छन् । भजनीका घरबाट विस्थापित भएका पीडितलाई शरीर ढाक्नसमेत समस्या भएको उनीहरुको गुनासो छ ।

एक साता सडकमा बसेर घर फर्किएका बाढीपीडित पुनः सडकमा आएको साता पुग्न थालेको छ । भजनी–८ की धनसरादेवी जैसीको परिवार छ दिनदेखि हुलाकी सडकमा छ । “घरबाट आउँदा जुन लुगा लगाएका थियौँ, त्यही लुगामा आजसम्म बसिरहेका छौँ, फेर्नका लागि अर्को लुगा छैन”, उहाँ भन्नुहुन्छ, “तलबाट बाढीले चुट्यो, माथिबाट वर्षाले चुटेको छ । कोही सहयोगी, दाता हुनुहुन्छ भने हामीलाई पुराना लुगा भए पनि पठाइदिनुस्, हामी भोका नाङ्गा छौँ ।”

यही असोज १८ गतेदेखि सुरु भएको वर्षाले यहाँका नागरिकको जनजीवन अस्तव्यस्त बनाउनुका साथै बाढीपीडित परिवारको गुजारा चल्न समस्या भएको छ । खेमराज जैसीको परिवार पनि १९ गतेबाट हुलाकी सडकमा आश्रय लिएर बसिरहेको छ । उहाँको घर जलमग्न छ । घर जानसक्ने अवस्था छैन । सडकमा पालमुनि निकै कठिन भएको उहाँको गुनासो छ । “हामीलाई राहतमा खाद्यान्न, शरीर ढाक्न लुगा, सुत्नका लागि झुल पाएको भए बाँचिन्थ्यो कि”, उहाँले भन्नुभयो, “घर फर्कने वातावरण छैन, घरमा भएका सबै सामान भिजेर नष्ट भए । यहाँ सडकमा हामीले झेलिरहेका समस्या भनेर साध्य छैन ।”

सडकमै बसिरहनुभएका कम्मानसिंह विकको परिवारको अवस्था पनि दयनीय छ । बालबालिकासहित स–परिवार सडकमा पालमुनि बस्न कठिन भएको छ । खुला सडकमा लुगाकपडा, खानेकुराको अभाव भएकाले समस्या भएको उहाँ बताउनुभयो । “बच्चालाई सम्हाल्न बढी कठिन हुने रहेछ, बच्चा खान खोज्छन्, निरन्तर वर्षा भइरहेको छ । सडकमा पकाउने वातावरण पनि छैन”, कम्मानसिंहले भन्नुभयो, “वस्तुभाउसहित सडकमा बस्न कठिन छ । यस वर्षजस्तो पीडा कहिल्यै भएन, हामीलाई त दैवले ठग्यो ।”

थापापुरकी यज्ञदेवी जैसीको परिवार पनि सडकमा छ । खुला आकाशमुनि चिसो हावा चल्दा झन् कठिन भएको छ । खुला सडकमा लामखुट्टेको टोकाइ, लुगाको अभावमा सरकार भएको महसुससमेत नभएको उहाँको भनाइ छ । “यस्तो समस्या छ । हामी चिसोमा बसिरहेका छौँ, हामीलाई लुगाफाटा भए पनि दिएको भए राहत हुन्थ्यो”, उहाँले भन्नुभयो, “भिजेकै लुगा शरीरमा सुक्छन् तर हाम्रा लागि कोही सहयोगी आएनन् ।”

सडकमै बसिरहेकाहरू सबैको बिचल्ली छ । देवसरा विकको परिवार पनि १९ गतेबाट घर फर्कन सकेको छैन । उहाँको घर नदीजस्तै जलमग्न छ । सडकमा बसेकालाई आवश्यक लुगा, झुलजस्ता सामान पाए पनि राहत हुने उहाँ बताउनुहुन्छ ।

भजनी नगरपालिकाका प्रमुख केवल चौधरी बाढीपीडितलाई आवश्यक खाद्यान्नको जोहो नगरपालिकाले गरिदिएको भए पनि मौसमका कारण खाना पकाएर खान सक्ने अवस्था नभएको बताउनुभयो । “हाम्रो पालिकामा बेहाल छ, हामी पनि केही गर्न सक्ने अवस्थामा छैनौँ, हामी बाढीमा फसेकालाई उद्धार गर्ने कार्यमा खटेका छौँ”, उहाँले भन्नुभयो, “सडक तथा सेल्टरमा बसेकालाई खाद्यान्न उपलब्ध गराएका छौँ तर मौसमका कारण पकाएर खान सक्ने वातावरण छैन । निरन्तर पानी परिरहेकाले पीडितलाई खानपिनमा समस्या भएको छ ।” रासस