५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रीन हाइड्रोजन: अर्थमन्त्री शर्मा(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताउनुभएको छ ।विश्वका ठूला र औद्योगिक राष्ट्रले उत्पादन गरेको ग्रीन हाउस ग्यासका कारण नेपालजस्ता पर्वतीय मुलुक सङ्कटमा परेको उल्लेख गर्दै उहाँले जलस्रोतको उपयोग गरेर ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिने बताउनुभयो ।

आजदेखि यहाँ सुरु भएको ग्रीन हाइड्रोजन समिटलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि पनि अब विकल्पको खोजी भएको बताउनुभयो । अर्थमन्त्रीले बिजुली बिक्री भएन भनेर अब चिन्ता गर्नु नपर्ने अवस्थामा पुगेको उल्लेख गर्दै त्यसैको उपयोग गरेर देशभित्रै थप अवसरको खोजी गर्न सकिने बताउनुभयो ।

आफूले चालु आर्थिक वर्षको बजेटमा नै हाइड्रोजन र एमोनियाका बारेमा उल्लेख गरेको उहाँले जानकारी दिनुभयो । उहाँले कोइलाको स्थानमा ग्रीन हाइड्रोजनको प्रयोग गर्न सकिने र यसमा थप लगानी गर्दै काम प्रारम्भ गर्ने अवसर आएको स्पष्ट पार्नुभयो ।

नेपालले अब विद्युत् बिक्री गर्नु नपर्ने बरु हाइड्रोजन र एमोनिया बनाएर बिक्री गर्न सकिने उहाँले उल्लेख गर्दै उहाँले यसमा लगानीको विस्तार, प्रविधिको खोज गर्ने बेला आएको बताउनुभयो । पेट्रोलियम पदार्थको विकल्पका रुपमा मात्रै ग्रीन हाइड्रोजनलाई प्रयोग गर्न सकियो भने पनि ठूलो मात्रामा व्यापार घाटा कम गर्न सकिने अर्थमन्त्रीको भनाइ छ । उहाँले समिटबाट प्राप्त हुने सुझावलाई सरकारले ग्रहण गर्ने र नीति निर्माणको तहमा समावेश गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले नेपालमा यससम्बन्धी कामको थालती गर्ने गरी काम अगाडि बढाउन आग्रह गर्दै त्यसका लागि सरकारको तर्फबाट विशेष सहयोग रहने बताउनुभयो । विश्वभर नै ग्रीन हाइड्रोजनका बारेमा छलफल मात्रै शुरु नभई लगानी र ऊर्जाको वैकल्पिक स्रोतका रुपमा उपयोग हुन थालेको तथ्य पेश गर्दै उहाँले यसमा प्रक्रिया अगाडि बढाउन ढिला भइसकेको उल्लेख गर्नुभयो । उहाँले सरकारको तर्फबाट यस कार्यका लागि महत्वपूर्ण सहयोग रहने र केही कठिनाइ भए प्रधानमन्त्रीसँग छलफल गरेरै भए पनि गाँठो फुकाउने विश्वास दिलाउनुभयो ।