२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् नेपालमा पाइने विषालु सर्पहरू, सर्पले टोकेमा के गर्ने ?



अ+ अ-

बीबीसी । नेपालमा नागपञ्चमीका दिन धार्मिक रूपमा नाग भनिने जमिनमा घिस्रने जीव सर्पको पूजा गर्ने चलन छ।

हिन्दू धार्मिक मान्यता अनुसार भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु शेषनागको शय्यामा सुत्ने गर्छन्। तर नेपालमा अझै पनि कैयौँ स्थानमा सर्पलाई देख्ने बित्तिकै टोक्ने डरले मार्ने गरिएको पाइन्छ।

यद्यपि हालैका वर्षमा सर्पको संरक्षणका पहलहरू पनि हुन थालेका छन्। अर्कातर्फ हरेक वर्ष विशेषगरी नेपालको तराई क्षेत्रमा सर्पको टोकाइबाट कैयौँको ज्यान जाने गर्छ।

नेपालमा कति प्रजातिका सर्प ?
सर्पबारे अध्ययन गरेका विज्ञहरूका भनाइमा नेपालमा हालसम्म ९० भन्दा बढी प्रजातिका सर्पहरू पाइएको विवरण छ।

"नेपालमा हालसम्म पहिचान भएका भनेर ९०-९२ प्रजातिका सर्पलाई लिइन्छ," नेपालमा पाइने सर्प र सर्पदंशबारे अनुसन्धान गरेका एकजना प्राणीशास्त्री डा. देवप्रसाद पाण्डे भन्छन्।

"तर नेपालमा सर्पबारे अझै अध्ययन हुन बाँकी रहेकाले यहाँ योभन्दा धेरै नै जातका सर्प हुन सक्छन्।" गण्डकी विश्वविद्यालयको अनुसन्धान विभागका प्रमुख समेत रहेका पाण्डेका अनुसार नेपालमा पाइने धेरै सर्पहरू विषालु छैनन्।

"यहाँ पाइनेमध्ये १८ वटा प्रकारका सर्पहरू चाहिँ अति विषालु खालका हुन्," उनले भने, "त्यस बाहेकका सर्पहरू कम विषालु र विष नभएका छन्।" जीवशास्त्रीहरूका भनाइमा विश्वमा पाँच हजारभन्दा बढी प्रजातिका सर्पहरू पाइन्छन्।

नेपालका छिमेकी मुलुकहरू भारत र चीनमा पनि धेरै सङ्ख्यामा सर्पका प्रजाति पाइएकाले नेपालमा पनि अहिले भेटिएका भन्दा बढी सर्प भेटिनसक्ने उनीहरूको भनाइ छ।

सबैभन्दा विषालु सर्प
नेपालमा पाइने सर्पमध्ये सबैभन्दा विषालु र धेरै मानिसको ज्यान लिएका सर्प भनेका करेत र गोमनका विभिन्न प्रजाति रहेको पाण्डे बताउँछन्। त्यस्तै हरेउका केही प्रजाति र बाघे सर्प पनि अति विषालु सर्पका रूपमा लिनुपर्ने उनको भनाइ छ।

"नेपालमा करेतका छ वटा प्रजाति छन् त्यसमध्ये पाँचवटाले मानिसहरूलाई डसिरहेको प्रमाण भेटिएको छ। एउटा ुबङ्गारस बङ्गोरोइडु भन्ने प्रजातिले चाहिँ खासै डसेको पाइएको छैन," पाण्डेले भने।

उनका अनुसार मानिसलाई कम डस्ने भनिएको उक्त सर्प पहाडी क्षेत्रमा पाइन्छ। त्यसपछि नेपालमा धेरै मानिसलाई टोक्ने सर्पमा गोमन रहेको छ।

करेत र गोमन सर्प तराई क्षेत्रमा धेरै मात्रामा पाइने गरेको उनको भनाइ छ। तर गोमन र करेतको टोकाइबारे आफ्नो हालैको एउटा अनुसन्धानले रोचक तथ्य उजागर गरेको पाण्डेले बताए।

उनले भने, "पूर्वतिर गोमनले दुस्ख धेरै दिने रहेछ। पश्चिमतिर फेरि गोमनको टोकाइ कम हुँदै जाने र करेतको बढ्दै जाने रहेछ। यो अनौठो लागेको छ। यसले थप अनुसन्धानको माग गरेको छ।"

उनले त्यो सर्पको सङ्ख्या कति छ भन्नेमा निर्भर भएको हुनसक्ने ठान्छन्। "तर त्यसका लागि सर्पको गणना हुनु जरुरी छ। नेपालमा त्यो हुन सकिरहेको छैन," पाण्डे भन्छन्।

सर्पले टोकेमा के गर्ने ?
सर्पदंशको उपचारमा संलग्न चिकित्सकहरू सर्पले टोक्दैमा नआत्तिन सुझाव दिन्छन्।

लामो समय सरकारी सेवामा रहेर सर्पदंश उपचार र त्यसको उपचार पद्धतिका मापदण्ड बनाउन समेत संलग्न भई अहिले अवकाशप्राप्त चिकित्सक डा। छविलाल थापामगर कैयौँ मानिसहरू आत्तिएर थप बिरामी पर्ने गरेको बताउँछन्।

हाल नवलपुरस्थित कालिगण्डकी अस्पतालमा कार्यरत चिकित्सक थापामगरका अनुसार अझै पनि कतिपय मानिसहरू चाहिँ सर्पले टोकेपछि निकै ढिलो गरेर अस्पताल आउने गरेका छन्।

उनले भने, "सबैभन्दा ठूलो समस्या भनेको मानिसहरू ढिलो गरेर आउने गर्छन्। तर शङ्का लागेर पनि अस्पताल आउनेहरू अचेल बढेका छन्।"

सर्पले टोकेको अवस्थामा अपनाउनु पर्ने सावधानीबारे थापामगर भन्छन्, "नआत्तिने र टोकेको भागलाई हलचल नगराएर सकेसम्म छिटो अस्पताल पुर्‍याउनु पर्ने हुन्छ।"

"प्राथमिक उपचार भनेर पहिले-पहिले गरिरहेका विभिन्नखाले कुराहरू नगरीकन सिँधै बिरामीलाई अस्पताल ल्याउनु नै सबैभन्दा राम्रो उपाय हो।"

उनले भारतबाट एन्टी स्नेक भेनम ल्याएर उपचार भइरहेको जानकारी दिए। थापामगरका अनुसार सबै सर्प विषालु हुँदैनन् र विषालुले टोक्दा पनि सधैँ विष छाड्छ भन्ने हुँदैन।

सर्पको टोकाइबाट कसरी बच्ने ?
सर्पको टोकाइबाट बच्न आफ्नो घर वरिपरि नियमित सफाइ गर्नुपर्ने डा। थापामगरको सुझाव छ। त्यस्तै उनी सर्प लुक्ने स्थान नबनाउने र दुलाहरूमा हात नराख्ने व्यवहार अपनाउन सबैलाई आग्रह गर्छन्। "राति हिँड्नुपर्दा पनि जुत्ता र सुरुवालजस्तो तलैसम्म छोप्ने लुगा लगाउने र लट्ठी लिएर हिँड्ने गर्नुपर्छ," उनी भन्छन्।

त्यस्तै राति सुत्दा खाटमा सुत्ने र झुल टाँगेर सुत्ने गर्दा पनि सर्पको आक्रमणबाट बच्न सकिने उनको सुझाव छ। "तर कसैले मलाई आक्रमण गर्‍यो भन्ने ठानेर मात्र सर्पले टोक्छ, त्यसैले सर्पलाई हानि गर्नु हुँदैन," उनी भन्छन्।