१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षाका कारण बर्दियाका २ सय बढी घर डुबानमा (फोटोसहित)



अ+ अ-

बर्दिया । तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा २ सय बढी घरहरु डुबानमा परेका छन् ।

पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न बनेका हुन् । अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो ।

गत मंगलवार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडा दशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरु बताउँछन् । बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले र बस्नका लागि अहिले समस्या भइरहेको बताउनु भयो । त्यस्तै अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभएपनि गाउँमा घरहरु र खेतबारी भने बगाएको बताउनु भयो । उहाँले घरहरु डुबानमा परेको र घरभित्र पानीले जमेकाले बस्नसक्ने अवस्था नरहेको बताउनु भयो ।

आज दिउँसो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले शतर्कता अपनाउन आग्रह गरेको छ । आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै शतर्क रहन विभागले आग्रह गरेको छ ।