• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नेपाली कांग्रेसका सहमहामन्त्री मन्सुरले मैदान छाडेपछि…



काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग सहकार्य गरेपछि बारा क्षेत्र नं ३ नेपाली कांग्रेसको भागमा पर्यो ।

यसअघि सोही क्षेत्रबाट उठ्दै आएका सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई यस पटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्न शुक्रबार पार्टीका नेताहरुले आग्रह गरे ।

तर मन्सुरले समानुपातिक तर्फ मुस्लिम क्लष्टरमा नाम रहेका कारण प्रत्यक्ष तर्फ उम्मेदवार बन्न अनिच्छा व्यक्त गर्नुभयो । जसका कारण कांग्रेसले बारा क्षेत्र नं ३ मा भरपर्दो उम्मेदवार नै तय गर्न सकेको छैन ।

बैठकमा सहभागी एक नेताका अनुसार, पटक पटक सोही क्षेत्रबाट नेपाली कांग्रेस एक्लैले निर्वाचन लड्दा विजयी हुनु भएका मन्सुर नै प्रत्यक्ष तर्फ उम्मेदवार हुन तयार हुनु भएन । झन गठबन्धन भएको बेला सहज हुन्छ भन्ने अनुमान थियो तर उहाँ निर्वाचनमा जान डराउनु भयो ।

स्थानीय तहको निर्वाचनका बेला पार्टीका उम्मेदवार बिरुद्ध उहाँले खेल्नु भएको भूमिकालाई लिएर कार्यकर्तामा असन्तुष्टि छ । उहाँलाई त्यसैले डर भएर निर्वाचनमा जाने आँट नगर्नु भएको हुन सक्छ, ती नेताले भन्नुभयो ।

अन्य निर्वाचन क्षेत्रमा टिकटमा लागि निकै माथापच्छि भै रहँदा बारा क्षेत्र ३ मा भने उम्मेदवार नै नहुनु दुःखद भएको ती नेताले बताए । यदि मन्सुर नजाने हो भने कुनै डमी उम्मेदवार तय हुन्छ, त्यो भनेको अर्को प्रतिस्पर्धी पार्टीलाई सिट सुम्पनु हो ।