१६ असार २०८३, मंगलवार
,
Latest
रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकाको चौथो दिनः नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को



अ+ अ-

काठमाडौँ । आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेको देखिन्छ ।

नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नपाएकाहरु तेस्रो दिन दिउँसो १ बजेसम्म भने राजधानीमा आकाश खुलेकाले निर्धक्क भएर हिँड्न पाएका थिए । तेस्रो दिन शुक्रबार दिउँसो फेरि सुरु भएको वर्षाले आशीर्वाद लिन हिँड्नेहरुलाई असर परेको थियो ।

विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढाटाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जान समस्या भएको थियो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण–पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको असरले गर्दा वर्षा भएको जनाएको छ । महानवमीदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै एवं बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा कुनै बाधा नरहेको बताउँछन् । केही दिन सुनसान रहेको राजधानी सहरमा आज बिहानदेखि भने केही चहलपहल देखिन थालेको छ ।

मानिसको चहलपहल बढे पनि सवारीसाधन कम हुँदा यात्रा सहज हुन सकेको छैन । सार्वजनिक यातायातमा कोचाकोच गरेर टीका थाप्न र आशीर्वाद लिन हिँड्नेको चहलपहल भने बजारमा हिजोका दिनभन्दा बढी छ ।