९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बारा दुर्घटनाका बालक भन्छन्– बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ

बारा दुर्घटनाका बालक भन्छन्– बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ
अ अ+ अ-

हेटौंडा। जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालक सहित ३६ जना घाइते छन् । उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन ।

बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघरको टीका सकेर बिहानै बाराको अमलेखगञ्जमा रहेको घरमा पुग्न बिहान ५ बजे नै हेटौंडा बसपार्क पुगेका थिए । आफ्ना ४५ वर्षीय बुबा ललित पाख्रिनका साथ उनी बस कुर्दै थिए । दसैँका कारण थोरै सवारी र त्यसमा पनि खचाखच भरिएर आएका सवारी साधनहरुका कारण ३/४ घण्टा बसपार्कमा नै कुर्नुपर्यो ।

धेरैपछि नारायणगढबाट बीरगञ्जका लागि छुटेको बा ०६–००१ ख ०११० नं को बस बसपार्कमा आइपुग्यो र पाख्रिनका बुबा छोरा चढे । बस बीचबीचमा यात्रुहरु चढाउँदै चुरियामाई मन्दिरनजिक पुगेर रोकियो । त्यहाँ पनि चार जना यात्रु बस चढे । त्यसको केहीबेरमा नै अगाडिबाट ब्रेक फेल भयो भन्ने आवाज आएको उनले सुने । बस चढेका चार यात्रु बस्न नपाउँदै अगाडिबाट बसको ब्रेक फेल भयो भन्ने आवाज सुनिएको उनले बताए ।

टाउको र घुँडामा चोट लागेका बिरोज भन्छन् “ब्रेक फेल भयो भन्ने सुने, गाडी यताउता गर्दै गुड्यो, त्यसपछि म त बगरमा पुगेको रहेछु ।” गाडी पल्टेको थाहा नै नभएको बताउदै उनी भन्छन् “झसङ्ग भएर बुबालाई हेरेको देखिन । उहाँलाई मानिसहरुको चेपमा देखेँ । चार जना मान्छे हटाएर बुबालाई तानेर निकालेँ । बुबालाई थिचेका वरपरका अरु यात्रु भने चलमल गर्नुभएको थिएन । उहाँहरुको बीचबाट बुबाको हात बाहिर निस्केको देखेर चिनेँ ।”

बाहिर निकालेपछि प्रहरी आयो । प्रहरीको बसमा बुबासहित अरुलाई पनि हेटौंडाको अस्पतालमा ल्याएको बिरोज बताउछन् । तर दुर्घटनाको कतिबेरपछि प्रहरी घटनास्थलमा पुग्यो भन्ने पत्तो नपाएको उनको भनाई छ । गम्भिर घाइते भएका कारण बिरोजका बुबा ललित पाख्रिनलाई भरतपुर लैजान एम्बुलेन्सको ब्यबस्थापन गरिएको अस्पतालले जनाएको छ । उनका आफन्तहरु पनि सम्पर्कमा आएको उनले बताए ।

त्यसैगरी अर्का घाइते ३५ बर्षीय बस चालक दिप्तनारायण ढकाल बसको ब्रेक फेल भएको थाहा पाएपछि बचाउने प्रयास गर्दागर्दै नसकेको बताउनुहुन्छ । उहाँले आफूले भने हामफालेर ज्यान जोगाएको बताउनुहुन्छ । नारायणगढबाट हेटौंडा हुँदै बीरगञ्जतर्फ गइरहेको बसमा यात्रु चढ्ने र झर्ने क्रम जारी रहेसँगै चुरियामाई मन्दिरमा पुग्दा मुसलधारे पानी परेको र त्यसलगत्तै बसको ब्रेक फेल भएको उहाँ बताउनुहुन्छ ।

ब्रेक फेल भएको गाडीलाई भित्तामा ठोक्काएर रोक्ने प्रयास गर्दागर्दै टाटासुमो, अटोरिक्सा र मोटरसाइकललाई छल्दै अघि बढ्दा भित्ता नभेटिएर दुर्घटना भएको उहाँको भनाई छ । उक्त क्रममा पुल नजिकै पुग्दा बसलाई नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि आफु हामफाल्न बाध्य भएको उहाँको भनाई छ ।

बाराका १८ वर्षीय युवक आर्यन भोम्जनले पनि एक्कासी बस तीब्र गतिमा गुडेको थाहा पाएपछि डर लागेको र अगाडिबाट झाडीतिर हाल, भित्तातिर हाल भनेको आवाज सुनेको बताउँछन् । पछाडिको सीटमा रहेका उनी होसमा छँदा चिच्याएको आवाज सुनेको र पछि भने आफैले होस नपाएको बताए । उनको हेटौंडास्थित चुरहिल अस्पतालमा उपचार भइरहेको छ । उहाँको हातको शल्यक्रियाको तयारी हुदैछ ।

बसको ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धान

आज बिहान करिब १० बजे जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताउनुभयो ।

चालकसँग गरिएको अनुसन्धानका आधारमा बसलाई चालकले जोगाउन खोज्दाखोज्दै दुर्घटना भएको देखिएको उहाँको भनाई छ । बस चुरेमन्दिरबाट केही तल पुगेपछि ब्रेक फेल भएको र विभिन्न सवारीसाधन सडकमा गुडिरहेकोले उक्त सवारीसाधनहरुलाई जोगाउँदै गुड्दै गर्दा दुर्घटनामा परेको बुझिएको थापाको भनाई छ ।

अहिलेसम्म हेटौंडा अस्पतालमा १२, चुरेहिल अस्पतालमा दुई, मकवानपुर सहकारी अस्पतालमा दुई र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो ।

हेटौंडामा एम्बुलेन्सको कमी भएका कारण केही घाइतेहरुलाई भने निजी सवारी साधनमा थप उपचारका लागि पठाइएको बताइएको छ ।

अञ्जली थापा/ रासस