• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

गोरखा दरबारमा साँझको शुभसाइतमा फूलपाती भित्र्याइयो



गोरखा । गोरखा दरबारको दसैँघरमा आज साँझको शुभसाइतमा फूलपाती भित्र्याइएको छ । दिउँसो करिब ४ बजे गोरखा दरबारदेखि निस्किएको लावा लस्करको टोलीले साँझको शुभसाइतमा फूलपाती चौताराबाट बाजागाजासहित गोरखा दरबारमा फूलपाती पु¥याएर भित्र्याएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

दरबारको दसैँघरमा विधिपूर्वक पूजाअर्चना गरी सुसारेहरुले साँझ दरबारमा फूलपाती भित्र्याइएको उहाँले बताउनुभयो । गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फूलहरुलाई फूलपातीका रूपमा दरबार भित्र्याइएको प्रमुख भुसालले जानकारी दिनुभयो । गोरखा दरबारका सुसारेहरुले जङ्गलबाट जम्मा गरेर ल्याएको फूलपाती लिन दसैँघरदेखि हर्ष बढाइँका साथ दरबार हेरचाह अड्डाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको लावालस्करहरु शतिपीपल डाँडामा पुगेका थिए ।

फूलपाती भित्र्याउनुपूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरुले मङ्गल गीत र मालश्री राग गाउँदै, बन्दुकेहरु हर्ष बढाइँ गर्दै र भार बोक्ने भारवाहकहरु फूलपानी पर्सने सिँढीसम्म आइपुगेका थिए । गोरखा दरबारको सिँढीमा विशेष पूजा गरेर गोरखा दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरबारमा हरेक वर्ष भने दरबारबाट पश्चिम क्षेत्रमा देखिने डाँडामा आधा घाम तल र आधा घाम माथि देखिने समयमा दरबारको दसैँ घरमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारको दसँै घरबाट काठमाडौँको हनुमानढोका दसैँ घरमा बिहानको साइतमा फूलपाती पठाइएको थियो । रासस