• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा २६ वर्ष कान्छीसँग विवाह गरे ★   गोदावरी नगरपालिकाका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   शेनबाम मेक्सिकोको राष्ट्रपति निर्वाचित, सर्वोच्च राजनीतिक ओहोदामा पुग्ने पहिलो महिला ★   सुत्ने कोठामा वास्तुशास्त्रका यी कुरामा विशेष ध्यान दिनुहोस्, दाम्पत्य जीवनमा मधुरता आउनेछ ★   वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन: माधव नेपाल (अन्तरवार्ता) ★   तीन सय दर्शक क्षमताको ‘कभर्डहल’ सञ्चालन ★   महिला साफ च्याम्पियनसिप नेपालमा हुने ★   एमाले पोखरा महानगरको अध्यक्षमा जीवन आचार्य निर्वाचित ★   डिशहोम फाईबरनेटले ल्यायो इन्टरनेट र डिटीएच ग्राहकहरुका लागि विशेष ‘स्मार्ट अफर’ ★   आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउँछौं: गभर्नर अधिकारी

ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्यः राष्ट्रपति



file

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

ज्येष्ठ नागरिक आफ्नो जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवका खानी रहेको जनाउँदै उहाँले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने बताउनुभयो । “ज्येष्ठ नागरिकमा अन्तर्निहित ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्दछ”, राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ ।

आफ्नो जीवनको ऊर्जाशील र उत्पादनशील समय राष्ट्रका लागि योगदान गरेका ज्येष्ठ नागरिकको जीवनलाई सहज र सुरक्षित बनाउन सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत सेवा र सुविधाहरूको व्यवस्था गरेको जनाउँदै उहाँले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूलाई थप विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।

“बाजे–बज्यैदेखि नाति–नातिनासम्म सगोल परिवारमा रहने ‘मातृदेवो भवः, पितृ देवो भवः’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्त्वलाई आत्मसात गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा हार्दिक आह्वान गर्दछु”, राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि ‘ज्येष्ठ नागरिक उत्थानशीलताः बदलिँदो विश्वको लागि अपरिहार्यता’ भन्ने मूल विषय निर्धारण गरेको छ ।