९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मानव र गैँडाबीच द्वन्द्व बढ्दै

मानव र गैँडाबीच द्वन्द्व बढ्दै
फाईल फोटो
अ अ+ अ-

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको छ । चोरीसिकारी र बासस्थान अभाव हुँदा नेपालकै पहिलो राष्ट्रिय निकुञ्जमा सो समस्या वढ्दै गएको हो ।

विसं २०२९ मा स्थापना भएका यस निकुञ्जमा २०५५ सालदेखि हालसम्म एक सय ७९ वटा गैँडा चोरीसिकारीका कारण मरेका छन् । निकुञ्जको स्थापनापछि झन्डै डेढ दशक रोकिएको गैँडाको चोरीसिकार विसं २०४० को दशकपछि पुनः सुरु भई द्वन्द्वकालमा ह्वात्तै बढेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । चितवनमा विसं २०५६ देखि २०६६ को बीचमा एक सय ५८ वटा गैँडा चोरीसिकारीका कारण मरेका थिए भने आर्थिक वर्ष ०५८/५९ मा एक वर्षकै अवधिमा ३८ वटा गैँडा चोरीसिकारीका कारण मारिए । यो तथ्याङ्क नै चोरीसिकारीका कारण सबैभन्दा बढी गैँडा मरेको वर्षका रुपमा रहेको छ ।

दुई आव ०६९/७१ र ०७३/७४ मा एक/एकवटा गैँडा चोरीसिकारीका कारण मरेका थिए । यसपछि केही वर्ष रोकिएको गैँडाको चोरीसिकारी आव २०७७/७८ मा तस्करले एक्कासि चारवटा गैँडा मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । गत आव २०७८/७९ मा चोरीसिकारीका कारण दुईवटा गैँडा मारिएका छन् । आव २०७१/७३ (दुई आर्थिक वर्ष)सम्म लगातार तथा २०७४/७७ ९तीन आर्थिक वर्ष०सम्म चितवनमा गैँडाको चोरीसिकार भएन । सो समय निकुञ्जले ‘शून्य चोरीसिकारी वर्ष’समेत मनाएको थियो ।

त्यसैगरी, आव २०७४/७५ देखि एक हजार दिनसम्म चोरीसिकारीका कारण निकुञ्जमा कुनै पनि गैँडा नमरेका भन्दै निकुञ्जले उत्सवसमेत मनाएको थियो । यद्यपि अहिले पछिल्ला दुई वर्षदेखि निकुञ्जमा चोरीसिकारी र कालगतिका कारण गैँडाहरु भकाभक मर्ने क्रम बढेपछि संरक्षणमा चुनौती थपिएको छ । प्राकृतिक कारणले पनि गैँडा मर्ने क्रम बढ्दो अवस्था रहेको छ । गैँडा बुढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेका छन् । गत आव २०७८/७९ मा निकुञ्जमा ३७ गैँडा प्राकृतिक कारणले मरेको देखिन्छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३३ र आव २०७६/७७ मा ४३ गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले पछिल्ला वर्षहरुमा गैँडा संरक्षणमा चुनौती थपिँदै गएको बताउनुभयो । गैँडा संरक्षणको सबैभन्दा ठूलो समस्या भनेको चोरीसिकारी भएको यादवको भनाइ छ । गैँडाको उचित प्राकृतिक बासस्थान नहुँदा मानव बस्तीमा आउने कारण मानव र गैँडाबीचको द्वन्द्व पनि बढिरहेको उहाँको भनाइ थियो ।

त्यसैगरी, गैँडा संरक्षणको अर्को चुनौतीका रुपमा गैँडाहरु दलदलमा फस्ने र बाढीले बगाएर लैजाने समस्या रहेको उहाँले जानकारी दिनुभयो । निकुञ्जभित्र पर्याप्त मात्रामा घाँसेमैदान निर्माण तथा व्यवस्थापन र चोरीसिकारी नियन्त्रणमा ध्यान दिने हो भने गैँडा मर्ने क्रम घट्ने पूर्व संरक्षण अधिकृत यादवको भनाइ छ ।

यस्तो अवस्थामा निकुञ्जले गैँडा संरक्षणका लागि चरिचरनको व्यवस्थापन र चोरीसिकारी नियन्त्रणका लागि जनशक्ति परिचाल गर्नुपर्ने चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना बताउनुभयो । घाँसेमैदान व्यवस्थापन तथा गैँडा आहाल बस्ने पोखरी निर्माण गरी उचित बासस्थानसहित गैँडा मर्ने क्रम रोक्नका लागि निकुञ्ज लाग्नुपर्ने उहाँको भनाइ छ । गैँडा राति सक्रिय हुने र दिउँसो झाडीमा लुकेर बस्ने तथा एकान्त ठाउँमा आहाल बस्ने वन्यजन्तु हो  ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले गैँडाको चोरीसिकारलाई शून्यमा राख्ने आफूहरुको उद्देश्य भएको जानकारी दिनुभयो । निकुञ्जले नेपाली सेना, नेपाल प्रहरी तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा तस्करीलाई पक्राउ गर्ने क्रम अघि बढाएको उहाँको भनाइ छ । समुदायको सहभागिता बिना गैँडाको संरक्षण गर्न चुनौती देखिएको उहाँको भनाइ छ । गैँडा चोरीसिकारीविरुद्ध समुदायको जागरुकता र संरक्षणका लागि चौतर्फी सक्रियता बढ्दै गएको उहाँको भनाइ छ ।

निकुञ्जमा गैँडा मर्ने क्रम मात्रै बढेको छैन । यहाँ गैँडाको सङ्ख्यामा समेत वृद्धि भइरहेको छ । २०७८ को गणनामा देशभर सात सय ५२ गैँडा पाइएकामा निकुञ्जमा मात्रै ६ सय ९४ गैँडा भेटिएका थिए । बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीन गैँडा छन्  । अघिल्लो २०१५ को गणनामा चितवनमा ६सय पाँच गैँडा थिए । यसरी गैँडाको सङ्ख्या बढ्दा मानव बस्तीमा समेत आउने गरेका छन् । यसले मानव र गैँडाबीच द्वन्द्व बढ्दै गएको छ ।