• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   दोषी करार गर्ने ढंगले काँग्रेसले प्रस्ताव ल्याएको मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु

अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै



लमजुङ । यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग पर्यटकमय बन्दै गएको हो ।

यस पदमार्गअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भन्नुभयो, “केही समयअघिसम्म पर्यटक नआउँदा पर्खेर बसे पनि यतिबेला पर्यटक आगमन हुन थालेसँगै आफू पनि व्यस्त भएको छु । दशैँ भित्रिसकेको छ, एकातिर दशैँको रौनक छ भने अर्कातिर पर्यटक आगमनले छुट्टै रौनक छाएको छ ।” विगतमा मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्नुभएकाले उहाँले यतिबेला आम्दानी मनग्य हुन थालेको सुनाउनुभयो । अहिले उहाँले दैनिक रु १० देखि रु २० हजारसम्म आम्दानी गर्न थाल्नुभएको छ ।

त्यस्तै लामो समयपछि पर्यटक चहलपहलले आम्दानी बढ्दा खुसीयाली छाएको भएको पर्यटन व्यवसायी खुसबहादुर गुरुङले बताउनुभयो । पर्यटन व्यवसायबाटै परिवारको गुजारा चलाउँदै आएको र पर्यटक नआउँदा चिन्ता र आउँदा खुसी हुने उहाँको भनाइ छ । उहाँहरू मात्र नभई खुसीराम गुरुङ, जीतबहादुर गुरुङ, देवीजङ्ग गुरुङ, पूर्णबहादुर गुरुङलगायतको यस पदमार्ग आसपासमा रहेका सयौँ सङ्ख्याका होटल व्यवसाय फस्टाउँदै गएका छन् ।

पर्यटकीय याम सुरु भएयता पनि सोचेजति पर्यटकको भने आगमन नहुँदा आम्दानी पनि त्यति नभएको व्यवसायीको भनाइ छ । पर्यटकीय याम गत भदौबाटै सुरु भए पनि विगतका जसरी पर्यटक नआएको र आउने अपेक्षामा रहेको उनीहरूको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० पर्यटक जाँच केन्द्र धारापानीका पर्यटक सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ८०–९० जनाको हाराहारीमा पर्यटक आगमन भइरहेको छ । सबैभन्दा बढी इजरायली पर्यटक आउने गरेको उहाँको भनाइ छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका अनुसार यस पदमार्गमा सन् २०२२ को हालसम्म सात हजार दुई सय १३ विदेशी पर्यटकको आगमन भएको छ । तीमध्ये महिला चार हजार आठ सय ३४ र पुरुष दुई हजार तीन सय ७९ छन् । सन् २०२२ को हालसम्म आएकामध्ये सबैभन्दा बढी इजरायली पर्यटक एक हजार १७, फ्रान्सका सात सय ७१, जर्मनीका सात सय छ, बेलायतका पाँच सय ७८ छन् । हालसम्म ९६ देशका नागरिक यस वर्ष यहाँ आएका छन् ।

त्यस्तै सन् २०२१ मा यस पदमार्गमा दुई हजार तीन सय ७३ मात्र विदेशी पर्यटक आएका थिए । सन् २०२० मा एक हजार नौ सय ७६ पर्यटक आएका थिए । त्यस्तै केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७ पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ पर्यटक, सन् २०१७ मा २१ हजार ६८ पर्यटक आएका केन्द्रले जनाएको छ ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । यतिबेला मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फुलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । पर्यटक विशेषगरी थोराङपास, लार्केपास र कालापास गर्ने गर्दछन् भने केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्घार लमजुङ बेँसीसहर नगरपालिकामा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । विदेशी पर्यटककै हाराहारीमा यतिबेला आन्तरिक पर्यटकको समेत वृद्धि भइरहेको पर्यटन व्यवसायीले बताएका छन् । आन्तरिक पर्यटक विषेशगरी मनाङका विभिन्न स्थानमा पुगेर फर्किने गर्दछन् । त्यहाँ जाने अधिकांश आन्तरिक पर्यटक युवायुवती छन् । रासस