• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

कोइराला पक्षले भ्रम छरेको संस्थापन पक्षको आरोप



काठमाडौँ । नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य डा शेखर कोइराला पक्षले पार्टीभित्र भ्रम छरेको बताएको छ । पार्टीभित्र उत्पन्न गरेको सो पक्षको भ्रमलाई चिर्न मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा प्रवक्ता डा प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लाग्नुभएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै शेखर पक्षले विरोध गर्दै आएको छ ।

विद्रोही पक्षले समानुपातिक सूचीमा नाम सच्याउन माग गर्दै सूचीमा आफ्नो पक्षलाई ४० प्रतिशत सिट दिनुपर्ने अडान राखेको छ । पार्टी संस्थापन पक्षले आफूहरुको मागलाई बेवास्ता गरिरहे र समानुपातिक सूची नसच्याए असोज १४ गतेदेखि पार्टी नेतृत्वप्रति कठोर निर्णय लिने सो पक्षले जनाएको छ ।

कोइराला पक्षले शुक्रबारदेखि सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन खबदारी भेला गर्दै आएको छ । सो पक्षले निर्वाचनको मुखमा पार्टीभित्र बखेडा झिकेकाले पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।

पार्टी प्रवक्ता महतले समानुपातिकको बन्दसूचमिा कुनै पनि नेताको ‘नोट अफ डिसेन्ट’ नभएको बताउनुभयो । उहाँका अनुसार पार्टीभित्र सर्वसम्मत निर्णय भएको जानकार दिनुभयो । सो निर्णयप्रति कोइराला पक्षले भ्रम छर्ने प्रयास गरिरहेकाले सो भ्रम चिर्न पत्रकार सम्मेलन गर्न लागिएको हो ।