• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

आश्रममै दशैँ



तानसेन । आफ्ना चौहत्तर वर्षीय श्रीमान्लाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उहाँलाई नजिकिँदै गरेको दशैँको रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दशैँहरू सम्झँदा यस वर्षको दशैँ उहाँलाई नरमाइलो लागेको छ । पाल्पाको तिनाउँ गाउँपालिका–४ मस्यामका मानबहादुर रास्कोटी र फुलसा गत वर्षदेखि तानसेन वडा नं १ भुँसालडाँडा स्थित निलसागर आश्रममा बस्नुहुन्छ । “अर्कैको घरमा बसेर मेलापात गरी खान्थ्यौँ”, फुलसा भन्नुहुन्छ, “पोहर मेरो आँखा दुख्यो, केही देखिन गाउँलेले आश्रममा ल्याएर छाडे ।”

ती दम्पती सत्र वर्षदेखि अर्कैको घरमा बस्दै आएका थिए । घरपरिवार र अन्य आफन्त नभएका उहाँहरू दशैँमा आश्रममै बस्ने बताउनुहुन्छ । आश्रममा देशका विभिन्न स्थानबाट २५ असहाय र असक्त आश्रित छन् ।

उहाँहरुमध्ये अधिंकाशको घरपरिवार छैनन्, भएकाहरू पनि परिवारबाट अपहेलित हुनुपरेका जनाइएको छ । उहाँहरूलाई सबै दशैंको कुनै रौनक छैन । रामपुर–७ पाल्पाका ६४ वर्षीय रामचन्द्र आचार्य आश्रममा बस्न थालेको सात महिना भयो । आँखा धमिलो र कान कम सुन्ने उहाँ परिवारमा मनमुटाव भएपछि विरक्तिएर आश्रम आइपुग्नुभएको हो । दुई छोरा, दुई बुहारी र श्रीमती घरमा छन् । “छोराबुहारीलाई टीका लगाइदिने इच्छा त थियो, म आश्रममा छु, यहाँ उनीहरू आउदैनन् बाबु”, उहाँ भन्नुहुन्छ ।

दशैँ नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढ्न थालेको छ । घर लिपपोत गर्ने मीठा परिकार पाक्ने र खाने क्रम सुरु भएको छ । तर आश्रममा बस्नेहरूलाई चहलपहलले छोएको छैन । मिस्त्री काम गरेर गुजारा चलाउनुभएका तिनाउ–४ मस्यामकै मनबहादुर पुन दुई महिनाअघि आश्रम आइपुग्नुभयो, “पाखुरीमा बल छउञ्जेलमात्र प्यारो होइन्छ”, गहँभरि आँशु पार्दै उहाँले भन्नुभयो, “क्षयरोग रोग लाग्यो, उपचार गर्न सकिन, आश्रममा आइपुगे। ” निको नहुञ्जेल घर नजाने उहाँले बताउनुभयो ।

आश्रममा रहेका बिरामीको नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । आश्रमका हेरालु गणेश गिरीका अनुसार यहाँ उनीहरूलाई उपचार र खानेबस्ने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “मनकारीले कपडा र खानेकुरा दान गर्दछन्, त्यसैबाट आश्रम सञ्चालन गरिरहेका छौँ ।”