• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत

ओहायो नेपाली फुटबल: चुके एफसी र कोलम्बस स्टार विजयी



काठमाडौँ । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ ।

त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम र भेट्रानतर्फ सिन्सी इन्ट्रा फुटबल क्लब विजयी भएका छन् ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकोको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको सो खेल अमेरिकी समयअनुसार आइतबार राति सकिएको हो ।

उक्त खेलमा सिन्सिनाटीका नेपाली भाषी युवाको टिम चुकेले आफ्नो प्रतिस्पर्धी पेन्सिलभेनिया राज्यको ह्यारियवर्ग सहरका नेपालीभाषी युवाको टिम एफसी युनाइटेडलाई १–० ले हराउँदै जीत हात पारेको थियो ।

अमेरिकी समयानुसार आइतबार अपराह्न भएको अत्यन्त कडा प्रतिस्पर्धात्मक खेलमा चुकेका जर्र्सी नं ७ का रोशान्डोले एक गोल गरेका थिए । उनले हाफ टाइमअघि पाएको कर्नर किकको सदुपयोग गरी बल गोलपोस्टमा छिराएका थिए ।

सयौँ दर्शकले भरिएको सिन्सिनाटीको मायामी ह्वाइटवाटर सकर कम्प्लेक्स खेल मैदानमा भएको सो खेलमा विजयी चुके क्लबले १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

त्यसैगरी उपविजेता युनाइटेड एफसीले आठ हजार अमेरिकी डलर पुरस्कार पाएको सो प्रतियोगिताका संयोजक राजन चुहानले जानकारी दिए ।

फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले विजयी टिमलाई ट्रफी तथा नगद पुरस्कार वितरण गरेका थिए । उनले अमेरिकामा भएका नेपाली भाषी भूटानी तथा सबै नेपाली भाषी समुदायलाई खेलका माध्यमबाट आफ्ना सन्ततिलाई अनुशासित बनाउन तथा अमेरिकामा प्रतिस्पर्धी बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरेको बताए ।

महिलातर्फ विजयी कोलम्बस स्टारले सात हजार पाँच सय डलर पाएको छ । त्यसैगरी भेट्रान विजेताले आठ हजार अमेरिकी डलर जितेको छ । महिलातर्फ १–० गोल अन्तरले पराजित भई उपविजेता बनेको नर्थ डकोटा साइनिङ स्टार फुटबल क्लबले पाँच हजार अमेरिकी डलर पाएको छ ।

त्यसैगरी भेट्रान्सतर्फका उपविजेता इन्ट्रा भेट्रान्स कोलम्बस क्लबले पाँच हजार र तेस्रो हुने हिलसिटी भेट्रान्स क्लबले दुई हजार पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । भेट्रान्स खेलमा प्रथम भएको सिन्सी इन्ट्राले ६ गोल अन्तरले जितेको थियो । सो खेलमा कर्ण पौडेलले तीन गोल गरेका थिए ।

प्रतियोगितामा अमेरिकाका पेन्सिलभेनिया, मिनिसोटा, ओहायो, नर्थ क्यारोलिना, म्यासाचुसेट्स, केन्टकी, न्यूयोर्क, क्यालिफोर्निया, नर्थ डकोटा, जर्जियालगायतका विभिन्न राज्य तथा क्यानडाका नेपालीभाषी खेलाडी सहभागी भएको आयोजक संस्थाका प्रवक्ता केशव आचार्यले बताउनुभयो ।