• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   खुट्टाले लेखेर एसइई उत्तीर्ण ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि ★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने

नवौँ राष्ट्रिय खेलकुदः गण्डकीका खेल पत्रकारलाई तालिम



पोखरा । गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार सङ्कलन र सम्प्रेषणलाई सरल बनाउन सञ्चारकर्मीका लागि खेलकुद पत्रकारिता तालिम सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आजदेखि सुरु भएको दुई दिनको तालिममा मुस्ताङबाहेकका १० जिल्लाबाट गरी ७० जना खेल पत्रकारको सहभागिता रहेको छ ।

राष्ट्रिय खेलकुदका ३६ वटै खेलका नियम, खेल नतिजाको विधि, खेल अनुशासन, नियमलगायतका विषयमा जानकारी प्रदान गरी पत्रकारलाई सबै खेल विधामा समाचार सम्प्रेषणमा सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले बताए ।

उनका अनुसार तालिममा ३६ वटै खेलका प्रशिक्षक एवं खेल पदाधिकारीले समाचार सम्पेषणका लागि सञ्चारकर्मीलाई प्रशिक्षित गर्नेछन् । पहिलो दिनको तालिममा १३ जना प्रशिक्षकले प्रशिक्षण दिए । स्क्वासका रामकृष्ण ज्ञवाली, उशुका गोपाल श्रेष्ठ, क्रिकेटका रिजन प्रजु, भारत्तोलनका राजन बड्गामी, फेन्सिङका सन्दीप बराल, सेपाताक्रोका मोहन गुरुङ आर्चरीका योगेन्द्र शेरचन र खोखोका विशालजङ्ग कुँवरले सम्बन्धित खेलका बारेमा जानकारी गराए ।

यसैगरी ब्याडमिन्टनका पुनम गुरुङ, बक्सिङका प्रियङ्का बर्मा, टेनिसका निरज थापा, प्याराग्लाइडिङका योगेश भट्टराई र खेल फोटोका बारेमा राम गुरुङले प्रशिक्षण दिएका थिए । बाँकी खेलका बारेमा दोस्रो दिन सम्बन्धित खेलका प्रशिक्षक तथा विज्ञबाट तालिम प्रदान गरिने मञ्चले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने र नवौँ राष्ट्रिय खेलकुद भव्य बनाउन पत्रकारिताको माध्यमबाट योगदान पुग्ने विश्वास व्यक्त गरे । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल मैदान व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका गुरुङले प्राविधिक कारणले प्रतियोगिताका लागि यसअघि तय भएका केही ठाउँको खेलस्थल परिवर्तन हुनसक्ने सङ्केत गरे ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले राष्ट्रिय खेलकुद प्रतियोगितासम्बन्धी गतिविधिलाई आम सर्वसाधारणमाझ पुर्याउन सञ्चारकर्मीबाट निरन्तर साथ प्राप्त हुने विश्वास व्यक्त गरे ।

तालिमको उद्घाटन समारोहमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष केशव पाठक, नेपाल पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी, पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानिया, नेपाल पत्रकार महासङ्घ मनाङका अध्यक्ष नवीन लामिछाने, नेपाल पत्रकार महासङ्घ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेललगायतले तालिमले राष्ट्रिय खेलकुदमा प्रतियोगितामा समावेश गरिएका ३६ खेलको समाचार लेखनमा सहज पुर्याउने बताए ।