• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

रविन्द्र मिश्रलाई प्रकाशमानको व्यंग्यः ‘पार्टी खोल्नु नाङ्लोमा पसल राख्नुजस्तो होइन’



काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरुले देशको विकास गर्नेकुरा सम्भव नरहेको उल्लेख गर्नुभएको छ ।

शनिवार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो । नेता सिंहले रविन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्नु नहुने बताउनु भयो । नेता सिंहले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनु जस्तो नभएको भन्दै मिश्रप्रति पार्टी टिकाएर देखाउन चुनौती दिनुभयो ।

उहाँले देश विकासको लागि काम गर्नलाई आफ्नो पार्टी टिकाएर देखाउन सक्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै विचार गरेर मात्रै भोट हाल्न मतदाताहरुसँग आग्रह गर्नुभयो । वि.सं. २०७४ को निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग ८१९ मतान्तरले मात्रै सिंह विजयी बन्नुभएको थियो ।

सिंहले आगामी मंसिर १४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि हल्लाको पछि लाग्ने नभइ विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले देश विकास गर्न पुराना काँग्रेस र कम्युनिष्ट पार्टीहरुलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीहरुले कुनै काम गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले परिवर्तन गर्छु भनेर आएको दल अहिले कहाँ छ ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ पुराना दलहरुले केही गर्न सकेनन् भने । अरु कसले गर्न सक्ला त ? गर्न सकेन भनेर कराउने अधिकार कसले दियो ? त्यही पुराना दल काँग्रेसले नै नेतृत्व गरेर जनआन्दोलनबाट मौका पाएको होइन । स्थापना गरेको दलललाई एक वर्ष टिकाउन नसक्नेहरुले परिवर्तनको नारा दिँदैमा परिवर्तन हुन्छ ? नारा दिँदैमा परिवर्तन हुने भए त सबैले दिन्थे नि । नाराले केही काम हुँदैन । पुराना दललाई त जनतालाई चित्त बुझाउन धौधौ भइरहेको छ भने भर्खरका दलले गर्छौं भनेर गर्न सकिन्छ र ?

परिवर्तन गर्ने नारा बोकेर आयो एउटा दल । परिवर्तन के गर्छ भनेको आफूले खोलेको दललाई सम्हाल्न सक्नुपर्छ नि परिवर्तन गर्ने दलले । सम्हाल्न सकेको छ ? यहाँ आएको दल, व्यक्ति कहाँ पुग्यो ? के गरिरहेको छ ? राजनीति सजिलो छ ? पार्टी खोल्ने भनेको चिज नाङ्लोमा पसल खोलेको जस्तो होइन । काँग्रेस र कम्युनिष्ट जस्तो पुरानो पार्टीलाई त गाह्रो छ भने नयाँ दलले कसरी गर्न सक्छन् । आफ्नो नाममा दर्ता भएको दललाई त दुई वर्ष टिकाउन सक्दैनन् भने यिनीहरुले काम गरेर देखाउन सक्ला ? राम्रो मान्छेलाई मौका दिनुपर्छ ।’

नेता सिंहले स्थानीय र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा संघीयतामाथि प्रश्न उठेको बताउनु भयो । उहाँले जनताको बहुमत पाउँदा समेत कम्युनिष्ट पार्टीहरुले संघीयताका कानून नबनाइदिँदा संघीयतामाथि प्रश्न उठेको आरोप लगाउनु भयो । नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम काँग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर काँग्रेसले देश विकास गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय सरकारलाई दिनुपर्ने, प्रादेशिक सरकारलाई दिनुपर्ने अधिकारहरु कानूनहरु नबनाइदिएको कारणले प्रश्न चिन्ह खडा भएको छ ? संघीयता नेपालको लागि फलिफाप हो र भन्छ । कारण बहुमत दिँदा पनि कम्युनिष्टहरुले काम गर्न नसक्दा यस्तो अवस्था आएको हो । कानूनहरु नबनाइदिँदा यो अवस्था आयो । ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याएका छौँ अहिले गठबन्धन बनाएर । हामी देशको विकास गर्न अब तयार छौँ ।’

नेता सिंहले अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । शिक्षा दिनेसँगै सीप दिनेकामको विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ । नेता सिंहले हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरुमा प्राथमिक उपचार गर्ने काम हुनुपर्ने र रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको छ । शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको छ । शिक्षा दिनेसँगै सीप दिनेकाम विकास गर्न आवश्यक छ । हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्था राख्नुपर्ने हुन्छ । देशभरका वडा कार्यालयका क्लिनिकहरुमा प्राथमिक उपचार गर्ने काम गर्नुपर्छ । रोजगारीको अवसर सिर्जना गर्न आवश्यक छ ।’

नेता सिंहले आफू पैसा कमाउन, नाम कमाउन राजनीतिमा लागेको नभइ सेवाका लागि राजनीति गरेको बताउनु भयो । भारी मतले विजय गराए देश हाँक्ने क्षमता आफूमा रहेको बताउनु भयो ।