२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविन्द्र मिश्रलाई प्रकाशमानको व्यंग्यः ‘पार्टी खोल्नु नाङ्लोमा पसल राख्नुजस्तो होइन’



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरुले देशको विकास गर्नेकुरा सम्भव नरहेको उल्लेख गर्नुभएको छ ।

शनिवार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो । नेता सिंहले रविन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्नु नहुने बताउनु भयो । नेता सिंहले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनु जस्तो नभएको भन्दै मिश्रप्रति पार्टी टिकाएर देखाउन चुनौती दिनुभयो ।

उहाँले देश विकासको लागि काम गर्नलाई आफ्नो पार्टी टिकाएर देखाउन सक्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै विचार गरेर मात्रै भोट हाल्न मतदाताहरुसँग आग्रह गर्नुभयो । वि.सं. २०७४ को निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग ८१९ मतान्तरले मात्रै सिंह विजयी बन्नुभएको थियो ।

सिंहले आगामी मंसिर १४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि हल्लाको पछि लाग्ने नभइ विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले देश विकास गर्न पुराना काँग्रेस र कम्युनिष्ट पार्टीहरुलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीहरुले कुनै काम गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले परिवर्तन गर्छु भनेर आएको दल अहिले कहाँ छ ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ पुराना दलहरुले केही गर्न सकेनन् भने । अरु कसले गर्न सक्ला त ? गर्न सकेन भनेर कराउने अधिकार कसले दियो ? त्यही पुराना दल काँग्रेसले नै नेतृत्व गरेर जनआन्दोलनबाट मौका पाएको होइन । स्थापना गरेको दलललाई एक वर्ष टिकाउन नसक्नेहरुले परिवर्तनको नारा दिँदैमा परिवर्तन हुन्छ ? नारा दिँदैमा परिवर्तन हुने भए त सबैले दिन्थे नि । नाराले केही काम हुँदैन । पुराना दललाई त जनतालाई चित्त बुझाउन धौधौ भइरहेको छ भने भर्खरका दलले गर्छौं भनेर गर्न सकिन्छ र ?

परिवर्तन गर्ने नारा बोकेर आयो एउटा दल । परिवर्तन के गर्छ भनेको आफूले खोलेको दललाई सम्हाल्न सक्नुपर्छ नि परिवर्तन गर्ने दलले । सम्हाल्न सकेको छ ? यहाँ आएको दल, व्यक्ति कहाँ पुग्यो ? के गरिरहेको छ ? राजनीति सजिलो छ ? पार्टी खोल्ने भनेको चिज नाङ्लोमा पसल खोलेको जस्तो होइन । काँग्रेस र कम्युनिष्ट जस्तो पुरानो पार्टीलाई त गाह्रो छ भने नयाँ दलले कसरी गर्न सक्छन् । आफ्नो नाममा दर्ता भएको दललाई त दुई वर्ष टिकाउन सक्दैनन् भने यिनीहरुले काम गरेर देखाउन सक्ला ? राम्रो मान्छेलाई मौका दिनुपर्छ ।’

नेता सिंहले स्थानीय र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा संघीयतामाथि प्रश्न उठेको बताउनु भयो । उहाँले जनताको बहुमत पाउँदा समेत कम्युनिष्ट पार्टीहरुले संघीयताका कानून नबनाइदिँदा संघीयतामाथि प्रश्न उठेको आरोप लगाउनु भयो । नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम काँग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर काँग्रेसले देश विकास गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय सरकारलाई दिनुपर्ने, प्रादेशिक सरकारलाई दिनुपर्ने अधिकारहरु कानूनहरु नबनाइदिएको कारणले प्रश्न चिन्ह खडा भएको छ ? संघीयता नेपालको लागि फलिफाप हो र भन्छ । कारण बहुमत दिँदा पनि कम्युनिष्टहरुले काम गर्न नसक्दा यस्तो अवस्था आएको हो । कानूनहरु नबनाइदिँदा यो अवस्था आयो । ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याएका छौँ अहिले गठबन्धन बनाएर । हामी देशको विकास गर्न अब तयार छौँ ।’

नेता सिंहले अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । शिक्षा दिनेसँगै सीप दिनेकामको विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ । नेता सिंहले हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरुमा प्राथमिक उपचार गर्ने काम हुनुपर्ने र रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको छ । शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको छ । शिक्षा दिनेसँगै सीप दिनेकाम विकास गर्न आवश्यक छ । हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्था राख्नुपर्ने हुन्छ । देशभरका वडा कार्यालयका क्लिनिकहरुमा प्राथमिक उपचार गर्ने काम गर्नुपर्छ । रोजगारीको अवसर सिर्जना गर्न आवश्यक छ ।’

नेता सिंहले आफू पैसा कमाउन, नाम कमाउन राजनीतिमा लागेको नभइ सेवाका लागि राजनीति गरेको बताउनु भयो । भारी मतले विजय गराए देश हाँक्ने क्षमता आफूमा रहेको बताउनु भयो ।