८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 29.08

Wind: 4.63

Humidity: 42

Latest
अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रह काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा दुर्गा प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री कर्मचारीको कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुनेमा काँग्रेस सांसद थानीको जोड पोप फ्रान्सिसको निधन: भ्याटिकन पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा सेवानिवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्छः हितराज पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गमको नियति: बाटोमै मृत बच्चा जन्माइन नर्मताले



अ+ अ-

बागलुङ I बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ ।

आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुग्नुभयो । उहाँको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाउनुभयो । भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्कनुभयो ।

आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उहाँले बाटोमै मृत बच्चा जन्माउनुभयो । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुग्नुभयो । उहाँले विकको बाटोमै सामान्य उपचार गर्नुभयो र ढोरपाटन ल्याउनुभयो ।

अनमी बुढामगर भन्नुहुन्छ, “विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड््कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए । मृत बच्चा जन्माउनुभयो, रगत धेरै बगीसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।”

विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताउनुभयो । “दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्”, उहाँले भन्नुभयो, “धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।” विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउनुहुन्छ । अहिले उहाँको ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।

बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन । त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताउनुहुन्छ ।

ढोरपाटन नगरपालिकाले दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उहाँको भनाइ छ । “धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्”, उहाँले भन्नुभयो, “विकले एक पटक पनि जाँच गराउनुभएको भए बच्चाको ज्यान जोगिन्थ्यो ।”

ग्रामीण क्षेत्रमा गर्भवतीले स्वास्थ्य परीक्षण गराउने बानी न्यून भएको थापाले बताउनुभयो । “कम्तीमा तीन पटक भिडियो एक्सेर गराउनुपर्ने हुन्छ, विकले एक पटक पनि नगराएको पाइयो”, उहाँले भन्नुभयो । समय समयमा बुर्तिवाङमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क गर्भ परीक्षण गर्ने व्यवस्था मिलाए पनि धेरै नआएको पाइएको थापाले बताउनुभयो ।

डम्मर बुढामगर/ रासस