१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल केन्यासँग १८ रनले पराजित



अ+ अ-

काठमाडौँ । केन्या विरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल पराजित भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो ।

यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । हिजो भएको खेलमा भने नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

केन्याले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय १४ रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन, आदील अन्सारी र रोहित पौडेलले समान २०/२० रन जोडे ।

यसैगरी पवन सर्राफ १९ रनमा आउट भए भने कप्तान सन्दीप लामिछाने ८, करण केसी ६, आसिफ शेख ५, दीपेन्द्र सिंह ऐरी ३ तथा ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए । सोमपाल कामी २ रनमा आउट हुँदा वसिर अहमेद शून्य रनमा अविजित रहे ।

केन्याका लुकास ओलुओच, इमानुएल बुन्डी र भिराज पटेलले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो । केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोडे भने नेहिमिह ओधियाम्बोले २९ रन बनाए ।

इरफान करिमले २२ रन जोड्दा सचिन भुडियाले १४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३/३ विकेट लिए । करण केसीले २ विकेट लिदा पवन सर्राफले १ विकेट झारे । अब नेपालले केन्या विरुद्धको तेस्रो खेल आइतबार खेल्नेछ ।