२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषाक्त खाजाले ३२ जना विद्यार्थी बिरामी, क्यान्टिनका सञ्चालक पक्राउ



file
अ+ अ-

झापा । काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चौकीदार विष्टले सञ्चालन गरेको क्यान्टिनमा बनाइएको छोलामुरी खाजा खाएलगत्तै कक्षा एकदेखि छसम्मका विद्यार्थी बिहीबार दिउँसो बिरामी भएका थिए । खाजा खाएकामध्ये २६ जनालाई उपचारका लागि भद्रपुरस्थित मेची अस्पतालमा भर्ना गर्नुपरेको विद्यालयकी शिक्षिका सुभद्रा अर्यालले बताउनुभयो ।

खाजा खाएका ती विद्यार्थीलाई ‘फुड पोइजन’ भएको अस्पतालका चिकित्सकले जनाए । क्यान्टिनले दिएको खाजा विषाक्त भएको विद्यालय र प्रहरीको ठहर छ । काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले क्यान्टिन सञ्चालक विष्टलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर सोधपुछ गरिएको बताउनुभयो । “क्यान्टिनका सञ्चालकलाई सोधपुछ गरेका छौँ”, उहाँले भन्नुभयो, “बिहीबार बिहानै पकाइएको खाजा दिउँसो विद्यार्थीलाई खान दिइएको रहेछ । गर्मी याममा बिहानको खाजा दिउँसोसम्ममा अमिलिएर विषाक्त भइसकेको ख्याल नगरी लापर्बाही गरेको पाइयो ।”

विद्यार्थीलाई सरकारले दिवा खाजा निःशुल्क उपलब्ध गराउने व्यवस्था छ । विद्यालयका चौकीदारले परिसरभित्रै सञ्चालन गरिरहेको क्यान्टिनलाई रकम दिएर विद्यार्थीका लागि दिवाकालीन निःशुल्क खाजा बनाउन लगाउने गरिएको थियो । बिहीबार खाजा मात्र विषाक्त नभएर विद्यार्थीलाई दिइएको पानीसमेत दूषित रहेको गुनासो आएको प्रहरीको भनाइ छ । “विद्यार्थीलाई पिउन दिइएको पानीमा मसिना कीरा भेटिएको गुनासो आएको छ, यसबारेमा पनि हामीले अनुसन्धान गरिरहेका छौँ”, प्रहरी नायब उपरीक्षक महतोले बताउनुभयो ।

विद्यालयका निमित्त प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले क्यान्टिनले लापर्बाही गरेको विषयमा छानबिन गरिने जानकारी दिनुभयो । “विद्यालयले दिवा खाजा निःशुल्क खुवाउने गरेको हो”, उहाँले भन्नुभयो, “गर्मी थियो, खाजा बासी हो कि भन्ने कुरा आएको छ । अब छानबिन हुन्छ ।” घटनापछि सो क्यान्टिन बन्द गरिएको छ भने क्यान्टिनका खानेकुराको नमूना गुणस्तर जाँचका लागि सम्बन्धित निकायमा पठाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी केरुङले जानकारी दिनुभयो ।विद्यालयकै क्यान्टिनको खाजा विषाक्त भएको घटनाप्रति स्थानीय अभिभावक आक्रोशित भएका छन् । क्यान्टिनले पहिलेदेखि नै लापर्बाही गर्दै आएको गुनासो गर्दासमेत विद्यालय प्रशासनले गुणस्तर जाँचमा ध्यान नदिएको अभिभावकको आरोप थियो ।