१० श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी: महिला श्रमिकहरुद्वारा यौनजन्य दुर्व्यवहार भएको आरोप



अ+ अ-

काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा कार्यरत २१ जना महिला श्रमिकहरुले आफूहरुमाथि कम्पनीका सुपरभाइजरबाट यौन दुर्व्यवहार भएको बताएका छन् ।

कम्पनीको सन्चो शाखामा कार्यरत महिला श्रमिकहरुमाथि सन्चो शाखाका सुपरभाइजर हरि चापागाईंले लामो समयदेखि पटकपटक यौनजन्य दुर्व्यवहार गर्दै आएको उनीहरुले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् ।

यौनजन्य दुर्व्यवहारको प्रतिकार र निवारणका लागि सन्चो शाखाका अधिकृत उषा रिजाल र कम्पनीका महाप्रबन्धक संगीता यादवलाई लिखितरुपमा गत वैशाख १४ गते र साउन २२ गते उजुरी गरेको भए पनि चापागाईंलाई कारबाही नगरी उल्टै आफूहरुलाई नै कारबाही गरिएको उनीहरुको भनाइ छ ।

आन्तरिकरुपमा व्यवस्थापकले उजुरीप्रति आवश्यक सुनुवाइ नगरेको हुँदा गत वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएको तर जिप्रकाबाट पनि हालसम्म कुनै कारवाही नभएको विज्ञप्तिमा उल्लेख छ ।

महिला श्रमिकहरुले दुर्व्यवहार गर्ने व्यक्ति र उजुरी गर्दा पनि त्यसको निष्पक्ष सुनुवाइ नगरी उल्टै आफूहरुलाई नै कारबाही गर्ने व्यवस्थापकप्रति कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन, २०७१ बमोजिम हदैसम्मको कारबाहीका लागि माग गरेका छन् ।