२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बाघ’ मारेपछि बन्दीपुरमा बाघजात्रा सकियो



अ+ अ-

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा मङ्गलबार सकिएको छ । खड्गमाई सांस्कृतिक समूहले बाघजात्राको सुरुआत गरेको थियो । बन्दीपुरका नेवार समुदायका व्यक्तिले तीन वर्षपछि बाघजात्रा मनाएका हुन् । कोभिड–१९ को जोखिमका कारण यसअगाडि बाघजात्रा निकालिएको थिएन ।

बन्दीपुर नेवा पुचःका अध्यक्ष किसन प्रधानले भन्नुभयो, “जात्रामा बाघले दुःख दिने गरेको, मात्तिएर हिँड्ने गरेको, शिकारीले बाघलाई लखेटेर मारेको र मारिएको बाघलाई राजाको जिम्मा लगाइएसँगै जात्रा समापन भएको दृश्य देखाइएको थियो । ” जात्रामा बाघ, डाक्टर, नर्स, शिकारी, पहलवान, राजाको भूमिकामा बन्दीपुरका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए ।

कोभिड–१९ को जोखिमका कारण विगत तीन वर्षदेखि ननिकालिएको बाघजात्रा यो वर्ष निकालिएको खड्गमाई सांस्कृतिक समूहका अध्यक्ष गेहेन्द्र कायस्थले जानकारी दिनुभयो । संस्कृति संरक्षणका लागि बाघजात्रा निकालिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “ऐतिहासिक संस्कृति संरक्षणका लागि हामी सधैँ क्रियाशील छौँ ।” बन्दीपुरका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् । बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ । भक्तपुरबाट बन्दीपुरमा छिरेका नेवार समुदायले यहाँको जात्रा र संस्कृति संरक्षण गर्दै आएको बताइन्छ ।

उनीहरूले बन्दीपुरमा व्यापारमात्रै नगरी पर्व र संस्कृतिको पनि संरक्षण गर्दै आएका छन् । बन्दीपुरका नेवारहरूले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् । बन्दीपुरमा बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैकारण बन्दीपुरको नामाकरण मगर भाषामै गरिएको छ । वन भनेको जङ्गल र डी भनेको मगर भाषामा पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ ।

आजभन्दा साढे दुई सय वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न बन्दीपुर बसाइसराइँ गरी आएका जनाइएको छ । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थातथलो बनाए । भक्तपुरबाट उनीहरूमात्रै बन्दीपुर आएनन्, सँगै भक्तपुरे नेवारी संस्कृति पनि भित्रिएको थियो । सन् १७६८ तिर पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीहरू बन्दीपुर पसेको इतिहास छ । व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरूकै कारण बन्दीपुरमा आजसम्म विभिन्न जात्राको परम्परा रहँदै आएको छ ।